NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमालेको मत तान्न नसके रुपन्देही–१ मा जित्न घनश्यामलाई कठिन

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–१ मा एमालेका विद्रोही नेता घनश्याम भुसाल र सचिव छविलाल विश्वकर्माबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका भुसाललाई टिकट नदिइ अध्यक्ष केपी ओलीले अन्तिममा राप्रपाका उम्मेदवार दीपक बोहोरालाई समर्थन गरेका थिए । मनोनयन दर्ताको पूर्वसन्ध्यामा टिकट नपाएपछि भुसालले विद्रोह गरी रुपन्देही–१ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए ।

अहिले उनलाई सत्ता गठबन्धनको बलियो साथ रहेको छ । भुसालको बागी उम्मेदवारी दर्ताले एमालेलाई ठूलो धक्का लाग्ने देखिन्छ । अघिल्लो निर्वाचनमा सानदार जित निकालेका विश्वकर्मा पूर्वनेताको बागी उम्मेदवारीले निकै अप्ठ्यारोमा परेका छन् । योपटक अप्रत्यासित र अप्रिय घटनाक्रमसँग पैठेजोरी खेल्दै विश्र्वकर्मालाई एमालेको विरासत जोगाउनुपर्ने बाध्यता छ । भुसाललाई ओलीको दम्भ र अहंकारलाई तोड्न गठबन्धनको सहयोगमा जित सुरक्षित गर्नैपर्ने बाध्यता छ ।

यसअघि रुपन्देही–१ बाट भुसाल उम्मेदवार बन्न चाहेका थिए । यो क्षेत्र उनको गृह क्षेत्रसमेत हो । पार्टीभित्र देखिएको अन्तर्विरोधका कारण भुुसाललाई ३ नम्बर क्षेत्रबाट सिफारिस गरियो । तर राप्रपासँग तालमेलको नाममा ओलीले भुसाललाई कर्नरमा पारेर बोहरालाई सघाए । ओलीको व्यवहारबाट आक्रोसित बनेका भुसालले उनको सेखी झार्नकै लागि विद्रोही उम्मेदवारी दिएका हुन् ।

वैचारिक नेताको छवि बनाएका भुसालको एमाले बर्हिगमनले नेता तथा कार्यकर्ता स्तब्ध भएका छन् । भुसालको विद्रोहलाई समर्थन गर्दै माओवादी केन्द्रले रुपन्देही–१ मा आफ्नो उम्मेदवारी फिर्ता लियो । योपटक भुसाल गठबन्धनको साथै एमालेकै समर्थनमा चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

उनले पार्टी परित्याग गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरेका थिए । तर प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्दै भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादीको चुनाव चिन्ह लिएर निर्वाचनमा उठेको भए एमालेभित्र भुसाल समर्थको समेत सहानुभूति गुमाउने सम्भावना थियो । स्वतन्त्र मतदाताले उनलाई हेर्ने दृष्टिकोण बदलिन सक्थ्यो । यी सबै घटनाक्रमलाई मसिनो गरी बुझेका भुसालले सर्वमान्य उम्मेदवार रहने गरी स्वतन्त्रबाट उम्मेदवारी दिए । जसको कारण उनले निर्वाचन जित्ने सम्भावना बलियो देखिएको छ ।

के छ अवस्था ?

२०७४ को निर्वाचनमा विश्वकर्माले ३४ हजार ७५२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी अब्दुल रजाग गद्दिले २६ हजार ८८५ मत पाएका थिए ।

भुसालले पार्टी परित्याग गरिसकेकाले सो क्षेत्रमा एमालेको मतसमेत विभाजन हुनेछ । गठबन्धनबाट जसपा बाहिरिएकोले एमालेलाई केही राहत मिल्न सक्छ । सो क्षेत्रमा राप्रपा निर्णायक शक्ति रहेकाले उसको साथ एमालेलाई छ । एमालेको विजय सुनिश्चिताका लागि राप्रपा र जसपाको मत तान्नुपर्ने बाध्यता देखिन्छ ।

यस्तो छ स्थानीय तह निर्वाचनमा दलहरूको मतपरिणाम

गत वैशामा भएको स्थानीय तह निर्वाचनमा रूपन्देही १ मा कांग्रेसले ३२ हजार ९९९ मत पाएको छ । एमालेको ३० हजार ३९४ मत रहेको छ । राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत रहेको छ ।

भुसालले स्वतन्त्र उम्मेदवारी दिएपछि योपटक एमालेको मतसमेत विभाजन हुने सम्भावना देखिन्छ । गठबन्धनको जम्मा मत ३८ हजार ७६९ छ । एमाले–राप्रपा–जसपाको जम्मा मत ५१ हजार ६४१ रहेको छ । गठबन्धनसँग एमालेको मतान्तर १२ हजार ८७२ रहेको छ । यस्तो अवस्थामा भुसालको जित सुनिश्चित गर्न गठबन्धनबाट सबै मत सुरक्षित राखी एमालेबाट १२ हजार ८७२ मत चोर्नुपर्ने बाध्यता छ ।