आज राति १२ बजेदेखि मौन अवधि सुरु, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । यही मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ ।
निर्वाचन कसुर तथा सजाय ऐनमा मतदानअघिको ४८ घन्टालाई स्थिर समय अर्थात् मौन अवधि मानिएको छ । यो समय दल, उम्मेदवार तथा अन्य कसैले पनि चुनाव प्रचारप्रसारलगायत मतदाता प्रभावित गर्ने काम गर्न पाउँदैनन् ।
निर्वाचन आयोगले ४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ ।
आयोगका अनुसार, मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइनेछैन । कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ ।
उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने छ । यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पाइँदैन ।
आयोगले मौन अवधिमा मदिराको बिक्री–वितरण र सेवनमा पनि निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घन्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको हो । ्
मदिरा निषेध गराउन तथा यसबारे सूक्ष्म अनुगमन गर्न आयोगले जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई निर्देशन दिइसकेको छ ।
यसैबीच, मौन अवधिमा नेपाल–भारत सीमा नाका पनि बन्द हुने भएका छन् । यसका लागि गृह मन्त्रालयले सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको छ ।
मौन अवधिमा मतदान केन्द्र रहेको घर, भवन वा सो स्थलवरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय, त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थलवरिपरि साउन्ड सिस्टम राख्ने, ठूलो स्वरले बजाउन, बाजागाजा बजाउन, नाचगान, भोजभतेर गर्न , जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा, समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पनि आयोगले रोक लगाएको छ ।
निर्वाचन आचारसंहिताप्रतिकूलका यस्ता गतिविधि गरेमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारबाही हुने आयोगले चेतावनी दिएको छ ।
प्रतिक्रिया