भाडाकै भवनमा संसद्, यसरी गरिँदै छ तयारी

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । प्रतिनिधिसभाका एक सय ६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । विवादित दोलखामा आज (बिहीबार) मतदान हुँदै छ भने स्याङ्जा २ र बाजुरामा ढिलो गरी मतगणना प्रारम्भ भइसकेको छ । समानुपातिक र प्रदेश सभातर्फ पनि गणना अन्तिम चरणमा छ ।
निर्वाचन आयोग प्रतिवेदन लेखनसहित अन्तिम परिणामको तयारीमा लागेका वेला संघीय संसद् सचिवालय पनि आवश्यक तयारीमा जुटेको छ । अबको एक महिनापछि आउने नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई स्वागत गर्न सचिवालयले भवनको मर्मत–सम्भारदेखि बैठक सञ्चालनको गृहकार्य थालेको हो । भाडामा सञ्चालन भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्राविधिक कामहरू भइरहेको संसद् बताए ।
‘प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन छिटै आह्वान हुँदै छ । अधिवेशन सुरु भएपछि बैठकलाई सहज ढंगबाट सञ्चालनका लागि आवश्यक तयारी, पूर्वाधारहरूको व्यवस्थापनलगायत कामहरू गर्दै छौँ,’ धमलाले भने, ‘प्राविधिक दृष्टिकोणले हाम्रा प्रविधि, इक्विपमेन्ट्स परीक्षण गर्ने, भवनमा आएको समस्या हल गर्ने तथा आवश्यक मर्मत–सम्भारको काम भइरहेको छ ।’
उनका अनुसार माइकहरूको परीक्षण, साउन्ड सिस्टमको परीक्षण, सेक्युरिटी गेटको इक्विपमेन्ट, डिभाइसहरूको परीक्षण भइरहेको छ । कम्प्युटर मर्मत–सम्भार, कम्युनिकेसनका लाइनिङ प्रणालीहरू पनि परीक्षण भइरहेको छ । ‘संसद् सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण यसप्रकारका प्राविधिक पक्षहरूको परीक्षण र मर्मत–सम्भार गरिँदै छ,’ धमलाले भने । आवश्यकताअनुसार रंगरोगन तथा सरसफाइ पनि भइरहेको छ ।
परिणाम प्राप्त भएर अधिवेशन आह्वान भएपछि दललाई सिट विभाजन तथा एजेन्डा तय गरिने उनले बताए । ‘कुन–कुन दललाई कसरी व्यवस्थापन गर्ने, सभामा कहाँ राख्ने भन्ने तयारी अर्काे चरणमा हुन्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया