NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

मुख्यमन्त्रीका आकांक्षीको काठमाडौंमा दौडधुप

काठमाडौं । निर्वाचन परिणाम अन्तिम चरणमा पुगेसँगै सातै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीले काठमाडौंमा दौडधुप बढाएका छन् । अधिकांश दाबेदार जितको शुभकामना आदानप्रदानलगायत बहानामा शीर्ष नेताहरूसँग ‘लबिङ’ गरिरहेका छन् । जिल्ला र निर्वाचन क्षेत्रमै रहेका नेताहरू पनि चाँजोपाँजो मिलाएर काठमाडौं आउने तयारीमा छन् । कतिपय आकांक्षी भने जिल्लाबाटै केन्द्रीय नेताहरूसँग टेलिफोन सम्पर्क गरिरहेका छन् । मुख्यमन्त्रीसँगै मन्त्रीका आकांक्षी पनि दौडधुपमा छन् ।

अहिलेसम्म प्रत्यक्षतर्फको परिणाम र दलहरूले समानुपातिकतर्फ पाएको मत हेर्दा सातमध्ये चारवटा प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने अंकगणित देखिन्छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा सत्तागठबन्धनमा आबद्ध दललाई बहुमत पुग्ने देखिएको छ । प्रदेश १, मधेस र लुम्बिनीमा दुवै गठबन्धनसँग स्पष्ट बहुमत पुग्ने देखिन्न । यस्तोमा साना दलहरू जसले जुटाउन सक्छ, उसैले सरकार बनाउने सम्भावना छ । मधेसमा सरकार बनाउन १३ सिट रहेको जनमत पार्टी र स्वतन्त्र ६ सांसदको निर्णायक भूमिका रहन्छ । यद्यपि, संघीय सरकारस“गै सातै प्रदेशमा सत्तासमीकरण बन्ने भएकाले प्रदेश सरकार गठनको अन्तिम छिनोफानो केन्द्रबाटै हुनेछ ।

प्रदेश १ को मुख्यमन्त्रीका आकांक्षी मोरङ ५ (ख) बाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल काठमाडौंमा शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । ‘अहिले काठमाडौंमै छु । पार्टी नेतृत्वसँग भेटघाट जारी छ । सरकार के–कसरी बनाउने भन्नेबारे छलफल भइरहेको छ,’ उनले भने । अर्का दाबेदार समानुपातिक सूचीमा रहेका कांग्रेस प्रदेश सभापति उद्धव थापा पनि काठमाडौं आउने तयारीमा छन् । ‘अहिले झापामै छु, साथीभाइसँग सल्लाह गरेर चाँडै काठमाडौं आउँछु,’ उनले भने । त्यस्तै, मोरङ ६ (ख) बाट प्रदेश सांसद निर्वाचित कांग्रेसका केदार कार्की पनि काठमाडौंमै नेताहरूसँग भेटघाट गरिरहेका छन् । ‘काठमाडौंमा पार्टीका नेताहरूसँग छलफल गर्ने काम गरिरहेको छु,’ उनले भने ।

झापा ५ (क) बाट निर्वाचित एमाले स्थायी समिति सदस्य हिक्मत कार्की चाँडै काठमाडौं पुग्ने तयारीमा छन् । मुख्यमन्त्रीका दाबेदार उनी नेताहरूसँग छलफलको तयारीमा जुटेको बताउँछन् । ‘निर्वाचित भइसकेपछि औपचारिक रूपमा नेताहरूसँग दाबी गरिसकेको छैन । तर, साथीहरूबाट अगाडि बढ्नुपर्छ भन्ने प्रतिक्रिया आएका छन् । छिट्टै काठमाडौंमा पुगेर नेताहरूसँग छलफल गर्छु,’ उनले भने । त्यस्तै, ताप्लेजुङ १ (क) बाट निर्वाचित एमाले पोलिटब्युरो सदस्य तिलविक्रम मेन्याङबो पनि काठामाडौं जाने तयारीमा छन् । ‘अहिले ताप्लेजुङमै छु । मुख्यमन्त्रीमा मेरो दाबी चर्चामा आउनु सही हो । पार्टी र साथीभाइसँग सरसल्लाह गरेर चाँडै नेतृत्वसँग छलफल गर्न काठमाडौं आउँछु ।’

पाँचथर १ (ख)मा माओवादीबाट निर्वाचित इन्द्रबहादुर आङ्बो पार्टीको निर्देशनपछि काठमाडौं आएका छन् । ‘सरकार के–कसरी बनाउने भन्नेबारे छलफल हुँदै छ होला । मुख्यमन्त्रीमा उहाँको दाबी सशक्त रूपमा कायमै छ,’ आङ्बोका सचिवालयले भन्यो ।

एकीकृत समाजवादीबाट भोजपुर (ख) मा निर्वाचित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दोहोरिने दाउमा छन् । उनी पनि छिट्टै काठमाडौं जाने लागेका छन् । ‘सरकार गठनबारे छलफल गर्न चाँडै काठमाडौं जान्छु । मुख्यमन्त्रीमा मेरो दाबी स्वाभाविक हो,’ उनको भनाइ छ ।

मधेसमा कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी बालुवाटार र एमालेका आकांक्षी बालकोट धाइरहेका छन् । रौतहट १ (ख) बाट निर्वाचित कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव आफ्नो नेतृत्वमा सरकार गठनका लागि सभापति शेरबहादुर देउवालगायतसँग भेटघाटमा व्यस्त छन् । देउवासँगको भेटपछि उनले गठबन्धनका अन्य दलका नेतासँग पनि भेटवार्ता बढाएका छन् । ‘सरकार बनाउने पहल थालेको छु, सत्तागठबन्धनका घटक दलका नेताहरूसँग पनि सरकार कसरी बनाउने भनेर छलफल र विचार–विमर्श भइरहेको छ,’ उनले भने । मंगलबार उनले मधेस प्रदेशका मुख्यमन्त्री तथा जसपा नेता लालबाबु राउतसँग पनि छलफल गरेका छन् । त्यस्तै, कांग्रेसबाटै धनुषा ३ (क) मा निर्वाचित रामसरोज यादवले पनि दौडधुप बढाएका छन् । कांग्रेसबाटै अर्का आकांक्षी दाबेदार वीरेन्द्र सिंह पनि काठमाडौंमै नेताहरूसँग भेटघाट गर्दै ‘लबिइङ’ गरिरहेका छन् ।

एमालेबाट महोत्तरी ४ (ख) बाट निर्वाचित नेता सरोजकुमार यादव पाँच दिनदेखि काठमाडौंमै रहेर अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन् । धनुषा १ (ख) बाट निर्वाचित रामचन्द्र मण्डल पनि बिहीबार काठमाडौं पुगेका छन् ।

मधेसको मुख्यमन्त्रीमा नयाँ शक्तिका रूपमा उदय भएको जनमत पार्टीको पनि दाबी छ । उसले मुख्यमन्त्रीमा कसैको नाम भने अगाडि सारेको छैन । ‘अहिले प्रत्यक्ष र समानुपातिकबाट आउने सबैको मुख्यमन्त्रीमा दाबी रहनेछ । संसदीय दलको नेता जो बन्छ, उहाँको नै मुख्यमन्त्रीको दाबीमा रहनेछ,’ जनमत पार्टीका नेता बिपी साहले भने । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट बारा ४ (ख) मा निर्वाचित जितेन्द्र सोनल मुख्यमन्त्रीबारे नेताहरूसँग छलफलका लागि आइतबार काठमाडौं पुग्ने तयारीमा छन् ।

बागमतीमा कांग्रेस प्रदेश सभापति मकवानपुर २ (ख) बाट निर्वाचित इन्द्र बानियाँ मुख्यमन्त्रीका दाबेदार छन् । उनले काठमाडौं आएर सभापति देउवासहित शीर्ष नेताहरूसँग भेट गरिसकेका छन् । ‘पार्टीका शीर्ष नेतृत्वबाटै भएको निर्देशनअनुसार पुनः प्रदेशमा चुनाव लडेको हुँ । बागमतीमा कांग्रेसको संसदीय दलको नेता र मुख्यमन्त्रीमा मलाई आश्वासन छ,’ उनको दाबी छ, ‘कांग्रेसबाट मबाहेक अरू कसैले दाबी गर्नुहुन्न जस्तो लाग्छ । यद्यपि, शीर्ष नेतृत्वसँग भेट्ने, आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा त छलफल भइहाल्छ र भइरहेको नै छ ।’

नुवाकोट २ (ख)बाट निर्वाचित कांग्रेसकै बहादुरसिंह लामाले पनि सभापति देउवालगायतसँग १४ मंसिरमा भेटेर मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका छन् । ‘निर्वाचित भएलगत्तै शुभकामना आदानप्रदानका क्रममा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतलाई भेटेको छु । भेटमा मुख्यमन्त्रीमा दाबी राखेको छु,’ उनले भने, ‘अरू साथीहरू पनि आकांक्षीका रूपमा हुनुहुन्छ । सबै क्षेत्रको निर्वाचन परिणाम आइसकेपछि पार्टीमा छलफल हुन्छ । संघ छाडेर प्रदेशमा आएको छु । पार्टीमा केन्द्रीय सदस्यको भूमिकामा छु, स्वाभाविक रूपमा दाबेदारी छ ।’

धादिङ १ (क) बाट निर्वाचित माओवादी सांसद शालिकराम जम्कट्टेल निर्वाचन क्षेत्रमै छन् । उनी छिट्टै काठमाडौं गएर पार्टी नेतृत्वसँग छलफल गर्ने तयारीमा छन् । ‘मुख्यमन्त्रीमा मेरो दाबी हुनु त स्वाभाविकै हो । मुख्यतः गठबन्धनमा आबद्ध दलहरूको नेतृत्वबीच के सहमति हुन्छ त्यसले पनि मुख्यमन्त्रीको विषय निर्धारण गर्छ,’ उनले भने ।

त्यस्तै, चितवन १ (ख) बाट निर्वाचित एकीकृत समाजवादीका कृष्ण खनाल पनि मुख्यमन्त्रीका आकांक्षी छन् । ‘मुख्यमन्त्रीको दाबेदार भन्दै हिँडेको छैन । मतदाताको घरदैलोमै व्यस्त छु । स्वाभाविक रूपमा बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्दा एक मात्र दाबेदार मै हुँ,’ उनको भनाइ छ ।

एमालेबाट काठमाडौं ९ (ख) बाट निर्वाचित केशवप्रसाद पोखरेल पनि निर्वाचन क्षेत्रमै छन् । काठमाडौंमै भएकाले पार्टीका शीर्ष नेताहरूसँग सामान्य भेटघाट चलिरहेको उनले बताए । ‘मुख्यमन्त्रीकै विषयलाई लिएर छलफल नै त सुरु भएको छैन, हामी प्रक्रियामै छौँ,’ उनले भने, ‘पार्टीका शीर्ष तहमा हल्का कुरा भएको छ, खासै औपचारिक कुरा भने भएको छैन ।’

काठमाडौं ६ (ख) मा एमालेबाट निर्वाचित अमनकुमार मास्के, एमालेबाटै काठमाडौं ७ (ख) मा निर्वाचित प्रकाश श्रेष्ठ पनि निर्वाचन क्षेत्रमै छन् । ‘यतै व्यस्त भएकाले मुख्यमन्त्रीको विषयमा शीर्ष नेताहरूसँग खासै छलफल गर्न भ्याएको छैन । फेरि चुनावी प्रक्रिया पनि टुंगिसकेको अवस्था छैन । समानुपातिकको मतगणना सकियोस्, त्यसपछि अगाडि बढ्नुपर्छ भन्ने छ,’ मास्केले भने । श्रेष्ठले भने सिनियरहरू पार्टीमा भएकाले आफू यस दौडमा नभएको बताए ।

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार गोरखा २ (ख) बाट निर्वाचित कांग्रेसका सुरेन्द्र पाण्डेले निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै केही दिन जिल्लामा भेटघाट गरे । त्यसपछि काठमाडौं आएर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका केन्द्रीय नेताहरूसँग भेटघाट गरिसकेका छन् । कास्की २ (ख) बाट निर्वाचित कांग्रेसका विन्दुकुमार थापा पनि मुख्यमन्त्रीका दाबेदार हुन् । पोखराबाटै निरन्तर केन्द्रीय नेताहरूसँग टेलिफोनमा संवाद गर्दै आएका उनी शुक्रबार काठमाडौं आएका छन् ।

नवलपुर १ (ख) बाट विजयी कांग्रेसका महेन्द्रध्वज जिसी जिल्लामै रहेर केन्द्रीय नेता तथा प्रदेशका नेतासँग निरन्तर छलफल र सम्पर्कमा छन् । उनी पनि शीर्ष तहमा लबिङका लागि काठमाडौं आउने तयारीमा छन् ।

एमालेबाट कास्की १ (क) मा विजयी पूर्वमन्त्री खगराज अधिकारी बिहीबार काठमाडौं पुगेका छन् । राजनीतिक भेटघाटका लागि काठमाडौं गएका अधिकारी केही दिन आफ्नो स्वास्थ्य उपचारमा लाग्ने र त्यसपछि पार्टीका नेतासँगै अन्य दलका नेतासँग राजनीतिक भेट थाल्ने योजनामा छन् ।