NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अब सांसदको विद्युतीय हाजिरी

काठमाडौं । संघीय संसद्का सांसदका लागि पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्थापन गरिएको छ । संसद् सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण थालेको हो । प्रतिनिधिसभामा भने सभामुख चुनिएपछि व्यवस्थापन गरिने सचिवालयले जनाएको छ ।

सांसदले यसअघि हाजिरीपुस्तिकामा हाजिर गर्दै आएका थिए । संसद्लाई पेपरलेस बनाउने अभियानअन्तर्गत विद्युतीय हाजिरी व्यवस्थापन गरिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण गर्दै छ, परीक्षण सफल भएपछि लागू हुन्छ,’ उनले भने । उनका अनुसार हाल सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको फिंगर प्रिन्ट लिँदै विद्युतीय हाजिरी परीक्षण गरिरहेको छ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभा सदस्यको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य भइरहेको बताए । ‘२५ पुसमा पहिलो बैठक बस्दै छ । त्यसअघि नै राष्ट्रिय सभाका सबै माननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्छौँ,’ उनले भने, ‘यो सेसनबाट विद्युतीय हाजिरी प्रयोगमा आउँछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस दिउँसो १ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । त्यसअघि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै छ । बैठकले अन्तरिम नियमावली, सिट व्यवस्थापन, प्रधानमन्त्रीको विश्वासको मत र सभामुखको निर्वाचनलगायत एजेन्डा तय गर्ने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बताए । अधिवेशन आह्वासँगै राष्ट्रिय सभामा सांसदको विद्युतीय हाजिरी प्रारम्भ हुँदै छ भने प्रतिनिधिसभामा सभामुख चयनपछि कार्यान्वयनमा आउनेछ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले दलहरूबाट निर्णय भए प्रतिनिधिसभामा पनि विद्युतीय हाजिरी लागू गर्न समस्या नभएको बताए । ‘कार्यव्यवस्थाले मार्गनिर्देशन गरे सचिवालय प्रतिनिधिसभामा पनि व्यवस्थापन गर्न तयार छ,’ उनले भने, ‘यो विषय नयाँ सभामुख आएपछि टुंगो लाग्ला ।’

महासचिव गौतमले मंगलबार राष्ट्रिय सभा सदस्य जितेन्द्र देवको फिंगर प्रिन्ट लिएर विद्युतीय मेसिनमा हाजिरी परीक्षण गराएका थिए । विद्युतीय हाजिरीको परीक्षणमा सहभागी भएका कांग्रेसबाट राष्ट्रिय सभा सदस्य देवले सकारात्मक र सिर्जनात्मक रूपमा ग्रहण गरेको बताए । ‘सांसदहरूलाई संसदीय गतिविधिमा नियमित रूपमा भाग लिन, बैठकमा बस्न, बैठक चलुन्जेलसम्म छलफलमा सहभागी हुन र निर्णय प्रक्रियामा तदारुकताका साथ सक्रिय रूपमा बस्न वातावरण प्रदान गर्छ,’ उनले भने । विगतमा धेरै सांसद संसद् र समिति बैठकमा नआइदिने र आएपछि तुरुन्तै निस्किने खालको विकृतिलाई रोक्न सघाउ पुग्ने देवको विश्वास छ ।

नेता देवले विद्युतीय हाजिरी प्रतिनिधिसभामा बढी आवश्यक रहेको बताए । प्रतिनिधिसभा र त्यसका समितिका कोरम नपुग्ने, बैठक नै पटक–पटक स्थगित हुने अवस्था भएकाले विद्युतीय हाजिरीले सांसदलाई उत्तरदायी बनाउने उनको धारणा छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।