NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रहरीमा आन्तरिक कारबाही तीव्र, को–को परे निशानामा ?

काठमाडौं ।सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा पनि एसपी कँडेल विभागीय कारबाहीमा परिसकेका अधिकृत हुन् । तर, गम्भीर घटना भए पनि त्यतिवेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिवेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाउन लागिएको छ ।

दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोसाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । पछि लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाहीविनै छाडेका थिए । सादा पोसाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

एसपी कँडेल मात्र होइन, यतिवेला अन्य जिल्लाका प्रहरी इन्चार्जमाथि समेत छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ । अनियमिततामा संलग्न प्रहरीमाथि प्रहरी नेतृत्वले छानबिन र कारबाहीलाई तीव्रता दिएको छ । प्रहरीकै आन्तरिक सर्वेक्षणमा भ्रष्टाचारलगायतका कारणले जनमानसमा प्रहरीको छवि राम्रो नभएको देखाएको थियो ।

दुई साताअघि इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।

डिएसपी केसी यसअघि अनेक विवादमा मुछिए पनि राजनीतिक संरक्षणकै कारण कारबाही हुन सकेको थिएन । केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाणनिकट प्रहरी अधिकृत हुन् । खाण पदबाट हटेलगत्तै केसी कारबाहीमा परेका हुन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय, केशेरगन्ज सर्लाहीका इन्स्पेक्टर रोशन थापा पनि हालै कारबाहीमा परेका छन् । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै, इप्रकाबाट समेत हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्य दर्जन अधिकृतहरूमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । प्रहरी प्रवक्ता डिआइजी राई प्रहरी आचरणविपरीतको गतिविधिमा संलग्न जोसुकै प्रहरीलाई पनि कारबाही गरिने बताउँछन् । विगतमा राजनीतिक संरक्षणका कारण पनि कतिपय प्रहरी बदमासी गर्दा पनि जोगिएका थिए । ‘अहिले धेरैजसो इन्चार्ज राजनीतिक पहुँचका आधारमा अवसर पाएकाहरू छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘त्यसरी गएकाहरूको कार्यशैली राम्रो छैन, सरुवा भएकाका संरक्षकहरू सरकारबाट हटेपछि अहिले छानबिन र कारबाही गर्न सहज भएको हो ।’

कारबाही पर्नेमा सबैभन्दा धेरै हवल्दार र सहायक हवल्दार

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा ८६४ जना प्रहरी कारबाहीमा परेका छन् । जसमध्ये ७३ जनालाई सेवाबाट हटाइएको तथा ४२ जना निलम्बनमा परेका छन् । ६ जनाको दर्जा घटुवा, ५० जनाको पदोन्नति रोक्का, २२ जनालाई सुरु स्केलमा घटुवा, ३४ जनाको ग्रेड रोक्का तथा ९१ जनाको ग्रेड घटुवा भएको छ । ४२१ जनालाई नसियत दिइएको, ९४ जनालाई सचेत गराइएको र पाँचजनाको चालचलनमा प्रतिकूल रायसम्बन्धी कारबाही भएको छ । त्यस्तै २६ जनाको सेवाको अन्त भएको छ । कारबाहीमा पर्नेहरू दर्जागत रूपमा एक एसपी, चार डिएसपी र २७ इन्स्पेक्टर छन् ।

त्यस्तै, १३ वरिष्ठ सइ, २८ सइ, ६३ असइ, २६ वरिष्ठ हवल्दार, १६८ हवल्दार, १४३ सहायक हवल्दार, ३७० जवान र २१ जना प्रहरी कार्यालय सहयोगी छन् । कारबाहीमा पर्ने सिनियर अधिकृतहरूमा एसपी ऋषिराम कँडेल, डिएसपी खर्गनारायण शाह, इन्स्पेक्टरहरू अरुण बम, बुद्धिप्रसाद सुवेदी, भूपेन्द्र गिरी, शशिधर शर्मा, धर्मराज खत्री, रमेश वन, गणेश पाण्डेलगायत छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एसपी रामेश्वर यादवलाई सेवाबाट बर्खास्तको सिफारिस भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।