NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

सरकारमा फर्किन प्रचण्डले गरेको प्रस्तावमा के भने लामिछानेले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई पुनः सरकारमा आउन आग्रह गरेका छन् । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सो पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई कसरी सरकारमा फिर्ता ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने भन्ने विषयमा छलफल भएको जानकारी दिए । रास्वपा सरकारबाट बाहिरिएपछि पाँच मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैँसगै राखेका छन् ।

‘संयन्त्रका अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड सबैको आग्रह रास्वपा सरकारमा आउनुपर्छ भन्ने थियो । कसरी फिर्ता गर्न सकिन्छ भन्नेमा पनि सामान्य छलफल भयोे,’ लिङ्देनले भने ।

तर, रास्वपा अध्यक्ष लामिछानेले तत्काल यो सम्भावना नरहेको बताएका थिए । लामिछानेले तत्काल सरकारमा फिर्ता हुन नसक्ने र यसबारे पार्टीमा छलफल चलाउने जवाफ दिएका थिए । ‘हामीले अल्टिमेटम पनि दिएका हौँ । हाम्रो माग सम्बोधन नभएपछि सरकारबाट बाहिरिएका हौँ । यद्यपि, हामीले सरकारलाई समर्थन गरेकै छौँ,’ लामिछानेको भनाइ थियो ।

उनले सत्तागठबन्धनभित्रको पूर्वसहमतिअनुसार पार्टीले पाएको जिम्मेवारी दिइए सरकारमा आउन सकिने, तर तत्कालै सम्भव नभएको संकेत गरेका थिए । ‘सरकार छाडेको एक सातामै फेरि फिर्ता हुँदा बाहिर राम्रो सन्देश पनि जाँदैन,’ बैठकमा उनको भनाइ थियो । रास्वपाले गृह मन्त्रालय दिन दुई दिनको अल्टिमेटम दिएको थियो । तर, माग पूरा नभएपछि मन्त्रीलाई फिर्ता बोलाएको थियो । यद्यपि, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।