विशिष्टको सवारी कार्यविधि संशोधनको तयारी

काठमाडौं । ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्न सरकार तयार भएको छ । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीद्वारा चिकित्सक कुटिएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघसँग सरकारले आइतबार कार्यविधि संशोधन गर्ने सहमति जनाएको हो ।
संघ र सरकारबीच भएको ६ बुँदे सहमतिमा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं नागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील क्षेत्रमा असहज नहुने गरी कार्यविधि संशोधन गर्न एक साताभित्र सरकारलाई सुझाव बुझाइने उल्लेख छ । सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजान सरकार सहमत भएको छ । राष्ट्रपतिको सवारीका बेला शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंहलाई कुटपिट गरिएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नेसमेत सहमति भएको छ । कुटपिटमा संलग्न भनिएका सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन थालिएको छ ।
सुरक्षाकर्मीको कुटाइबाट घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले गर्नेछ ।
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने निर्णय भएको छ,’ सहमतिपछि जारी विज्ञप्तिमा भनिएको छ ।
सरकार र चिकित्सकबीच आइतबार मध्याह्न सहमति हुनुअघि आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा देशभर हजारौं बिरामीले सास्ती खेप्नुपरेको थियो । राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि लाठीचार्ज गरी डा. सिंहलाई घाइते बनाइएको विरोधमा नेपाल चिकित्सक संघले आइतबार सरकारी तथा गैरसरकारी, निजी, अस्पताल, मेडिकल कलेज तथा प्रतिष्ठानलगायत स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया