NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १४ गते
मन्थन

‘प्याराडक्स’ र प्रचण्ड पहेली

काठमाडौं । विश्वमा ‘प्याराडक्स’ अर्थात् विरोधाभासका अनेक सिद्धान्त प्रतिपादन भएका छन् । एउटा सिद्धान्त छ, ‘लायर्स प्याराडक्स’ । झुठको विरोधाभास ।

एउटा मान्छे छ, जसका हरेक कुरा झुठा छन् । हाम्रा राजनीतिक नेताझैं ऊ जहिले पनि झुठ बोलिरहन्छ । एक दिन उसले आत्मालोचना गर्दै भन्यो, ‘हो म झुठ बोल्छु ।’

अबचाहिँ उसले ‘म झुठ बोल्छु’ भनेर सत्य बोल्यो । उसका अरू सबै कुरा झुठा भए पनि ‘म झुठ बोल्छु’ भन्ने उसको भनाइ सत्य हो । अब उसलाई झुठो भन्ने कि साँचो ? यही हो, विरोधाभास ।

अर्को सिद्धान्त छ, ‘ओम्निपोटेन्स प्याराडक्स’ । सर्वशक्तिमान विरोधाभास ।

यो सिद्धान्त अनुसार भगवान् सर्वशक्तिमान् छन् । उनी जे पनि सृष्टि गर्न सक्छन् । सर्वशक्तिमान् भगवानले एउटा यस्तो ढुंगा निर्माण गर्न सक्छन्, जसलाई संसारमा कसैले पनि उचाल्न सक्दैन । भगवान् आफू स्वयंले उचाल्न नसक्ने ढुंगा निर्माण गर्न सक्छन् ।

समाजलाई विचार र दर्शनको निश्चित फ्रेममा बाँधेर संगतिपूर्ण ढंगले अघि बढाउने कोसिस हुँदै आएको छ । तर अहिलेसम्म मानव सभ्यता र मान्छेको मन विरोधाभासबाट मुक्त हुन सकेको छैन

अब यहीँनेर विरोधाभास देखिन्छ । भगवान् सर्वशक्तिमान छन् भने उनले कुनै पनि ढुंगा उचाल्न सक्नुपर्ने हो । भगवान् स्वयंले उचाल्न नसक्ने ढुंगा बनेको खण्डमा यसबाट भगवान् सर्वशक्तिमान नभएकै प्रमाणित हुन्छ ।

यदि भगवान त्यो ढुंगा उचाल्न सक्षम भए भने पनि उनी सर्वशक्तिमान् नभएकै प्रमाणित हुन्छ, किनकि उनले आफू स्वयंले उचाल्न नसक्ने खालको ढुंगा बनाउनै सकेनन् । जे पनि बनाउन सक्ने भगवानले आफू स्वयंले उचाल्न नसक्ने ढुंगा बनाउन नसकेपछि उनलाई कसरी सर्वशक्तिमान भन्न सकियो त ?

अर्को सिद्धान्त झन् रोचक छ,‘कोर्कोडाइल डाइलेमा प्याराडक्स’ । गोहीको विरोधाभास ।

जनयुद्धपछि माओवादी : भुइँको टिप्दै, पोल्टाको गुमाउँदै

एक दिन एकजना पिता आफ्नो सानो छोरासँग तलाउ किनारमा घुमिरहेका थिए । अकस्मात एउटा गोहीले छोराको गोडा अठ्याउन थाल्छ । पिताले गोहीसँग आफ्नो छोरालाई नखान र मुक्त गरिदिन याचना गर्छ ।

गोहीले एउटा शर्त राख्छ, ‘तिम्रो छोरा मेरो मुखको चपेटामा आइसकेको छ । अब म तिम्रो छोरालाई के गर्नेछु ? खाने छु कि छाडिदिनेछु ? मेरो मनमा के छ ? यसको सही अनुमान लगायौं भने म तिम्रो छोरालाई छाडिदिनेछु ।’

पिताले गर्ने जुनसुकै अनुमान या जवाफ विराधाभासपूर्ण हुनेछ । यदि गोहीले बच्चालाई खाने सोच बनाएको थियो र पिताले पनि त्यही अनुमान गरेर जवाफ दिएको खण्डमा पिताले सही जवाफ दिएको ठहरिनेछ । त्यो अवस्थामा गोहीले पूर्व वचन अनुसार बच्चालाई छाडिदिनुपर्नेछ ।

तर गोहीले बच्चालाई छाडिदिनासाथ पिताको अनुमान झुठो ठहरिनेछ, किनकि गोहीले त बच्चालाई खाएन, छाडिदियो । पिताको अनुमान झुठो हुनासाथ गोहीले फेरि बच्चालाई खानुपर्ने हुन्छ । यसरी विरोधाभास उत्पन्न भयो ।

यही कारण चीनको आर्थिक विकास पनि अपूर्ण छ, जहाँ राजनीतिक स्वतन्त्रता छैन । भारतको स्वतन्त्रता पनि अपूर्ण छ, जहाँ आर्थिक समानता छैन 

यस्ता अनेक विरोधाभास यो अस्तित्त्वमा विद्यमान छन् । मानव सभ्यता आफैंमा विरोधाभासले भरिएको सञ्जाल हो । तैपनि, विरोधाभास न्यूनीकरण गर्दै समाजलाई एउटा निर्दिष्ट दिशा दिन विश्वका चिन्तक, विचारकहरूले विभिन्न दर्शनको सूत्रपात गर्दै आएका छन् । समाजलाई विचार र दर्शनको निश्चित फ्रेममा बाँधेर संगतिपूर्ण ढंगले अघि बढाउने कोसिस हुँदै आएको छ । तर अहिलेसम्म मानव सभ्यता र मान्छेको मन विरोधाभासबाट मुक्त हुन सकेको छैन ।

जनयुद्धका गायकको पश्चाताप- गीत गाएर मर्न र मार्न किन उक्साएँ हुँला !

समानता र स्वतन्त्रताको विरोधाभास

अहिले मानव सभ्यताको सबैभन्दा ठूलो विरोधाभासचाहिँ समानता र स्वतन्त्रता हो । हामी नेपाली पनि यही विरोधाभासमा अलमलिएका छौं । हाम्रो उत्तरी छिमेकमा चीन छ, जहाँ स्वतन्त्रता होइन, समानतालाई प्राथमिकता दिइएको छ । दक्षिणी छिमेकमा भारत छ, जहाँ समानता होइन, स्वतन्त्रतामा जोड दिइएको छ ।

मानिसलाई चाहिँ समानता र स्वतन्त्रता दुवै चाहिएको छ । यो बडा जटिल विरोधाभास हो, जसको हल आजसम्म निस्कन सकेको छैन । समानताको प्रत्याभूति गर्दा मानिसको स्वतन्त्रता खण्डित हुन्छ । उत्पादनको समान वितरणले निजी सम्पत्तिमाथिको स्वामित्त्व र खुला बजार प्रतिष्पर्धालाई निषेध गर्छ । मान्छेको मौलिक हक र स्वतन्त्रतामाथि बन्देज लगाउँछ । समानताका नाममा राज्यको चरित्र अधिनायकवादी भइदिन्छ ।

स्वतन्त्रता, निजी स्वामित्त्व र खुला बजार प्रतिष्पर्धालाई बढावा दिने हो भने आर्थिक असमानताको खाडल गहिरिँदै जान्छ । केही सीमित मानिस धनी हुँदै जान्छन्, गरिब झन् झन् गरिब । अहिले भारतलगायत विश्वका पुँजीवादी मुलुकहरूको मुख्य समस्या नै यही हो कि त्यहाँ कोही अत्यधिक धनी छन्, कोही गरिब । भारतमा एकातिर एकाध मानिस मुकेश अम्बानी र टाटा बिडलाको तहमा पुगेका छन्, तर लाखौं मानिस अहिले पनि रेलवे प्लेटफार्ममा सुत्न विवश छन् ।

आधुनिक युगमा मानिसलाई उत्पादनको समान वितरण पनि चाहिएको छ, अनि स्वतन्त्रता पनि उत्तिकै चाहिएको छ । तर, स्वतन्त्रता र समानताको विरोधाभासलाई एकसाथ अघि बढाउने उत्तम विधि र विचार अहिलेसम्म विश्वमा कतै सूत्रपात भएको छैन ।

हाम्रा नेताहरू एकातिर लोकतन्त्रको नारा दिन्छन्, अर्कातिर लोकतन्त्रलाई लोक कल्याणकारी बनाउनुको साटो ठाडै ‘समाजवाद’को सपना देखाउँछन् । यही हो राजनीतिको प्याराडक्स अर्थात विरोधाभास

यही कारण चीनको आर्थिक विकास पनि अपूर्ण छ, जहाँ राजनीतिक स्वतन्त्रता छैन । भारतको स्वतन्त्रता पनि अपूर्ण छ, जहाँ आर्थिक समानता छैन । भारत र चीनका परस्पर विरोधी मोडलको बीचमा हामी नेपाली छौं, त्यसैले हामीसँग आर्थिक समानताको नारा दिने पनि छन्, राजनीतिक स्वतन्त्रताको नारा दिने पनि ।

नेपाली कांग्रेस भारतको जस्तो लोकतान्त्रिक पद्धतिको पक्षमा देखिन्छ । कम्युनिस्टहरू चाहिँ सकेसम्म चिनियाँ या उत्तर कोरियाली मोडलमै जान चाहन्छन् । चीनको अधिनायकवाद र भारतको लोकतन्त्रको वर्णसंकर प्रभाव नेपालका राजनीतिक दलहरूमा परेको छ ।

यसै कारण नेपालका कम्युनिस्टहरू लोकतन्त्रको कुरा गर्छन्, कांग्रेसहरू समाजवादको कुरा गर्छन् । कांग्रेसलाई ‘प्रजातान्त्रिक समाजवाद’ भन्नु परेको छ, कम्युनिस्टहरुलाई ‘बहुदलीय जनवाद’, ‘एक्काइसौं शताब्दीको जनवाद’ या ‘समाजवाद’ भन्नु परेको छ ।

भारतका थिंक ट्यांकहरु अचेल भन्न थालेका छन्, ‘जुन दिन रुससँग रणनीतिक साझेदारीका नाममा इन्दिरा गान्धीले भारतको संविधानमै समाजवाद शब्द घुसाइन्, त्यसै दिनदेखि भारतको लोकतन्त्रको वैचारिक दिशा बरालिएको हो ।’

यसै कारण अहिले त्यहाँ विशुद्ध लोकतान्त्रिक शक्ति विकसित हुन पाएन । इन्दिरा गान्धीको अधिनायकवाद त ‘संकटकाल’ घोषणापछि उजागर भएकै हो, अहिले भारतीय जनता पार्टीको हिन्दू अतिवादी राजनीतिले पनि लोकतन्त्रमाथि धावा बोलिरहेकै छ । धार्मिक अतिवादी राजनीतिको दबदबा भएको भारतको लोकतन्त्र ‘विशुद्ध लोकतन्त्र’ होइन ।

नेपालको संविधानमा पनि ‘समाजवाद’ घुसाइएकाले हाम्रो लोकतन्त्र पनि अविश्वसनीय भएको छ । हाम्रा नेताहरू एकातिर लोकतन्त्रको नारा दिन्छन्, अर्कातिर लोकतन्त्रलाई लोक कल्याणकारी बनाउनुको साटो ठाडै ‘समाजवाद’को सपना देखाउँछन् । यही हो राजनीतिको प्याराडक्स अर्थात विरोधाभास ।

लेखनाथको जनयुद्ध स्मरण – जेल बसेर निस्कँदा ८२ हजार कमाएँ

प्रचण्ड ‘प्याराडक्स’

नेपाली राजनीतिको विरोधाभासमा दुई दशकयता अर्को विरोधाभसको सिद्धान्त थपिएको छ, ‘प्रचण्ड प्याराडक्स’ । तत्कालीन नेकपा (माओवादी) को जनयुद्ध प्रारम्भ हुँदादेखि नै प्रचण्ड प्याराडक्स सतहमा आइसकेको थियो ।

‘प्रचण्ड प्याराडक्स’को यही उल्झनका कारण राजनीतिशास्त्रका धेरै सिद्धान्तहरू अहिले अन्योलमा छन्

एकातिर ‘भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्ध’ को उद्घोष, अर्कातिर भित्रभित्र ‘रअ’का प्रमुखसँग हिमचिम । एकातिर राजा ज्ञानेन्द्रसँग मिलेर संसदवादी दललाई निषेध गर्दै सत्तामा जाने सपना, अर्कातिर भारतसँग मिलेर राजतन्त्र ढाल्ने नारा ।

एकातिर ‘मृत्यु या मुक्ति’को संकल्प, अर्कोतिर संसदीय भासमा जाकिने संशोधनवादको कार्यदिशा । एकातिर विद्रोहको नारा, अर्कोतिर बुुर्जुवा चुनावको तयारी । एकातिर क्रान्तिको हुँकार, अर्कोतिर समर्पणवादको विवशता ।

यी यावत् विरोधाभास माओबादी अध्यक्ष प्रचण्डमा देखापर्दै आएको हो । अहिले पछिल्लो कालखण्डमा चाहिँ ‘प्रचण्ड प्याराडक्स’ झन् जटिल रूपमा देखापरेको छ ।

प्रचण्ड प्याराडक्सले राजनीतिलाई नबुझिने शास्त्र बनाइदिएको छ । यस्तो प्याराडक्सको हल नभएसम्म नेपालको राजनीति सदा अस्थिर र अराजक भइरहनेछ 

सत्तामा पनि आसिन हुने, सडकमा पनि संघर्ष चलाउने । एमसिसी सदनमा टेबल गर्न पनि दिने, तर विपक्षमा मतदान गर्छौं पनि भन्ने । दलका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई एमसिसीको पक्षमा भोट हाल्न दिने सहमति, अन्य सांसदले चाहिँ विपक्षमा हाल्ने हुँकार । सत्ताको स्वाद पनि चाख्ने, सडक संघर्षको राजनीतिक लाभ पनि कुम्ल्याउने । एमालेलगायत दलको समर्थनमा सरकारको नेतृत्व पनि गर्ने, कांग्रेसलाई पनि चिढाउन नचाहने ।

‘प्रचण्ड प्याराडक्स’को यही उल्झनका कारण राजनीतिशास्त्रका धेरै सिद्धान्तहरू अहिले अन्योलमा छन् ।

राजनीतिलाई विरोधाभासको दलदलमा होम्नु भनेको राजनीतिमा ‘डर्टी गेम’ प्रारम्भ हुनु हो । प्रचण्ड प्याराडक्सले राजनीतिलाई नबुझिने शास्त्र बनाइदिएको छ । यस्तो प्याराडक्सको हल नभएसम्म नेपालको राजनीति सदा अस्थिर र अराजक भइरहनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष