NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते
सन्दर्भ

जनयुद्धपछि माओवादी : भुइँको टिप्दै, पोल्टाको गुमाउँदै

प्रचण्ड माओवादीका ऐतिहासिक भूलहरू

काठमाडौं । नेकपा (माओवादी) ले सशस्त्र युद्ध सुरू गरेको २८ वर्षपछि ‘जनयुद्ध दिवस’ले सरकारी मान्यता पाएको छ । प्रधानमन्त्रीसमेत रहेका सशस्त्र युद्ध (०५२–०६२) का सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलै भए पनि सरकारीतवरबाट जनयुद्ध दिवसको सम्झनामा बिदा दिएर आत्मरति लिएका छन् ।

‘जनयुद्ध दिवस’मा ढिलै भए पनि सरकारले बिदा दिएको र यो शहीददप्रति सम्मान र परिवर्तनका लागि संकल्प भएको उनले जिकिर गरे ।

‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रियाअघि आउनेछ र त्यसले आम माओवादी नेता कार्यकर्ता र जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित र संगठित हुने वातावरण बन्नेछ,’ सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने ।

यद्यपि, सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति सत्ता साझेदार दलहरू एमाले र राप्रपाले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । विपक्षी दलहरू, संवैधानिक ज्ञाता, नागरिक समाज तथा वौद्धिक वर्गहरूले समेत सरकारको निर्णयको विरोध गरेका छन् । विभिन्न घटकमा विभाजित माओवादीका नेताहरूले प्रचण्डको कदमलाई नौटंकीको संज्ञा दिएका छन् । माओवादी युद्धकालीन रणनीति, कार्यक्रम र सिद्धान्तबाट विचलित भएका व्यक्तिले ‘जनयुद्ध दिवस’मा बिदा दिँदैमा वीर सहिदहरूले शान्ति नपाउने विप्लव माओवादीका नेता अनिल शर्मा ‘विरही’ले टिप्पणी गरे ।

‘जनयुद्धको मूल स्पिरिटबाट प्रचण्ड, बाबुराम विचलित भइसकेका छन् । उनीहरूबाट अब केही हुनेवाला छैन । युद्धकालीन रणनीति, कार्यक्रम र सिद्धान्त हामीले बोकेका छौं,’ नेपालवाचसँग उनले भने, ‘सामन्ती राज्य व्यवस्था र दलाल विदेशी प्रतिक्रियावादीको विरोधमा हामीले सशस्त्र विद्रोह गरेका थियौं । अहिले विदेशी हस्तक्षेप झनै बढेर गएको छ ।

जनयुद्धका गायकको पश्चाताप- गीत गाएर मर्न र मार्न किन उक्साएँ हुँला !

सामन्तवादको अवशेष सांकृतिक रूपमा देखिए पनि दलाल पुँजीवाद जबर्जस्त रूपमा उदाएको छ ।’

जनजीविका, राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्रको विषय उठान गर्दै बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संयुक्त जनमोर्चाले २२ माघ, ०५२ मा देउवा सरकारसमक्ष ४० बुँदे माग बुझाएको थियो । त्यसको केही समयपछि नेपालको ग्रामीण विद्रोहका रूपमा विश्वभर चर्चित माओवादी सशस्त्र युद्ध छोटो समयमै देशभर फैलियो । जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डको नेतृत्व क्षमता, भट्टराईको योजना, मोहन वैद्यको शास्त्रीय ज्ञान, रामबहादुर थापा बादलको फौजी कमाण्ड, सम्पूर्ण नेता तथा कार्यकर्ताको सामूहिक विश्वास तथा शोषण, उत्पीडित जनाताको साथको एकमुष्ठ सम्मिलनले माओवादी युद्ध ह्वात्तै माथि उठ्यो । गाउँ—गाउँबाट राज्य व्यवस्था संयन्त्रलाई ध्वस्त पार्दै सहरी विद्रोहको तयारी गरेको माओवादी ०६२ मा रुकुमको खारा युद्धमा नमिठो हार व्यहोरेपछि ‘यु–टर्न’ भयो ।

बारुदी युद्धको ती त्रासदीपूर्ण यात्रामा प्रचण्डलाई साथ दिएका वैद्य र विप्लव शान्ति प्रक्रियामा आएपछि माओवादीमा विचलन सुरू भएको दाबी गर्छन् ।

‘युद्धका बेला माओवादी सर्वहारा श्रमजीवी जनताको पक्षमा थियो । सिंगो पार्टी पंक्ति नेतृत्वको पक्षमा ढाल बनेर उभिएको थियो । परिवर्तनका पक्षमा रहेका लाखौं जनता माओवादी आन्दोलनका पक्षमा रहेका थिए’, नेता विरहीले भने, ‘प्रचण्ड अहिले विदेशी दलालको पक्षपोषणमा सहभागी छन् । ती परिवर्तनको पक्षमा लडेका वीर योद्धा, शहीद परिवार र श्रमजीवी जनताबाट माओवादी टाढिएको छ । युद्धमा होमिएका हजारौं योद्धाहरू अझै जिउमा बारुदका छर्रा लिएर बाँचिरहेका छन् । प्रचण्ड तीन पटक प्रधानमन्त्री भएर ती योद्धाहरूले के पाए ?’

२०६१ सम्म प्रचण्डले लिएको नीति र नेतृत्व ठीक भए पनि त्यसपछि विचलन सुरू भएको वैद्य र विप्लव माओवादीका नेताहरूको ठम्याइ छ ।

सशस्त्र युद्धको समयमा महाशक्ति पश्चिमा राष्ट्रका लागि निकै टाउको दुखाइ बनेका प्रचण्ड र नेपालको माओवादी आन्दोलन यति छिट्टै पतन होला भन्ने कसैले पनि सोचेका थिएनन् ।

‘प्याराडक्स’ र प्रचण्डको नबुझिने पहेली

तत्कालीन समयमा सहरी क्षेत्रमा माओवादी आन्दोलनलाई सहयोग नभए पनि ग्रामीण दूरदराजका विपन्न परिवार, जनजाति आदिबासी, दलित, महिला, अल्पसंख्यकलगायत समुदायको राम्रै साथ र सहयोग थियो ।

ग्रामीण जनताकै साथ र सहयोगमा शक्तिशाली भएका प्रचण्डले राज्यसत्ताविरुद्ध लड्न ०५८ सालमा जनमुक्ति सेना बनाए । राज्यविरुद्ध जनसत्ता, जनसरकार, जनअदालतलगायत छुट्टै समानान्तर सत्ता निर्माण भए । हजारौं जनमिलिसिया तयार पारे । सिंगो पार्टीले उनको हरकदमलाई साथ दियो । राज्यसँग रहेका अत्याधुनिक हातहतियार कब्जामा लिन माओवादी सफल भयो । यी सबैबाट शक्तिशाली भएका प्रचण्डविरुद्ध बोल्ने कसैको आँट हुँदैनथ्यो । माओवादी आन्दोलनकै कारण १७ हजार जनताले ज्यान गुमाउनु परेको थियो । माओवादी आफ्नै नेतृत्वमा पटक–पटक सरकारमा गए पनि हजारौं बेपत्ताको अवस्था अझै अज्ञात छ । हजारौं घाइते–अपांग उपेक्षित महसुस गरिरहेका छन् । शान्ति प्रक्रियामा आएको १६ वर्षमै प्रचण्डको उचाइ ह्वात्तै घटेको छ भने माओवादी पनि ओरालोमा गुल्टिएको ढुंगाको नियति झेल्न अभिशप्त छ ।

कुनै बेलाको शक्तिशाली माओवादी अहिले आधा दर्जन बढी पटक विभाजन भोगेर हात्तीबाट छावा बनेको छ । यसको कारण अरू कोही नभएर प्रचण्ड स्वयं भएको वामपन्थी नेता विश्वभक्त दुलाल आहूतीको विश्लेषण छ ।
‘प्रचण्डजीमा युद्धकालदेखि नै उपयोगितावादी नीति हाबी थियो । कहिले वैद्य त कहिले बाबुरामसँग मिलेर आफ्नो स्वार्थ पूरा गर्दै आए । लाखौं जनतालाई युद्धमा होमिन उत्प्रेरित गरेर आफू र आफ्नो परिवारलाई सुरक्षित गर्ने काम उहाँले गर्नुभयो । दलाल पुँजीवादीको घेराभित्र बसेर त्यो काम अहिले पनि गरिरहनुभएको छ । प्रचण्डको विचलित रूप नै अहिलेको माओवादी केन्द्र हो,’ उनले भने ।

०४५ को सेक्टर काण्डपछि राजनीतिमा छलाङ हानेर पार्टीमा हालिमुहाली जमाउन सफल विद्रोही छविका तीनै प्रचण्ड आज पुष्पकमल दाहालमा फर्किएका छन् । माओवादी युद्धमा साथ दिएका कैयौं उनका सहयात्रीले साथ छाडेका छन् भने अवसरका निम्ति पछि जोडिएका प्रिय भएका छन् ।
शान्ति प्रक्रियामा आएपछि देशभर क्यान्टोनमेन्टमा रहेका करिब ३५ हजार माओवादी सेनालाई निःशस्त्रीकरण गरी उनको दाह्रा–नङ्ग्रा निकाल्न प्रचण्ड–बाबुरामले महत्त्वपूर्ण भूमिका खेलेको वैद्य–विप्लवले आरोप लगाएका छन् । उनीहरूकै शब्दमा युद्धकालमा टाउकाको मूल्य तोक्ने तिनै विदेशी पुँजीवादी दलालसँग मिलेर प्रचण्ड घोर दक्षिणपन्थमा भासिएको विद्रोही माओवादीको तर्क छ ।

युद्धकालीन समयमा आँ… गर्न डराउनेहरू अहिले हाकाहाकी प्रचण्डलाई ललकारी रहेका छन् । उनी यति असहाय प्रतीत हुँदैछन् कि न विरोधी परास्त गर्ने शक्ति छ, न उचाइ र ओज । एमालेको काँधमा चढेर तेस्रो पटक प्रधानमन्त्री भएका उनी कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर फाइदा लिइरहेका छन् । प्रचण्डलाई आफ्नै बोली र व्यवहार अहिले भारी परिरहेको छ ।

माओवादी विचलनको श्रृंखला

चुनवाङ बैठक

०६१ मा रुकुमको खारा आक्रमणमा माओवादीले नराम्रो हार व्यहो¥यो । त्यसको एक वर्षपछि ०६२ असोजमा चुनवाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । यो बैठक त्यही कोशेढुंगा थियो, जसले सशस्त्र युद्धमा रहेको पार्टीलाई यूटर्न गराएर शान्ति प्रक्रियामा अवतरण गर्ने निर्णय गर्यो । अन्ततः यही बैठक माओवादी सशस्त्र युद्धको निःसशस्त्रीकरण र शान्तिपूर्ण राजनीतिको प्रस्थान बिन्दु बन्यो ।

सोही बैठकको कार्यादेशपछि माओवादीले तत्कालीन संसदवादी सात दलसँग १२ बुँदे सम्झौता ग¥यो । १२ बुँदे सम्झौताको आधारमा ०६३ माघ १ मा बृहत् शान्ति सम्झौतामा विद्रोही माओवादीका तर्फबाट प्रचण्ड र सरकारको तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए ।

प्रचण्डले हस्ताक्षर गर्दै गर्दा पार्टीभित्रका ‘हार्डलाइनर’ मोहन वैद्य ‘किरण’ र सिपी गजुरेल ‘गौरव’ भारतको जेलमा थिए । त्यतिबेला प्रचण्डलाई बाबुराम भट्टराईले बलियो साथ दिएका थिए । चुनवाङ बैठकदेखि नै प्रचण्डको क्रान्तिकारी धारमा खिया लाग्दै गयो र उनी संसदीय भासमा फस्दै गए ।

वामपन्थी नेता विश्वभक्त दुलाल ‘आहूती यस घटनालाई माओवादी आन्दोलनको पतन र प्रचण्डको पराजयको रूपमा चित्रण गर्छन् ।

‘युद्धकालीन प्रचण्ड अब छैनन् । अहिलेका प्रचण्ड ती प्रचण्ड होइनन् । उनी पुुष्पकमल दाहाल हुन् । उनी पश्चिमा साम्राज्यवादीको इसारामा संसदीय भासमा भस्दै गएका छन्,’ आहुतिले भने, ‘दाहालको दुःखान्त पतनको बाटोबाहेक अन्य विकल्प छैनन् । उनी जे बोल्छन्, त्यो गर्दैनन् । जे बोल्दैनन्, त्यो गर्छन् । उनको बोलीमा कुनै विश्वास गर्ने आधार छैन ।’

सेनापति प्रकरण र शक्तिखोर भिडियो काण्ड

बृहत् शान्ति सम्झौतापछि ०६२/६३ को १९ दिने जनआन्दोलनको बलमा २४० वर्षीय राजसंस्था ढल्यो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । ०६३ मंसिर १ मा नेपालको अन्तरिम संविधान जारी भयो । संसदमा ७३ जना अन्तरिम विधायिकासहित माओवादी पहिलो पटक संयुक्त सरकारमा सामेल भयो । हातहतियारसहित माओवादी सेनालाई क्यान्टोनमेन्टमा राखियो । व्यवस्था परिवर्तनसहित माओवादी एजेण्डामा देश गएको थियो, जुन अहिले पनि कायमै छ । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दलका रूपमा उदाएको थियो । संसदवादी दल कांग्रेस र एमाले नराम्ररी पराजित भएका थिए । एमालेकै सहयोगमा प्रचण्ड दुई तिहाइ बढीको समर्थनमा गणतन्त्र नेपालको पहिलो शक्तिशाली प्रधानमन्त्री बनेका थिए । विद्रोही नेता जनमतबाट सत्तामा पुगेको विश्वकै दुर्लभ घटनामध्ये यो एक थियो । जनमतबाट शक्तिशाली भएका विद्रोही नेता प्रचण्डलाई शक्तिको उन्माद बढ्दै गयो । उनले आफ्नै सत्ता सहयोगी दल एमाले र शान्ति प्रक्रियाका सारथि गिरिजाप्रसाद कोइरालालाई गन्नै छाडे ।

उनले आफुलाई क्रान्तिकारी देखाउन सरकारमा गएको ९ महिना नपुग्दै केही दिनमा अवकास हुन लागेका सेनाका तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई बर्खास्त गरेका थिए । जुन ‘सेनापति काण्ड’का नामले अद्यपि चर्चित छ । सरकारको कदमलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले असहयोग गरेपछि प्रचण्ड नैतिक संकटमा फसेका थिए । एमाले सरकारबाट बाहिरिएको थियो । मधेसकेन्द्रित दलले असहयोग गरेको थियो । सेनापतिलाई कारबाही गर्न असफल भएपछि उनी आफैं सत्ताबाट बाहिरिनु परेको थियो ।

लेखनाथको जनयुद्ध स्मरण – जेल बसेर निस्कँदा ८२ हजार कमाएँ

चुनवाङ बैठकदेखि नै प्रचण्डको क्रान्तिकारी धारमा खिया लाग्दै गयो र उनी संसदीय भासमा फस्दै गए । वामपन्थी नेता विश्वभक्त दुलाल ‘आहुतिले यस घटनालाई माओवादी आन्दोलनको पतन र प्रचण्डको पराजयको रूपमा चित्रण गरेका छन् ।

उनी सत्ताबाट बाहिरिएलगत्तै ०६४ असोज १८ मा चितवनको शक्तिखोरमा आफूसँग ३ हजार सेना रहे पनि राज्यलाई झुक्याएर ३५ हजार देखाउन सफल भएको भिडियो टेप सार्वजनिक भयो । टेप प्रकरणबाटै क्यान्टोनमेन्टमा प्रचण्डले भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । जुन अहिले अख्तियारको छानबिनको विषय बनेको छ । त्यसपछि उनी एकपछि अर्को असफलतामा फस्दै गएका छन् । हिजो समर्थन गरेका जनताको साथ उसले गुमाउँदै गएको छ ।

हतियार निःशस्त्रीकरण र पार्टी विभाजन

माओवादी सरकार ढलेपछि दुई ठाउँबाट पराजित एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री भए । यस घटनाबाट चिडिएका प्रचण्डले सरकारविरुद्ध देशव्यापी आन्दोलनमा पार्टीलाई होमे । २७ किलोमिटर लामो चक्रपथमा मानव साङ्लो बनाउनेदेखि देशकै उच्च प्रशासकीय केन्द्र सिंहदरबार ठप्प बनाइयो । तर नेपाल नेतृत्वको सरकारले माओवादी आन्दोलन गन्दै गनेन । प्रचण्ड आन्दोलनका कार्यक्रमबाट सेटब्याक हुन बाध्य भए । नेपाल नेतृत्वकै सरकारले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र संघबाट आएका अनमिनको सहयोगमा माओवादी सेनालाई निःशस्त्रीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसपछि सरकारको नेतृत्व गरेका बाबुराम भट्टराईले जनमुक्ति सेनालाई माओवादीबाट अलग्याएको थियो । यी सबै घटनाबाट चिडिएका वैद्य समूहले ०६९ असारमा पार्टी विभाजन गरी प्रचण्ड–बाबुरामविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो । पार्टी विभाजनपछि कमजोर बनेका प्रचण्ड ‘सेनाबिनाका सेनापति’ भए ।

संविधानसभा चुनावमा सर्मनाक हार

पहिलो संविधानसभा चुनावमा २३८ सिटसहित शक्तिशाली पार्टीमा स्थापित माओवादी ०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा आइपुग्दा खुम्चिएर २५ सिट (प्रत्यक्षतर्फ) मा झर्यो । जुन प्रचण्डले अपेक्षा गरेभन्दा निकै कम थियो । त्यस चुनावबाट पुराना संसदवादी दल कांग्रेस–एमाले संसदमा ठूला दल बने भने माओवादी निकै कमजोर भयो । युद्धकालका शक्तिशाली कमाण्डर प्रचण्ड संसदीय व्यवस्थामा एकपछि अर्को असफल हुँदै गए ।

अस्थिर गतिविधि, एमालेसँग एकता

संसदीय मोर्चामा निकै कमजोर देखिएका प्रचण्ड ०७० को संविधानसभा चुनावपछि निकै निराश र अस्थिर देखिन थाले । उनी कहिले विद्रोह त कहिले शान्तिपूर्ण आन्दोलनको कुरा गर्दै नेता–कार्यकर्ता अलमल्याउन थाले । पार्टी बाहिर सहकार्य गर्ने सवालमा पनि उस्तै अलमल र अन्योल रह्यो । प्रचण्ड कहिले एमालेसँग नारिन पुगे त कहिले मधेशकेन्द्रित दलसँग ‘लभ’ गर्न । राजकीय शक्तिमा दाइँ गर्न कांग्रेससँग पनि उनको उत्तिकै सानिध्यता रहिरह्यो । जुन अद्यपि कायम नै छ । तर उनले कहिल्यै पनि आफ्नो गुमेको शक्ति पुर्नस्थापना गर्न संगठन विस्तार, घाइते अपाङ्ग, बेपत्ता र शहीद परिवारका समस्याहरू समाधान गर्न पहल गरेनन् ।

युद्धकालमा पार्टीलाई सहयोग गरेका योद्धाहरू अरबको खाडीमा भासिन पुगे । पार्टीभित्र नवअवसरवादीहरूको वर्चस्व बढ्दै गयो । प्रचण्डले पुराना संसदवादी दल कांग्रेस–एमालेको भन्दा नयाँ विचार र देश विकासको एजेण्डा ल्याउन सकेन । फलस्वरूप ०७४ को स्थानीय चुनावमा कांग्रेससँग मिलेर गठबन्धन गरेका प्रचण्डले देशभर सोचेअनुसारको चुनावी परिणाम नआएपछि मंसिरमा भएको प्रदेश र संघीय चुनावमा एमालेसँग गठबन्धन गर्न पुगेका थिए ।

टेप प्रकरणबाटै क्यान्टोनमेन्टमा प्रचण्डले भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । जुन अहिले अख्तियारको छानबिनको विषय बनेको छ
वामगठबन्धनसँगको चुनावमा राम्रै फाइदा लिएका प्रचण्डले ०७५ जेठ ३ मा एमालेसँग पार्टी एकता गरेका थिए । तर आलोपालो प्रधानमन्त्री बनाउन तत्कालीन नेकपाका अध्यक्ष ओली अनिच्छुक देखिएपछि पार्टीभित्र माधव समूहको सहयोगमा ओलीविरुद्ध गुटबन्दी गरेका थिए ।

गुटबन्दीका कारण ओली नेतृत्वको सरकार ढल्ने स्थिति सिर्जना भयो । त्यसपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर पुस ५ मा संसद् विघटन गरेका थिए । ओलीको कदमबाट निकै चिडिएका प्रचण्डले त्यसैलाई राजनीतिक ‘इस्यू’ बनाए र माधव नेपालसँग मिलेर ओलीविरुद्ध देशभर आन्दोलन थाले । दु्ई तिहाइको डण्डा देखाएर पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरे । कारबाहीको सिलसिलामा प्रचण्ड–माधव पक्षलाई मान्यता दिन निर्वाचन आयोगले आनाकानी गरेकै अवस्थामा फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि प्रचण्डको सपना चकनाचुर भएको थियो । जुन प्रचण्डका लागि राजनीतिक जीवनको अर्को नमिठो हार थियो ।
नेकपा विभाजनपछि संसदीय राजनीतिमा ओली एकपछि अर्को गरी शक्तिशाली बन्दै गए भने प्रचण्ड कमजोर । ओलीले प्रचण्डका हरेक योजनालाई निस्तेज पार्दै गए । प्रचण्ड अस्तित्व रक्षाका लागि कांग्रेस र माधव समूहको साथ खोज्न पुगे ।

एमसिसीमा द्वैध चरित्र

ओलीले दोस्रो पटक गरेको संसद् विघटन असफल भएपछि सर्वोच्चकै सहयोगमा असार २८ मा ओली सरकार सत्ताबाट बाहिरिन पुग्यो । ओली सरकार ढाल्न माधव नेपालको महत्त्वपूर्ण भूमिका रह्यो । प्रचण्डले यसैलाई प्रयोग गरेर आफ्नो गुमेको शक्ति पुनः फिर्ता ल्याउन सफल भए । सात प्रदेशसहित संघीय सरकारसम्म वाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्यो । कांग्रेस सभापति शेरबहादुर देउवा सत्तामा आएपछि नेपालमा निकै आलोचित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट पारित गर्न गठबन्धन दललाई दबाब दिँदै आए । तर प्रचण्डले विभिन्न बहानामा एमसिसीलाई अगाडि बढाउन आनाकानी गरेपछि सेप्टेम्बर २१, २०२१ मा प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रूपमा एमसिसी बोर्डलाई पठाइएको अति गोप्य पत्र प्रधानमन्त्रीनिकट पत्रकारले सार्वजनिक गरिदिए । यसले प्रचण्डको द्वेध चरित्र उदांगो भएको छ । यस घटनामा प्रधानमन्त्री देउवा र प्रचण्ड दुवै दोसी भए पनि सबैभन्दा आलोचित प्रचण्ड भए । एमसिसी प्रकरणले कूटनीतिक इतिहासमै कच्चा राजनीतिज्ञको रूपमा देउवा–प्रचण्डलाई उभ्याएको छ ।

यो घटनाबाट उनका चार कमजोरी उजागर भएका छन् । पहिलो त, बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले अन्तर्राष्ट्रिय प्रोटोकल मिचेर एक संस्थाका प्रमुखलाई पत्र पठाएका छन् । दोस्रो, कूटनैतिक मान्यताविपरीत देशलाई नै दीर्घकालीन नोक्सान हुने कच्चा काम गरेका छन् । तीन विदेश मामिला हेर्ने नेपालको परराष्ट्र मन्त्रालयको सहभागीबिना पत्र लेखिएको छ भने कुनै जानकारीसमेत गराइएको छैन ।

एमसिसीको विषयमा देश नै विभाजित रहेको अवस्थामा पत्रलाई गोप्य राखी सूचना पाउनु पर्ने सार्वभौम जनताको अधिकारमाथि कुठाराघात गरिएको छ ।

दुवै नेता दोसीको भागिदार भए पनि प्रचण्ड सबैको तारो बन्नुको एउटै कारण उनको ‘डबल स्ट्याण्ड’ नै हो । बेलायत भ्रमण गरी कात्तिक १८ मा स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग एमसिसी पास गर्न आफू र प्रचण्डले एमसिसी बोर्डलाई पत्र पठाइसकेको भन्दै छिट्टै संसदबाट पारित हुने दाबी गरेका थिए । तर देउवाको भनाइको खण्डन गर्दै प्रचण्डले एमसिसी बोर्डसँग आफूले कुनै पत्र नपठाएको दाबी गरेका थिए । यस घटनाले देखावटी रूपमा जनताको पक्ष लिएजस्तो देखाए पनि भित्रभित्रै अमेरिकाको मन जित्ने काममा प्रचण्ड लागेको प्रष्ट पारेको छ । प्रचण्डको यो गतिविधिलाई देश र जनताप्रति गरिएको घात र अविश्वासका रूपमा अर्थाइयो । एमसिसी प्रकरणले प्रचण्डको बचेखुचेका सबै विश्वास सबै खुइलिएको छ । उनको राजनीतिक भविष्यमाथि ठूलो बज्रपात भएको छ । एमसिसी प्रकणले उनी र माओवादीले थप राजनीति क्षति बेहोर्ने निश्चित छ ।

विलासी जीवनशैली र ढुलमुले नीति

शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्वको जीवनशैली राजसी ठाँटले बित्यो । १६ वर्षमा लगभग सबै सरकारमा सहभागी भए पनि जनताको पक्षमा कुनै काम गर्न असफल देखियो । माओवादीको भद्रगोल संगठन, राज्यसत्तामा क्षमतावानलाई पाखा लगाई नातागोतालाई नियुक्ति दिने काममा ध्यान बढी गएको आरोप लाग्दै आएको छ । कहिले एमाले र कहिले कांग्रेससँग मिलेर आफ्नो राजनीति स्वार्थ पुरा गर्ने काममा ध्यान गएको देखिन्छ । यो पटक भाषणभन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता जनाएका प्रचण्डले विगतका गल्तीबाट पाठ सिकेर कोर्स करेक्सन गरी माओवादी आन्दोलनलाई पुनः उचाइमा पुर्याउनेमा उनकै पार्टीका नेताले समेत विश्वास गरेका छैनन् ।