माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाए कस्तो बन्ला गठबन्धन ?

काठमाडौं । राष्ट्रपतिमा एमाले नेता मान्य नहुने प्रधानमन्त्री पुष्पकमल दाहालको अडानले गठबन्धनको सुरक्षामा प्रश्न खडा गरेको छ । तर, राष्ट्रपतिमा माओवादीले नसघाए पनि सहकार्य जारी राख्ने नीति एमालेले लिएमा गठबन्धन जोगाउने वा तोड्ने भन्नेमा दाहाल अलमलमा छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच उत्पन्न अविश्वास मेटाएर गठबन्धन जोगाउने कसरतमा छन् । सरकार बनेको दुई महिनामै गठबन्धन भत्काउँदा अस्थिर नेताको आरोप लाग्ने डर दाहाललाई छ भने दाहालको प्रस्ताव अस्वीकार गर्दा संघ र प्रदेश सरकारबाट बाहिरिनुपर्ने जोखिम ओलीलाई छ ।
पछिल्लो समय दाहाल र कांग्रेस नेताहरूबीच राष्ट्रपतिको निर्वाचनसँगै तत्कालीन पाँचदलीय गठबन्धनलाई ब्युँताउने कसरत चलिरहेको छ । पुस १० को घटनालाई बिर्सेर नयाँ राजनीतिक विश्वासका साथ अघि बढ्न कांग्रेस सभापति शेरबहादुर देउवाले देखाइरहेको तत्परता र उच्चस्तरीय संयन्त्रको संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीबाट असुरक्षा महसुस गर्दै आएका दाहालले नयाँ समीकरणका लागि आधारभूमि तयार पारिरहेका छन् ।
यता दाहाल केही दिनदेखि राष्ट्रपतिको विषयमा ओलीसँग घनीभूत संवादमा छन् । तर, एमालेबाट अघि बढाइने कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने निचोडमा पुगेका दाहाल र पुस १० को समझदारी कार्यान्वयन हुनुपर्ने अडानमा रहेका ओलीबीच कुनै समझदारी बनेको छैन ।
राजनीतिमा कुनै नाटकीय फेरबदल नआए राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई माओवादीले समर्थन जनाउने र त्यसैको पृष्ठभूमिमा एमालेले सत्ता छाड्न सक्ने भएकाले कांग्रेससँग साझेदारीका विषयमा समेत छलफल चलेको नेताहरूको भनाइ छ । फागुन १३ मा मनोनयनपछि नै अहिलेको गठबन्धन नरहने कांग्रेस नेताहरूको विश्वास छ ।
कांग्रेस नेता शेखर कोइराला राष्ट्रपतिमा माओवादीले गर्ने निर्णयपछि एमालेसँग सहकार्य तोडिन सक्ने भन्दै प्रधानमन्त्रीलाई कांग्रेसले आश्वस्त पार्न सक्नुपर्ने बताउँछन् । प्रधानमन्त्रीलाई कति वर्ष सरकार चलाउन दिनेदेखि पुस १० मा निर्माण भएको अविश्वास हटाउनुपर्नेसम्मका विषयमा छलफल भइरहेको उनको भनाइ छ । ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गरेपछि प्रचण्डजीलाई अप्ठ्यारो पर्न सक्छ, त्यसमा उहाँलाई विश्वास दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘ओलीजीले पाँचै वर्ष प्रधानमन्त्री हुनुहोस् भन्नुहोला । हामीले कति के भन्ने कुरामा प्रचण्डजीलाई विश्वस्त पार्नुपर्छ ।’
उता माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातयातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन तोड्ने पार्टीको प्राथमिकता नभएको दाबी गरे । यस्तै अभिव्यक्ति कांग्रेस नेता विमलेन्द्र निधिको पनि छ । उनले शनिबार बिहान दाहाललाई बालुवाटार पुगेरै भेटेका थिए । प्रधानमन्त्रीसँग राष्ट्रपति वा गठबन्धनको विषयमा नभएर फागुन १३ मा महेन्द्रनारायण स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका लागि निमन्त्रणा दिन गएको निधिले बताए । ‘कांग्रेसले राष्ट्रपति उम्मेदवार उठाउने निर्णय गरेको छ, त्यसबारे माओवादीसहित सबै दलसँग कुराकानी भइरहेको छ, राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई विजयी गराउन सरकारसँग निरन्तर संवाद र छलफल हुनु स्वाभाविक हो,’ उनले भने, ‘तर गठबन्धन भत्काउने र तोड्ने विषयमा हामी लागेका छैनौं ।’
दाहालले कांग्रेस नेताहरूलाई राष्ट्रपतिमा सघाउने वचन धेरै अघि दिएका हुन् । ‘राष्ट्रपति र गठबन्धनकै विषयमा समेत प्रचण्डजी सकारात्मक हुनुहुन्छ, कांग्रेसका प्रवक्ताबाटै पूरै समय सरकारको नेतृत्व दिने अभिव्यक्ति सार्वजनिक रूपमा आइसकेको छ, यस्तो बेलामा कांग्रेससँग प्रचण्डको अविश्वास कायमै होला भन्ने लाग्दैन,’ कांग्रेसका एक नेताले थपे, ‘पूरै समय प्रचण्डलाई सरकारको नेतृत्व दिएर भए पनि पुस १० को गल्ती सच्याउनुपर्छ भन्नेमा कांग्रेस छ ।’
पुस १० मा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको अडान नछाड्दा दाहाल एमालेसहित सात दलको समर्थनबाट प्रधानमन्त्री बनेका थिए । त्यस घटनाबाट पछुतो मान्दै आएका देउवा दाहाललाई विश्वासमा लिन सबै काम छाडेर लागेका छन् । उनले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरूलाई संवादमा खटाइरहेका छन् ।
माओवादी उपाध्यक्ष श्रेष्ठ प्रधानमन्त्रीले संसद्मा राखेको विश्वासको प्रस्तावका पक्षमा कांग्रेसले मत दिएपछि निर्माण भएको परिस्थितिलाई अनदेखा गरेर हिँड्न नमिल्ने बताउँछन् । ‘अहिलेसम्म हामीले यो पार्टी र त्यो पार्टीको उम्मेदवार भनिसकेका छैनौं तर विश्वासको मतले खडा गरेको अनुकूल परिस्थितिलाई केही पनि होइन भनेर जाने अवस्था छैन । राष्ट्रिय सहमति बनाएर जानुपर्छ,’ उनले भने ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तत्कालीन पाँचदलीय गठबन्धनबाटै कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउँछन् । तर, यसैको जगमा गठबन्धन के हुन्छ भनेर अहिल्यै भन्न नसकिने तर्क उनको छ । ‘माओवादीले सरकारको नेतृत्व गरिरहेको छ, एमालेले सभामुख पाइसकेको छ, ठूलो दलको मान्यताले कांग्रेसले राष्ट्रपति पाउँदा शक्ति सन्तुलन र जनमतको कदर हुन्छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचनमा यसअघिको गठबन्धन एक ठाउँमा रहन्छ तर यही कारणले सत्ता गठबन्धनको यात्रा टुंगिन्छ कि टुंगिँदैन अहिल्यै भन्न सकिन्न ।’
माओवादीभित्र पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिने कि कांग्रेससँग जोडिने भन्नेमा दुई मत छ । ओलीसँगको सहकार्यमा असहज मान्दै आएका प्रधानमन्त्री दाहालसहित ठूलो पंक्ति कांग्रेससँग सहकार्यको पक्षमा छ । कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्नुको पछाडि ‘कठपुतली प्रधानमन्त्री’ बनाउने ओलीको चाहनालाई माओवादीले मुख्य कारण मानेको छ । मन्त्रालय भागबन्डामा समेत प्रधानमन्त्रीभन्दा ओली हाबी भएको माओवादी नेताहरू बताउँछन् ।उच्चस्तरीय संयन्त्रको संयोजक बनेपछि ओलीका प्रस्तुतिबाट पनि दाहाल झस्किँदै आएका छन् ।
संसद्को पहिलो बैठकमा ओलीले संसद् विघटनको बचाउ गरेको विषयले दाहाल अप्ठ्यारोमा परेका छन् । आफैंले सरकार हाँकेको जस्तो गरेर ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन खोजेको लगायत कारणले पनि दाहाल ओलीसँग झस्केको माओवादीका अर्का नेता बताउँछन् । ‘ओलीका व्यवहार र कर्मले सँगै जाने स्थिति देखिन्न, राष्ट्रपतिमा ओलीले भनेकै उम्मेदवारलाई मत दिँदा त्यसपछि सरकारलाई अप्ठ्यारो पार्न सक्छन्,’ दाहालनिकट एक नेता भन्छन् ।
माओवादी उपमहासचिव मातृका यादवले ओलीले संसद् विघटनलाई सही भनेपछि आशंका उब्जिएको बताए । ‘यो विषयमा नबोल्ने बरु बहस गर्दै जाने समझदारीविपरीत ओलीजीले विघटन सही भन्दिनुभयो,’ उनले भने, ‘एउटा सहमति त त्यही दिन तोडियो ।’
कांग्रेस नेता कोइराला राष्ट्रपति र गठबन्धनको विषय के हुन्छ भन्ने फागुन १० सम्ममा यकिन हुने बताउँछन् । राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्नेमा उनी ढुक्क छन् । कांग्रेसभित्र राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । स्रोतका अनुसार फागुन १ मा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राखेको जिज्ञासामा पनि देउवाले पौडेलको नाम लिएका थिए । त्यसपछि भेटेका शेखरसँग क्वात्राले पौडेल उम्मेदवार हुँदा पार्टीभित्र विवाद हुन्छ कि हुन्न भन्ने चासो राखेका थिए । शेखरले पार्टी नेतृत्वले अघि सार्ने व्यक्तिमा विवाद नहुने जवाफ दिएपछि पौडेल भारतको नजरमा समेत सकारात्मक बनेको स्रोतको दाबी छ ।
प्रतिक्रिया