NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

यस्तो छ ओलीको अबको रणनीति

काठमाडौं । एमाले अध्यक्ष केपी ओली राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नारा अघि सारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष सरकारको नेतृत्व गर्ने लिखित समझदारीका लागि दबाबको रणनीति अपनाएको निष्कर्षमा पुगेका छन् । पूर्वसहमतिभन्दा बाहिर गएर कुनै सहमति नगर्ने निष्कर्ष ओलीले निकटस्थ नेताहरूलाई सुनाएका छन् ।

विराटनगरबाट फर्किएपछि आइतबार साँझ एमाले अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतसँग ‘प्रधानमन्त्री प्रचण्डको अस्थिर र अविश्वसनीय चरित्र तथा भूराजनीतिक चलखेलका कारण राष्ट्रपति निर्वाचनमा जेसुकै परिणाम आउन सक्ने’ भन्दै सामना गरेर अघि बढ्नुको विकल्प नभएको सुनाएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ओलीको पछिल्लो निष्कर्ष सुनाउँदै अहिलेको गठबन्धन तोड्नु मुलुककै लागि हितकर नहुने भन्दै ध्यानाकर्षण गराएका थिए ।

पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अन्तिमसम्म अहिलेकै गठबन्धन जोगाएर अघि बढ्न वामपन्थी पृष्ठभूमिबाटै राष्ट्रपति बनाएर जान आफू तयार रहेको बताएका थिए । त्यसरी अघि बढ्दा कम्युनिस्ट एकताको सन्देश दिँदै पार्टी एकतासमेत गर्न सकिने उनको भनाइ थियो ।

ओलीले निकटस्थ नेताहरूसँगै पूर्वसहमतिभन्दा बाहिर गएर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गरेको अवस्थामा केही फरक नपर्ने भन्दै केही समय पार्टीका लागि ‘सेटब्याक’जस्तो हुने भए पनि परिस्थिति सम्हालिएरै अघि बढ्ने पनि निकटस्थ नेताहरूलाई सुनाएका छन् । ‘तत्कालका लागि विश्वासको मत दिए पनि कुनै पनि वेला धारा ७६(३) को सरकार बन्न सक्ने भएकाले प्रचण्डजीलाई काम गर्न भनेजस्तो सहज हुने होइन,’ ओलीको निष्कर्ष छ, ‘त्यसकारण हामी पूर्वसहमतिभन्दा बाहिर जानुपर्ने, उहाँलाई नै सधैँभरि सरकारको नेतृत्वमा टिकाइराख्नका लागि फेरि अर्को सम्झौता गर्नुपर्ने कुनै कारण छैन, किनभने कांग्रेससँग गठबन्धन गरेमा सहमति हामीले होइन, उहाँले तोड्ने हो ।’

एमाले अध्यक्ष ओली र प्रचण्डबीच राष्ट्रपतिकै विषयमा धेरैपटक भेटवार्ता र छलफल भए पनि ओलीले पार्टीका तर्फबाट अगाडि सार्ने उम्मेदवारबारे मुख खोलिसकेका छैनन् । एमालेबाट राष्ट्रपतिमा उपाध्यक्षहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, उपमहासचिव विष्णु रिमाल, स्थायी समिति सदस्य गुरु बरालदेखि गोमा देवकोटासम्मको नाम चर्चामा छ । एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको सहमतिबाट पछि हट्न नसक्ने बताए । ‘अहिले जे–जति कुरा बाहिर आए पनि प्रधानमन्त्री प्रचण्ड पूर्वसहमतिबाट पछि हट्ने अवस्था छैन,’ भट्टराईले भने, ‘किनभने हामीले राष्ट्रपति मागेको होइन, प्रधानमन्त्री बन्ने वेला उहाँले नै एमालेलाई प्रस्ताव गर्नुभएकाले पनि कार्यान्वयन हुन्छ भन्नेमै विश्वस्त छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष