NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

राष्ट्रपतिमा रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । आफ्नो चुनावी वाचापत्रमा गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुनुपर्ने लेखेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सत्ता साझेदार दलभित्र भएको सहमतिअनुसार एमालेलाई नै दिनुपर्ने पक्षमा छ । राष्ट्रपतिलाई लिएर एमाले–माओवादी मतभेद बाहिरिएपछि सभापति रवि लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै यसबारे प्रश्न गरेका थिए ।

‘हिजो सरकार गठन गर्दा जुन सहमति भएको थियो, त्यसबाट दायाँबायाँ हुनुहुँदैन । त्यसैले यस विषयमा तपाईंहरू छलफल गरेर टुंग्याउनुस्, त्यसपछि हामी सरकारमा आउने–नआउने निर्णय गरौँला भनेर संयन्त्रको बैठकमै हाम्रो सभापतिले भन्नुभएको हो,’ रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले भने, ‘राजनीतिमा इमानदारिता देखाउनुपर्छ र हिजोका सबै सहमतिको कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यता रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल भने राष्ट्रपति चयनबारे भइरहेको दौडधुपमा आफूहरू सिनमै नरहेको बताउँछन् । ‘हाम्रो खासै ठूलो भूमिका पनि छैन, त्यसैले हामी राष्ट्रपतिको सिनमै छैनौँ । पार्टीमा यसबारे अहिलेसम्म छलफल भएको छैन । अरू दलबाट उम्मेदवार फाइनल भएपछि एक–दुई दिनमै बैठक बसेर निर्णय हुन्छ,’ उनले भने ।
यद्यपि, प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच सोमबार बिहान मात्रै राष्ट्रपतिको विषयलाई लिएर बालुवाटारमा भेटघाट भएको छ । बालुवाटार स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा सहयोग गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीज्यूको आग्रह राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गरौँ, त्यसमा सहयोग गर्नुस् भन्ने थियो । तर, लामिछाने पुस १० को सहमति पालना गरेर गठबन्धनलाई बलियो बनाएर लानुपर्ने पक्षमा थिए,’ बालुवाटार स्रोतले भन्यो ।

चुनावमा सार्वजनिक भएको रास्वपाको वाचापत्रमा ‘राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने’ उल्लेख छ । तर, लामिछानेले सत्तागठबन्धनको बैठकमा यसबारे अहिलेसम्म बोलेको सार्वजनिक भएको छैन । प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले राष्ट्रपतिको विषयसँगै चितवन २ मा हुने उपनिर्वाचनका विषयमा समेत छलफल भएको थियो । नागरिकता मुद्दाका कारण सभापति रवि लामिछानेको सांसद र मन्त्री पद गुमेपछि रास्वपा पुनः गृह मन्त्रालय पाउने प्रयासमा थियो । तर, प्रधानमन्त्री प्रचण्डले तत्काल स्वार्थ बाझिने मन्त्रालय दिन नसक्ने अडान राखेपछि रास्वपा अहिले सरकारबाट बाहिरिएको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष