राष्ट्रपतिबारे कांग्रेस र एमालेसँग निर्णायक वार्ता गर्दै प्रचण्ड

काठमाडौं ।भावी राष्ट्रपतिबारे प्रमुख दलहरूबीच शुक्रबार निर्णायक वार्ता हुँदै छ । जसबाट तत्कालीन पाँचदलीय गठबन्धन ब्युँतिने–नब्युँतिने टुंगो लाग्ने नेताहरूको भनाइ छ । शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदै छ ।
बिहीबार माओवादी, एकीकृत समाजवादी र जसपाको बैठकपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार एमाले र कांग्रेससँग छलफल गर्ने बताए । कांग्रेससहित तीन दलको बैठक बिहान ८ बजे बोलाइएको छ । प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच हुने छलफलको समय भने तय भइसकेको छैन ।
‘राष्ट्रपतिबारे छलफल चलिरहेको छ, फाइनल भइसकेको छैन । भोलि (शुक्रबार) एमाले अध्यक्षसँग पनि छलफल हुँदै छ । कांग्रेससँग पनि हुन्छ । छलफल सबैको सबैसँग चलेको छ,’ तीन दलको बैठकपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारसँग भने । पाँचदलीय गठबन्धन ब्युँताउने वा तत्कालीन नेकपा ब्युँताउने विषयमा केही टुंगो नभएको उनको भनाइ छ ।
तीन दलको छलफललगत्तै बिहीबार साँझ ५ बजे नै कांग्रेससहित बैठक बस्ने भनिए पनि नेताहरू छुट्टाछुट्टै छलफलमा व्यस्त हुनुपरेका कारण शुक्रबारका लागि सारिएको कांग्रेस महामन्त्री गगन थापाले बताए । ‘दलहरूको छुट्टाछुट्टै बैठक बसेर अन्तिममा चार दलको बैठकबाट निर्णयमा पुग्ने तयारी थियो । तर, तीन दलको बैठक लम्बिएपछि चार दलको बैठक शुक्रबारलाई सरेको हो,’ उनले भने, ‘पुरानै गठबन्धनबाट कांग्रेसको उम्मेदवालाई राष्ट्रपति बनाउनेमा सबैको सकारात्मक धारणा छ । बैठकपछि निष्कर्षमा पुग्नेछौँ ।’
तीन दलको बैठक चलिरहेकै वेला एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवानिवास धुम्बाराही पुगेर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस स्रोतका अनुसार अध्यक्ष नेपालले तीन दलको बैठकमा पुरानो गठबन्धनलाई कायम गर्नेबारे सकारात्मक छलफल भएको र थप छलफल गरेर निर्णयमा पुग्नु आवश्यक रहेको बताएका थिए । ‘अध्यक्ष नेपालले तीन दलको बैठकमा पुरानो गठबन्धन कायम गरेर जानुपर्नेमा सकारात्मक छलफल भएको जानकारी गराउनुभयो । कांग्रेससहित चारै दल छलफल गरेर टुंगोमा पुग्ने जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो । भेटमा कांग्रेस सभापति देउवा, महामन्त्री थापालगायत नेताहरू सहभागी भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया