NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बदलिए प्रचण्ड, माधवलाई राष्ट्रपति बनाउन तयार

काठमाडौं ।राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

नेपालको पक्षमा समर्थन जुटाउने गरी उनले शुक्रबार कांग्रेस र एमालेसँग बैठक गर्ने भएका छन् । दाहालको यो नीतिमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् जसले उपराष्ट्रपतिमा आफ्ना उम्मेदवार उठाउन खोजेका छन् ।

माओवादी अध्यक्ष दाहालसँग बिहीबार एकीकृत समाजवादी र जसपाका नेताले छुट्टाछुट्टै छलफल गरेपछि माओवादी संसदीय दलको कार्यालयमा जसपासहित तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नेपाललाई राष्ट्रपतिमा अघि सार्ने र शुक्रबार कांग्रेस तथा एमालेसँग वार्ता गर्ने तय भएको बताए । प्रधानमन्त्री दाहालले पनि राष्ट्रपतिका विषयमा शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल हुने जनाएका छन् ।

आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने निश्चित नदेखिएपछि एमाले अध्यक्ष ओलीले आइतबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अघि सर्न प्रस्ताव गरेका थिए । एकीकृत समाजवादीलाई एमालेमा समाहित गरेर राष्ट्रपति बन्न नेपाललाई ओलीको सर्त थियो । ओलीले प्रधानमन्त्री दाहाललाई बुधबार भेटेर पनि नेपाल र सुवास नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । त्यही दिन नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालले राष्ट्रपतिमा आकांक्षा भने पहिलेदेखि नै राख्दै आएका थिए ।

राष्ट्रिय सहमतिका लागि अध्यक्ष नेपाललाई अघि सार्दा सहज हुने भएकाले आफ्नो पार्टीले राष्ट्रपतिमा दाबी गरेको एकीकृत समाजवादी उपमहासचिव ज्वालाको भनाइ छ । उनले बिहीबारको बैठकमा कांग्रेससहितको पुरानो गठबन्धन ब्युँताउनेभन्दा पनि समाजवादी मोर्चा गठनको विषयमा ठोस छलफल भएको बताए । ‘राष्ट्रपति निर्वाचनबाट मोर्चा गठनको प्रयत्न भएकै हो, यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल भइरहेको छ,’ उनले भने । जसपाका प्रवक्ता मनीष सुमनले भने पुरानो पाँचदलीय गठबन्धनलाई ब्युँताउने प्रयास हुने, त्यो सम्भव नभए तीन दल (माओवादी, जसपा र एकीकृत समाजवादी) एक भएर जाने समझदारी बनेको बताए । जसपाले समाजवादी मोर्चाबाटै राष्ट्रपति निर्वाचनमा आफ्नो स्पेस लिन खोजेको छ ।

सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिका रूपमा अघि सार्ने उसको तयारी छ । रामसहायलाई उपराष्ट्रपति बनाएर उनको निर्वाचन क्षेत्र बारा–२ बाट सांसद बन्ने जसपा अध्यक्ष उपेन्द्र यादवको मनोकांक्षा छ । अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताएका छन् । ‘हाम्रो पार्टीले उपराष्ट्रपति पाउने अवस्था भयो भने रामसहायजी नै उम्मेदवार बन्ने सम्भावना छ, यसका लागि अन्य दलबीच वार्ता भइरहेको छ,’ जसपा प्रवक्ता सुमनले भने ।

माओवादीका एक पदाधिकारीले एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको आश्वासन दिएर पार्टी एकताको प्रयास गरेपछि समाजवादी मोर्चालाई आकार दिने प्रयास गरिएको बताए । नेपालका लागि एमालेभन्दा माओवादीसहितको मोर्चा सहज र राजनीतिक रूपमा अनुकूल हुने उनको भनाइ छ । ‘एमालेको दाउ एकीकृत समाजवादीलाई मिलाएर सबैभन्दा ठूलो दल बन्ने देखियो तर हाम्रो प्रयास छुट्टै मोर्चा बनाएर प्रभावशाली र निर्णायक शक्ति बन्ने रहेको छ,’ ती पदाधिकारीले भने ।

माओवादी तेस्रो ठूलो दल भए पनि राष्ट्रपतिको निर्वाचनमा एमाले वा कांग्रेससँग मात्र मिल्दा बहुमत पुग्दैन । राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादी २ हजार ५ सय ७४ मतभारसहित चौथो र जसपा २ हजार १ सय ४५ मतभारसहित छैटौं ठूलो शक्तिका रूपमा छन् । माओवादी ७ हजार ७ सय ४५ मतभारसहित तेस्रो शक्तिका रूपमा छ । तीनवटै दलको १२ हजार ४ सय ६४ मतभार भने निर्वाचनको समीकरण निर्माण गर्न र मत परिणाम प्रभावित गर्न हस्तक्षेपकारी हुन्छ ।

त्यही कारण पाँचदलीय गठबन्धनलाई ब्युँताउनेभन्दा समाजवादी मोर्चाबाट संवाद गर्ने रणनीतिमा तीन दल लागेका हुन् । रणनीति सफल भए प्रस्तावित समाजवादी मोर्चाबाटै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बन्ने अवस्था आउन सक्छ । ‘तीन दलबीच भएको समझदारीलाई कांग्रेसले मान्यो भने पुरानो गठबन्धन ब्युँतिन सक्छ तर कांग्रेसले के गर्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन,’ जसपा प्रवक्ता सुमनले भने । कान्तिपुर दैनिकमा खबर छ ।