NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

‘पाम नट’ भन्दै प्रतिबन्धित सुपारी आयात

‘पाम नट’ उल्लेख गरेर ल्याइएको एउटा कन्टेनर गत महिना नेपालगन्ज भन्सार कार्यालयले शंका लागेपछि नियन्त्रणमा लियो । पामको दानाबाट तेल निकाल्ने उद्योग नेपालमा नभएकाले कार्यालयले नमुना भन्सार विभागमा पठायो । प्रयोगशाला परीक्षणबाट पाम नट भनिएको वस्तु सुपारी देखियो । पाम नट नाम दिएर सुपारी आयात गरेको खुल्यो ।

सरकारले जथाभावी सुपारी आयातलाई प्रतिबन्ध नै लगाएको छ । उद्योगहरूले कच्चा पदार्थका रूपमा मात्र प्रयोग गर्ने गरी वाणिज्य विभागबाट अनुमति लिएर सुपारी आयात गर्न पाउँछन् । तर, पामको तेल निकाल्ने दाना ‘पाम नट’को नाम दिएर प्रतिबन्धित सुपारीको व्यापक तस्करी हुँदै आएको तथ्य खुलेको छ ।

एक वर्षको प्रारम्भिक तथ्यांक हेर्दा ‘पाम नट’को छद्म नाममा एक सय ३५ टनभन्दा बढी परिमाणमा सुपारी आयात भएको छ । यसबाट भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)समेत गर्दा झन्डै पौने तीन करोड राजस्व छली भएको अनुमान गरिएको भन्सार स्रोतले बतायो । यस विषयमा भन्सार विभागले अनुसन्धान थालेको छ । कोटा तोकिएको सुपारी यसरी निर्वाध आयात गर्न पाइँदैन । सरकारले कोभिड– १९ को पहिलो संक्रमण सुरु भएदेखि सुपारी आयातलाई रोकेको थियो । तर, पछि भने परिमाणात्मक बन्देज लगाइयो । पाम नट घोषणा गरेर ल्याइएको वस्तु सुपारी भएको पुष्टि भएपछि विभागले यस सम्बन्धमा छानबिन थालेको छ ।

विभागका अधिकारीहरूका अनुसार यो सुपारी बर्माबाट आयात भएको हो । इन्डोनेसियालगायतबाट पनि सुपारीको अवैध आयात हुने गरेको छ । यसबीचमा पाम नटको नाममा धेरैपटक वस्तु आएको पाएपछि विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक रूपमै हेर्दा पनि एक वर्षयता मात्रै करिब पाँच कन्टेनर पाम नट आयात भएको देखिन्छ । पाम नटकै नाममा तथा अन्य नाममा पनि विगतमा सुपारी तस्करी भएको हुन सक्ने अनुमान छ । एक कन्टेनरमा २७ देखि २८ टन अट्छ । यी सबै एउटै पार्टीले आयात गरेको हुन सक्ने विभाग स्रोत बताउँछ ।

यो तस्करीको विषयमा छानबिनका लागि भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयलाई पत्राचार गरेको छ । विभागले तीन दिनअघि पत्राचार गरेर यस विषयमा बुझेर जवाफ दिन भनेको छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले यस विषयमा छानबिन भइरहेको बताए । ‘यस विषयमा विस्तृत छानबिन गरेर प्रतिवेदन पठाउन नेपालगन्ज कार्यालयलाई पत्राचार भएको छ,’ उनी भन्छन्, ‘छानबिनपछि सबै विषय थाहा होला ।’

करिब पौने तीन करोड राजस्व छली

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको आवश्यकता मूल्यांकन गरेर कोटाका आधारमा मात्र सुपारी आयातको अनुमति दिन्छ । विभिन्न मुलुकबाट अनेक नाममा आयात गरेर सुपारी भारत निकासी गर्ने तस्करी मौलाएपछि सरकारले कोटा तोकेको थियो ।

सुपारी आयात गर्दा प्रतिकिलोमै सय रुपैयाँ भन्सार, सय रुपैयाँ अन्तःशुल्क र त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । जसले गर्दा सुपारी महँगो पर्न जान्छ । सुपारी आयात गर्दा अहिले त्यसको घोषणा गर्ने मूल्य एक सय २० रुपैयाँ छ । त्यसमा सय रुपैयाँ भन्सार, सय रुपैयाँ अन्तःशुल्क जोड्दा तीन सय २० पुग्छ । तीन सय २० मा भ्याट लगाउँदा ४१.६ रुपैयाँ थपिन्छ । भ्याटसहित प्रतिकिलो सुपारी ३६१.६ रुपैयाँ पुग्छ । तर, पाम नट सस्तो छ । पाम नटमा घोषणा गरिएको मूल्यको १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट मात्र लाग्छ । भन्सार स्रोतका अनुसार सुपारीको परिमाण र त्यसमा लाग्ने करको मोटामोटी मूल्यांकन गर्दा पौने तीन करोड राजस्व छली भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।