के हो पाम नट,यसको नाममा किन हुन्छ सुपारी तस्करी ?

पाम नट भनेको पामको तेल निकाल्ने दाना हो । तर, पामको दानाबाट तेल निकाल्ने उद्योग नेपालमा छैन । त्यसैले नेपालमा पान नट ल्याउनुको अर्थ नै छैन । तस्करले पाम नट नाम दिएर सुपारी तस्करी गर्नुको एउटै कारण हो राजस्व छली । पाम नटभन्दा सुपारीको भन्सार शुल्क प्रतिटनमै दुई लाखभन्दा बढी पर्ने भन्सार अधिकारीहरू बताउँछन् । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पामको तेल पनि पर्छ । उक्त तेल नेपालमा पाम नट पेलेर तयार हुँदैन । विदेशबाटै ट्यांकरमा तेल ल्याएर नेपालमा प्याकेटिङलगायतको काम मात्रै हुन्छ ।
एक वर्षको प्रारम्भिक तथ्यांक हेर्दा ‘पाम नट’को छद्म नाममा एक सय ३५ टनभन्दा बढी परिमाणमा सुपारी आयात भएको छ । यसबाट भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)समेत गर्दा झन्डै पौने तीन करोड राजस्व छली भएको अनुमान गरिएको भन्सार स्रोतले बतायो । यस विषयमा भन्सार विभागले अनुसन्धान थालेको छ । कोटा तोकिएको सुपारी यसरी निर्वाध आयात गर्न पाइँदैन । सरकारले कोभिड– १९ को पहिलो संक्रमण सुरु भएदेखि सुपारी आयातलाई रोकेको थियो । तर, पछि भने परिमाणात्मक बन्देज लगाइयो । पाम नट घोषणा गरेर ल्याइएको वस्तु सुपारी भएको पुष्टि भएपछि विभागले यस सम्बन्धमा छानबिन थालेको छ ।
विभागका अधिकारीहरूका अनुसार यो सुपारी बर्माबाट आयात भएको हो । इन्डोनेसियालगायतबाट पनि सुपारीको अवैध आयात हुने गरेको छ । यसबीचमा पाम नटको नाममा धेरैपटक वस्तु आएको पाएपछि विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक रूपमै हेर्दा पनि एक वर्षयता मात्रै करिब पाँच कन्टेनर पाम नट आयात भएको देखिन्छ । पाम नटकै नाममा तथा अन्य नाममा पनि विगतमा सुपारी तस्करी भएको हुन सक्ने अनुमान छ । एक कन्टेनरमा २७ देखि २८ टन अट्छ । यी सबै एउटै पार्टीले आयात गरेको हुन सक्ने विभाग स्रोत बताउँछ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया