५५ महिनामा ११ सय महिलाको हत्या

बर्दियाको ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँकी २४ वर्षीया सन्चुरिया थारू गत १६ फागुनको साँझ पेट दुखेको औषधि लिन निस्किएकी थिइन् । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको मृत शरीर नजिकैको कञ्चनपुर–नेउला सडक किनारमा भेटियो । हत्या भएको आशंकामा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानपछि ठाकुरबाबा– ४ मैनावारका ४५ वर्षीय जन्जिरे थारूलाई पक्राउ गरेको छ । तर, हत्याको कारण भने अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधीरराज शाहीले अनुसन्धान भइरहेको र कारण खुलिनसकेको बताए । ‘घटनाको दिन जन्जिरेले मृतकलाई डेरामा बोलाएको देखिन्छ । यही क्रममा उनको मृत्यु भएको छ । शव व्यवस्थापन जन्जिरेले नै गरेका छन्, तर हत्या गरेको स्विकारेका छैनन् । प्रहरी अनुसन्धानमै छ । केही दिनमै घटनाको तथ्य बाहिर आउला,’ उनले भने ।
गत १८ मंसिरमा काठमाडौं बुद्धनगरकी २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित सुधन संग्रौलाको घरअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाइन् । घाइते उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन् । मानसिक रूपमा विक्षिप्त उनलाई प्रेमी सुधनले पटक–पटक मानसिक यातना दिएका थिए । उनले पुष्पासँगको वैवाहिक ‘इन्गेजमेन्ट’ पनि एकाएक टुटाए । पुष्पा झन् तनावमा आइन् । हारगुहार गर्दै उनी धुम्बाराहीस्थित सुधनको घर पुगिन् । तर, सुधनले थप मानसिक यातना दिए । तनावमा आएकी उनले अन्ततः उनकै घरअगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाइन् ।
गत ७ असोजमा महोत्तरी मटिहानी नगरपालिका– १ सानो धिरापुरकी ४० वर्षीया अमना खातुन काम सकेर घर फर्कंदै थिइन् । भिडभाड नभएको ठाउँमा पुगेपछि गाउँकै २४ वर्षीय मोजाहिर अन्सारीले बाटो छेके र यौन सम्पर्कको प्रस्ताव गरे । खातुनले अस्वीकार गरिन् । तर, अन्सारीले उनलाई जबर्जस्ती समातेर घिसार्दै झाडीमा लगे । शरीरबाट कपडा उतारे । अनि बलात्कार गरे । घटना सार्वजनिक हुने डरले उनले खातुनको घाँटीमा सलको पासो कसे र पेचकसले टाउकोमा प्रहार गरेर खातुनको हत्या गरे । शव लगेर झाडीमा लुकाएर अन्सारी घर लागे ।
खातुनको गाउँमा खोजी हुन थालेपछि अभियुक्त अन्सारी पनि स्थानीयसँगै खोजीमा निस्किए । उनले नै खातुनको शव प्रहरीलाई देखाएर अनुसन्धानमा सघाएको नाटक गरे । जब प्रहरीले उनको शंकास्पद गतिविधिमाथि निगरानी गर्यो, त्यसपछि खातुनको हत्या उनैले गरेको खुल्यो ।
घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका तत्कालीन प्रमुख एसपी कृष्ण पंगेनीले भने, ‘मृतकको श्रीमान् विदेशमा छन् । अभियुक्त गँजडी हुन् । उसले ती महिलालाई पटक–पटक जिस्क्याउने गथ्र्यो । घटनाको दिन महिला खेतबाट घर एक्लै फर्कंदै थिइन् । अभियुक्तले देख्यो र समातेर बलात्करपछि हत्या गरेको देखिन्छ ।’
हत्यासँग सम्बन्धित यी तीनवटै घटना उदाहरण मात्रै हुन् । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५५ महिनामा देशभर एक हजार एक सय ६ महिलाको हत्या गरिएको छन् । त्यसमध्ये एक सय ३४ बालिका छन् । यस अवधिमा सबैभन्दा धेरै मधेस प्रदेशमा दुई सय ४५, कोसीमा दुई सय २९, लुम्बिनीमा दुई सय नौ, बागमतीमा एक सय नौ, गण्डकीमा ९०, सुदूरपश्चिम ८७, उपत्यकामा ६९ र कर्णालीमा ६८ महिलाको हत्या भएको छ । मारिनुका कारण पहिल्याउँदै जाँदा अधिकांश घटना यौन र सोही विषयवरिपरि गएर टुंगिन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया