NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपतिमा रामचन्द्र भारी मतले विजयी : यस्तो छ उनको जीवनी

राजनीतिबाट सन्यास लिन खोजेका पौडेललाई हाइसञ्चो

काठमाडौं । पटक–पटकको असफलताबाट निराश बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जीवनको उत्तरार्धमा देशकै सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी एमालेका उम्मेद्ववार सुवासचन्द्र नेम्वाङलाई भारी मतले पराजित गरेका हुन् ।

५२ हजार ६२८ कुल मतभारमध्ये पौडेलले ३३ हजार ८०२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मत पाएका छन् । पौडेललाई कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी, जपा, नाउपा, लोसपा, राजमो लगायत दलले समर्थन गरेका थिए । पौडेलले संघीय संसद्तर्फ ३१४ सांसदको मत अर्थात् २४ हजार ८०६ मतभार पाए । यसैगरी प्रदेशतर्फ ५१८ सदस्यले मतदान गरेकाेमा  पौडेलले २४ हजार ८६४ मतभार पाए ।

१० पुसमा बनेको एमाले, माओवादी सहितको सातदलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएपछि राष्ट्रपतिमा पौडेलको भाग्यदय भएको हो ।
पौडेल कांग्रेसभित्र निष्ठा, इमान र लोकतन्त्रको वकालत गर्ने नेता मानिन्छन् । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि उनी १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए ।

कांग्रेसभित्र बीपीको आर्दशलाई पछ्याउने नेतामध्ये पौडेल एक मानिन्छन् । झण्डै सात दशक राजनीतिमा सक्रिय रहेका उनी समकालीन नेताहरूमध्ये उमेर र राजनीति दुवै हिसाबले अनुभवी नेता पनि हुन् । कांग्रेसभित्र कोइराला पक्षसँग नजिक रहेर काम गर्दै आएका पौडेल पछिल्लो समय गुटको शिकार बन्न पुगेपछि राजनीतिमाबाट सन्यास लिने अवस्थामा पुगेका थिए ।

मंसिरमा भएको निर्वाचनपछि राष्ट्रपति बन्ने सपना बोकेका उनी देउवा–प्रचण्ड समीकरण भत्किएपछि थप निराश भएका थिए । अन्ततः घुमिफिरी देशको राजनीति पौडेलकै पक्षमा आइपुग्यो ।

फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्यो । त्यसको भोलिपल्ट बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रिपतिको उम्मेदवार बनाउने निर्णय गर्यो । गठबन्धन दलहरूकै समर्थनमा उनी संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । जीवनभर गुटगत राजनीतिले दुब्लाएका उनी अहिले सम्झौताबाट बौरिएका छन् ।

पौडेलको असफलतको श्रृंखला

२०७२ मा सुशील कोइरालाको निधनपछि कार्यबहाक सभापति भएका पौडेल एकपटक कांग्रेसको सभापति बन्ने आकांक्षा राखेका थिए । त्यहि आकांक्षा पुरा गर्न उनले कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिए । यद्यपि उनी पराजित भए । खसेको मतको ५० प्रतिशत दुवै पक्षले प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा पौडेल र देउवाबीच प्रतिस्पर्धा भयो । देउवाले १ हजार ८ सय २२ मत पाएर विजयी हुँदा पौडेलले १ हजार २ सय ९६ मत ल्याए ।

तर, १४औं महाधिवेशनमा आइपुग्दा आन्तरिक परिस्थिति उनलाई पार्टी राजनीतिबाटै अलग गराउने दिशामा अघि बढ्यो । एकपटक भए पनि सभापति बन्ने आकांक्षा बोकेका उनी आफ्नै टीमका नेताले सहयोग नगरेपछि सभापतिको दौडबाट अलग्गिए । पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै उनले विज्ञप्ति प्रकाशित गरेर १४औं महाधिवेशनमा आफूलाई अलग राखेको घोषणा गरे ।

आफ्नै समूहप्रति उनले गहिरो असन्तुष्टि व्यक्त गर्दै भनेका थिए–‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ–याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ ।’

उनको निराशापूर्ण घोषणामा विगतमा पनि कांग्रेसभित्र मूल्यमान्यता र आदर्शको राजनीति गर्ने नेताहरू महाधिवेशनपछि मूलधारको राजनीतिबाट अलग्गिनुपरेको दृष्टान्त झल्किन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, भीमबहादुर तामाङ जस्ता पूर्ववर्तीहरूले भोगेको नियतिमा १४ औं महाधिवेशनबाट पौडेलले भोग्ने धेरैले अनुमान गरेका थिए ।

२०४८ देखि संसदीय राजनीतिमा अपराजित यात्रा तय गरेका पौडेल २०७४ को संघीय प्रतिनिधिसभा सदस्यमा पराजित भए । तत्कालीन वामगठबन्धनसँग एक्लै पतिस्पर्धा गरेका उनले पहिलोपटक प्रतिनिधिसभा सदस्यमा पराजय भोगेका थिए । योपटक वाम–लोकतान्त्रिक गठबन्धनबाट तनहुँ–१ बाट उनी निर्वाचित भए ।

निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफू राष्ट्रपति बन्ने दाउमा थिए उनी । तर प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा देउवा र प्रचण्डबीच विवाद हुँदा गठबन्धन नै भत्कियो । गठबन्धन भत्किएपछि निराश भएका उनी देउवासँग असन्तुष्ट थिए । यद्यपि, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थापेको कांग्रेसले पुरानै गठबन्धन ब्यूँताउन सफल भयो ।

यहि गठबन्धनले उनलाई विजयको शिखरमा पुर्यायो । करिब चार दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटकसम्म पराजय भोगेको तितो अनुभव रहेको छ । यद्यपि, त्यो पराजय भोग्नुमा उनी स्वयम् जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ । २०६७ साउनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिएपछि संघीय संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु भयो ।

प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीन जना उम्मेदवारले हासिल गर्न सकेनन् । तीन उम्मेद्वारबीच सात पटकसम्म प्रतिस्पर्धा भयो । आठौं पटकमा प्रचण्डले उम्मेदवारी फिर्ता लिए । त्यसपछि खनाल र पौडेलबीच १० पटकसम्म प्रतिस्पर्धा भयो । तर आवश्यक बहुमत दुवै उम्मेदवारले पाउन सकेनन् । अन्ततः निर्वाचनसम्बन्धी नियमावली नै संशोधन गरियो । अर्को चरणमा खनालले प्रधानमन्त्रीमा बाजी मारे । पौडेलको प्रतिस्पर्धा खेर गयो ।

प्रधानमन्त्रीमा असहयोग गरेका प्रचण्ड राष्ट्रपतिमा सारथी

०६७ मा प्रधानमन्त्रीको निर्वाचनमा पौडेललाई असफल बनाउन वर्तमान प्रधानमन्त्री प्रचण्ड निकै सक्रिय रहेका थिए । तीनै प्रचण्ड अहिले पौडेललाई राष्ट्रपति बनाउँन दाहीना भए । त्यतिबेला कांग्रेसलाई प्रधानशत्रु करार गरेका प्रचण्डले प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएपछि खनाललाई प्रधानमन्त्री बनाउन ठुलै कसरत गरेका थिए । त्यतिबेला खनाललाई प्रधानमन्त्री बनाउन नहुनेपक्षमा पार्टीभित्रै केपी–माधव समूह उभिएका थिए । अन्ततः प्रचण्डकै पहलकदमीमा खनाल प्रधानमन्त्रीमा निर्वाचित भए ।

६०१ संविधानसभा सदस्य रहेको तत्कालीन संसदमा एमाओवादीसँग २३८ सदस्य थियो । कांग्रेससँग ११५ र एमालेसँग १०८ सदस्य रहेको थियो । बहुमतका लागि ३०१ संख्या आवश्यक पथ्र्यो । अन्य दलसँग १४० मत रहेको थियो । त्यतिबेला निर्णायक शक्ति रहेको माओवादीलाई चुनौती दिन अन्य दलसँग आवश्यक मत थिएन । त्यसैले पहिलो संविधानसभाभर प्रचण्डको दबदबा कायमै रहेको थियो ।

तर २०७२ मा नयाँ संविधान जारी भएपछि एमालेसँग भन्दा कांग्रेससँगको सम्बन्धमा प्रचण्डले ‘कम्र्फटेबल फिल’ गर्दै आएका छन् । त्यसकै कडिको रूपमा पछिल्लो समीकरणलाई लिन सकिन्छ । एमालेकै प्रस्तावमा प्रधानमन्त्री भएपनि तीन महिना नपुग्दै उनले समीकरण भत्काए । मंसिरमा भएको निर्वाचनमा पौडेलको पक्षमा मत माग्न तनहुँ पुगेका प्रचण्डले निर्वाचित गरी पठाए प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । निर्वाचनपछि उनले आश्वासन दिए जस्तै पौडेललाई प्रधानमन्त्री बनाउन भुमिका त खेलेनन् तर राष्ट्रपति बनाउन प्रचण्डको महत्वपूर्ण भूमिका रहेको छ ।

यस्तो छ पौडेलको जीवनी

वि.सं. २००१ साल असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल २०१७ सालमा राजा महेन्द्र ‘कु’पछि राजनीतिमा होमिएका थिए । त्यतिबेला कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाए । कांग्रेस निकट नेविसंघमा सक्रिय रहेका उनी ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल संस्थापक केन्द्रीय सदस्य थिए ।

०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भए । त्यसयता निरन्तर उनी केन्द्रीय राजनीतिमा सक्रिय छन् । ०४८ को निर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । निर्वाचनपछि गिरिजा नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री भए ।
०५१ सालको मध्यावधि चुनावमा तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा उनी सभामुखमा निर्वाचित भए । ०५६ सालमा तनहुँ–२ तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री भए । ०६२ सालमा कांग्रेस महामन्त्री भए । ०६३ सालको अन्तरिम सरकारमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए ।

०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तनहुँ–२ बाट निर्वाचित भए ।
पौडेलले पञ्चायती निरंकुश व्यवस्थाको विरुद्ध संघर्षका क्रममा पटक–पटक गरी १५ वर्ष जेलजीवन बिताएका छन् । नेपाली साहित्यमा विशेष रुचि राख्ने पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् ।

अब उनको काँधमा विगतका राष्ट्रपतिले धुमिल पारेको संस्थाको गरिमालाई बचाउने जिम्मेवारी आएको छ । सात वर्ष राष्ट्रपति भएकी विद्या भण्डारी एमालेभित्र ओली गुटको मात्र राष्ट्रपति भएको आरोप लाग्यो । भण्डारीकै कार्यकालमा संविधानविपरित दुई–दुई पटक प्रतिनिधिसभा विघटन भयो । संसदबाट दुई पटक पारित भएको नागरिकता विधेयक भण्डारीले प्रमाणिकरण नगर्दा निष्क्रिय भयो । जननिर्वाचित राष्ट्रपति भएर पनि महंगी र विलासी जीवानशैली अपनाएको, सवारीमा जनतालाई सास्ती दिएको, सरकार प्रमुखलाई विभेद गरेको आरोप लाग्यो ।

कांग्रेस निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा लामो समय समर्पित भएका पौडेलले पार्टी वा गुटगत राजनीतिबाट प्रभावित नभइ संविधान र कानुनले तोकिएको अधिकार क्षेत्रभित्र बसेर राष्ट्रपतिको भूमिकालाई निष्पक्ष, पारदर्शी बनाउनुपर्नेछ । राष्ट्रपति राष्ट्राध्यक्षसमेत रहने हुँदा देशकै अभिभावक बन्न सक्छ कि सक्दैन भन्नेमा उनको परिक्षण सुरू भएको छ ।