NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

श्री एयरलाइन्सको उडानमा रोक

काठमाडौं । भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणको यो निर्णयले श्रीले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न पाउने छैन । योसँग चारवटा सीआरजे र चारवटा ड्यास क्यू–४०० गरी ८ वटा जहाज छन् । यसले काठमाडौंसहित देशभरका नौंवटा सुगम विमानस्थलबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

यो अवधिमा प्राधिकरणमाहत रहेको फ्लाइट सेफ्टी स्ट्यार्न्डड विभागले उसका सबै विमान उडानयोग्य रहे वा नरहेको प्राविधिक जाँच तथा निरीक्षण गर्ने छ । ‘श्रीका सबै विमानको सुक्ष्म प्राविधिक निरीक्षण हुनेछ । सन्तोषजनक पाइएपछि मात्रै उडानमा फर्काइने छ,’ सहप्रवक्ता भुलले कान्तिपुरसँग भने ।

बिहीबार ७८ जना यात्रु बोकेर भैरहवा जाँदै गरेको श्रीको विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत ककपिटमा देखिएपछि उक्त विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । उक्त विमान काठमाडौंमा अवतरण गराइएपछि प्राविधिकहरुको निगरानीमा राखिएको थियो भने त्यसलाई जाँच गर्ने श्रीका दुई प्राविधिकलाई प्राधिकरणले दिउँसै निलम्बन गरेको थियो ।

बिहीबार बिहान काठमाडौंबाट उडेको केहीबेरमै इन्जिनमा फायर वार्निङ (आगोको संकेत) देखिएपछि चालक दलले ९ नोभेम्बर–अल्फा नोभेम्बर रोमियो विमानको दायाँ इन्जिन बन्द गरेर एउटा इन्जिनकै भरमा आपतकालीन अवतरण गराएका थिए । एसएचए–८२१ उडान नम्बरको विमान काठमाडौंबाट ९:३८ मा भैरहवाका लागि उडेको थियो । उपत्यका छाडेर धार्के आसपासको आकाशमा पुगेलगत्तै दायाँ इन्जिनमा आगोको संकेत देखिएपछि ९:५५ मा काठमाडौं अवतरण गराइएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।