२ वर्षमा तयार हुँदैछ कामपा भवन, तर १० वर्षका लागि ६० लाख मासिक भाडा तिर्ने सम्झौता

काठमाडौं महानगरले टेकुस्थित वातावरण विभागसँगै ७० करोड (भ्याटबाहेक) लागतमा नयाँ भवन बनाउँदै छ । ६ तले उक्त भवन आगामी दुई वर्षभित्र निर्माण भइसक्ने स्टिमेट छ । करोडौँको आफ्नै भवन निर्माण भइरहे पनि ठूलो रकम तिर्ने गरी महानगरले भाडाको भवनमा कार्यालय सार्न लागेको छ । कमलादीस्थित नेपाल ट्रस्टको काठमाडौं प्लाजामा मासिक ६० लाख भाडा तिर्ने गरी फागुनभित्रै सर्न लागेको हो ।
०७२ को भूकम्पयता महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको छ । कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको छ । केही सेवा भने बागदरबारको पुरानै भवनबाट प्रवाह भइरहेको छ । दुई वर्षभित्रै आफ्नै नयाँ भवन बनिसक्ने भए पनि काठमाडौं प्लाजासँग महानगरले १० वर्षका लागि सम्झौता गरेको छ । यसरी ठूलो रकम तिरेर धेरै समयसम्म भाडाको भवनमा सर्दा आर्थिक व्ययभार पर्ने महानगरकै कर्मचारीहरू बताउँछन् । कर्मचारीहरूको सल्लाहअनुसार मेयर बालेन्द्र साहले नेपाल ट्रस्टसँग दुई वर्षका लागि मात्रै सम्झौता गर्न खोजेका पनि थिए । तर, ट्रस्ट दुई वर्षका लागि मात्रै सम्झौता गर्न नमानेको महानगरको भनाइ छ ।
महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भने महानगरको सबै विभाग, शाखा र महाशाखा एकै स्थानमा हुँदा सेवाग्राहीले राहत महसुस गर्ने बताउँछन् । महानगरले अहिले १० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । सो सेवालाई एकीकृत रूपमा प्रवाह गर्न काठमाडौं प्लाजा सर्न लागिएको हो । सहप्रवक्ता अधिकारीले भने, ‘एकै भवनबाट सबै सुविधा प्रवाह गर्न सहज हुने भएकाले सर्न लागिएको हो ।’
सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ । यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न पाउँछ । नेपाल ट्रस्टसँग १० वर्षका लागि भवन भाडामा लिने निर्णय भइसके पनि अन्तिम सम्झौता भने फागुनमै हुनेछ । महानगरले कार्यालयका लागि अवश्यक फर्निचरलगायत सामान खरिद गर्ने योजना तय गरिसकेको छ । यसका लागि दुई करोड खर्च हुने महानगरको अनुमान छ ।
०७२ को भूकम्पले महानगरको कार्यालय रहेको बागदरबार भवनमा क्षति पुर्याएपछि जेडिए कम्प्लेक्समा सारिएको थियो । उक्त भवनको छैटौँ र सातौँ तलामा महानगरपालिकाका कार्यालय छन् । यसबाहेक अन्य नौ स्थानबाट महानगरले सेवा प्रवाह गर्दै आइरहेको छ । महानगरमा विभिन्न १६ वटा विभाग छन् । १६ विभाग १० ठाउँमा छरिएकाले नागरिकलाई सास्ती भएकाले एकीकृत गर्ने तयारी गरेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए ।
टेकुमा निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ०७८ मा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक वीरबहादुर खड्का, उपनिर्देशक सुमन अधिकारी र इन्जिनियर उमेश बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले भ्रष्टाचार ठहर गर्दै पाँचजना कर्मचारीलाई कारबाहीको फैसलासमेत गरिसकेको छ । फैसलापछि भवन निर्माण अघि बढाउन थालिएको महानगरका भौतिक पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया