नदी दोहनले तीन सय घरधुरी काकाकुल

झापा । जिल्लाको दमक नगरपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाले स्थानीय मावा नदीमा ठेक्का लगाएर ढुंगा–बालुवाको दोहन गरेपछि एक करोड १३ लाखमा निर्माण भएको खानेपानी लिफ्टिङ आयोजना उपलब्धिविहीन बनेको छ । ढुंगा–बालुवा दोहनले नदीको सतह गहिरिएपछि खानेपानी आयोजनाको सबवेलमा पानी नचढ्दा इलामको चुलाचुली गाउँपालिका– ५ का तीन सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ ।
इलाम हुँदै झापा र मोरङको सीमा भएर बग्ने मावा नदीमा डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय पाँचथरले ०७५/७६ मा शिखरकटेरी खानेपानी लिफ्टिङ आयोजना सुरु गरेर ०७७/७८ मा निर्माण सकाएको थियो । ०७७ र ७८ को दुई हिउँदमा दुई–तीन महिना मात्रै पानी तानेको लिफ्टिङ आयोजना ती वर्षका बर्खा र त्यसयता प्रयोगविहीन बनेको छ । आयोजना स्थलभन्दा तीन किलोमिटर तल भएको अत्यधिक दोहनले गहिरिएको नदीमा बर्खामा माथिको गिटी–बालुवा सोहोरिएर जाँदा लिफ्टिङको सबवेल क्षेत्रमा नदी भासिएको छ । यसले चुलाचुली– ५ का शिखरकटेरी, फुइँके, इमानेटार र खरायोटारलगायत क्षेत्रमा पानी पठाउन बन्द भएको छ । यो आयोजना हाल डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले हेर्दै आएको छ ।
‘अत्यधिक उत्खननले मावा नदी गहिरिएको छ । सुरुमा सर्भे गर्दा सबै ठीक थियो, तर नदी गहिरिएपछि सबवेलको लेभल र नदीको लेभल मिलेन,’ डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका सबइन्जिनियर ओमनारायण देवले भने, ‘अहिले सबवेलमा पानी आउँदैन । आयोजना अलपत्र पर्नुको कारण नदीजन्य पदार्थको उत्खनन नै हो ।’
नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको कम्पनीले सम्झौताभन्दा धेरै परिमाणमा दोहन गरेर तीन सय घरधुरी काकाकुल नै बन्दासमेत ठेक्का लगाउने दमक नगरपालिका र मिक्लाजुङ गाउँपालिका भने मूकदर्शक बनेका छन् । गत आर्थिक वर्षमा सम्झौताभन्दा दोब्बर नदीजन्य पदार्थ उत्खनन गरेपछि अख्तियारले स्थानीय तहका कर्मचारी र ठेक्का लिने कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दासमेत दायर गरेको छ ।
आयोजनाको दक्षिणी भागमा गरिएको उत्खननले आयोजनालाई असर गर्ने डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका प्रमुख विकास काफ्लेले बताए । ‘खोलाको दक्षिणमा उत्खनन भयो भने जुन लेभलमा पानी चढ्छ भनेर आयोजना निर्माण गरिएको हुन्छ, त्यो लेभल गहिरिन पुग्छ । नदीको लेभल गहिरिँदा पानी लिफ्टिङ हुँदैन,’ उनले भने, ‘शिखरकटेरी खानेपानी लिफ्टिङ आयोजनामा पनि नदीको लेभल डाउन हुँदा लोकेसनबाट पानी पम्पिङ नै हुन सकेको छैन ।’
उनले अब आयोजनालाई पुनः सञ्चालनमा ल्याउन फेरि सर्भेबाटै काम थाल्नुपर्ने बताए । त्यसका लागि चार–पाँच करोड लाग्न सक्ने उनको अनुमान छ । ‘आयोजना पुनः सञ्चालनमा ल्याउन पुनः सर्भेबाटै काम थाल्नुपर्छ । अब सबवेल बनाउँदा बाढीले नहान्ने र नदीको सतह परिवर्तन नहुने गरी बनाउनुपर्छ,’ उनले भने, ‘यसमा चार–पाँच करोड लाग्न सक्ने भएकाले बजेटको स्रोत पहिल्यै सुनिश्चित गर्नुपर्छ ।’
बल्लतल्ल बनेको शिखरकटेरी खानेपानी लिफ्टिङ आयोजनाबाट पानी आउन बन्द भएपछि चुलाचुली– ५ को शिखरकटेरी, फुइँके, इमानेटार र खरायोटारलगायत क्षेत्रका बासिन्दा एक गाग्री पानीका लागि टाढा–टाढा खोलाखोल्सी धाउन बाध्य छन् । घरदेखि एक घन्टाको पैदल दूरीमा रहेको खोल्सीबाट डोकोमा पानी बोकेर गुजारा चलाएको शिखरकटेरीकी रिना राईले बताइन् ।
‘पानी ल्याएर आउन एक घन्टा लाग्छ । खडेरीको समयमा त खोल्सीको पानी सुकेपछि अझ टाढाको रतुवा खोलासम्म पुग्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले बल्लबल्ल पानी दियो भनेर खुसी भएका थियौँ । तर, पानी आउनै सकेन । पानीका लागि भनेर घरको दुई–दुई हजार पनि उठायो । तर, हात्ती आयो, हात्ती आयो फुस्साजस्तै भयो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया