NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

सात वर्षमा हराए ४३ हजार बालबालिका

काठमाडौं । बालबालिका हराउने र नभेटिने तथ्यांक डरलाग्दो छ, जसमा बालिका धेरै छन् । पछिल्लो सात वर्षमा देशभर ६५ हजार ५५४ बालबालिका हराएका छन्, जसमध्ये ४२ हजार ८९२ अझै नभेटिएको प्रहरीको तथ्यांक छ ।

प्रत्येक वर्ष बालबालिका हराउने दर बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२–७३ मा पाँच हजार ९५७ बालबालिका हराएका थिए भने ०७८–७९ मा यो संख्या १४ हजार ९५७ पुग्यो । ०७२–७३ मा हराएकामध्ये एक हजार ४४० बालबालिका मात्रै फेला परे । त्यस्तै ०७८–७९ मा ६ हजार ६५० बालबालिका फेला परेको र आठ हजार ३०७ अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ ।

त्यस्तै, ०७७–७८ मा ९० हजार ३१ बालबालिका हराएका थिए । जसमध्ये चार हजार ८६८ फेला परेको र पाँच हजार ३६३ अझै बेपत्ता छन् । ०७६–७७ मा सात हजार ९०१ बालबालिका हराएकोमा तीन हजार १६५ फेला परेको र चार हजार सात सय ३६ प्रहरीको बेपत्ता सूचीमै छन् । ०७५–७६ मा ११ हजार १५३ बालबालिका हराएका थिए । उनीहरूमध्ये तीन हजार ३०७ फेला परे पनि सात हजार ८४६ अझै बेपत्ता छन् ।

कोसी प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउने गरेका छन् । चालू आर्थिक वर्षको साउनयता मात्रै एक हजार सात सय चार बालबालिका हराएका छन् । उनीहरूमध्ये करिब ७० प्रतिशत बालिका छन् । यही अवधिमा मधेसमा एक हजार ६ सय ८० जना हराएकामा पाँच सय ७४ मात्रै फेला परेका छन् । गण्डकीमा एक हजार ६२ हराएको र सात सय २५ भेटिएको तथा लुम्बिनीमा एक हजार दुई सय ६५ बेपत्ता भएकोमा ६ सय २७ लाई मात्रै प्रहरीले भेट्टाएको छ । त्यस्तै, कर्णालीमा तीन सय ७६ बालबालिका हराउँदा दुई सय र सुदूरपश्चिममा ६ सय दुईजना हराएकामा चार सय २२ बालबालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा ६ सय ६८ बालबालिका हराएका छन् । उनीहरूमध्ये पाँच सय ८० भेटिएका छन् ।

साउनयता मात्रै उपत्यकामा एक हजार चार सय २३ बालबालिका हराएकोमा नौ सय २८ फेला परेका छन् । अन्य बालबालिका बेपत्ता रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले पछिल्लो समय उपत्यकामा बालबालिका हराउने घटना बढेको बताए । ‘धेरैजसो बालबालिकाले पारिवारिक रूपमा हुने कलह र बेमेलका कारण घर छाड्ने गरेका छन्, कतिपय आफूले माग गरेको कुरा नपु¥याएको बहानामा पनि भाग्ने गरेका छन्,’ श्रेष्ठले भने । उनका अनुसार हराउनेमध्ये सबैभन्दा धेरै १०–१२ वर्ष उमेर समूहका छन् । प्रहरी तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक नौदेखि ११ बालबालिका हराउँछन् । उनीहरूमध्ये ६५ देखि ७० प्रतिशत बालिका छन् ।

हराएकामध्ये कतिपय बालबालिका परिवारको सम्पर्कमा आइसकेको प्रहरीको अनुमान छ । त्यसलाई पुष्टि गर्न प्रहरीले आफन्तलाई सम्पर्कसमेत गर्न थालेको छ । सम्पर्कमा आएपनि कतिपय अभिभावकले त्यसबारे प्रहरीमा खबर गर्ने गरेका छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष