NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपति र उपराष्ट्रपतिकाे तलबभत्ता कति छ ? यस्ता छन् सेवा सुविधा

काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति र उपराष्ट्रपतिमा रामचन्द्र पौडेल र रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । २५ फागुनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए भने ३ चैतमा यादव उपराष्ट्रपतिमा निर्वाचित भए । संविधानमा व्यवस्था भए बमोजिम आगामी ५ वर्षका लागि उनीहरूको पद थमौती भएको छ ।

२०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा भएको थियो । मुलुकमा गणतन्त्र घोषणा भएको पनि १५ जेठ, २०८० मा १५ वर्ष पुरा हुँदैछ । ३ असोज, २०७२ मा जारी भएको नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्यो ।

१० वर्ष लामो माओवादी सशस्त्र युद्ध व्यवस्थापन गर्न तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे सहमति भयो । त्यसकै जगमा २०६२/०६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रमा जान मार्गप्रसस्त गरेको थियो ।
राजतन्त्र ढलेपछि संविधान बमोजिम संघीय गणतन्त्र नेपालको सर्वोच्च पदमा एक राष्ट्रपति र एक उपराष्ट्रपतिको व्यवस्था गरिएको छ । संघीय गणतन्त्रले डेढ दशक पार गर्दै गर्दा आस्थिर राजनीति, मंहगी, भ्रष्टाचार, शासक वर्गको विलासी जीवनशैलीका कारण व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको छ ।

गणतन्त्र स्थापना भएको १५ वर्षमा मुलुकले तीन जना राष्ट्रपति र तीन जना उपराष्ट्रपति पाइसकेका छन् ।
अहिलेसम्म राष्ट्रपतिमा डा. रामबरण यादव, विद्यादेवी भण्डारी र पौडेल निर्वाचित भइसकेका छन् । उपराष्ट्रपतिमा परमानन्द झा, नन्दबहादुर पुन र यादव रहेका छन् । देशकै सर्वोच्च पदमा पुग्न सफल भएका उनीहरू आ–आफ्ना राजनीति पृष्ठभूमि र लामो अनुभवबाट खारिएका व्यक्तित्व हुन् ।

तर गणतन्त्रको सर्वोच्च संस्थाको प्रतिकका रूपमा रहेका राष्ट्रपति र उपराष्ट्रपतिले पदीय मर्यादा, आचरण र व्यवहार नगर्दा व्यवस्था परिवर्तन भएको छोटो समयमै चौतर्फी आलोचनाको शिकार भएका छन् । संविधान अनुसार राष्ट्रप्रमुखकोसमेत जिम्मेवारी दिएको राष्ट्रपतिलाई पदीय जिम्मेवारी बहन गर्न भ्याइनभ्याइ छ । उपराष्ट्रपति जिम्मेवारी नपाएर मासिक तलभत्ता बुझ्नेमात्र काम गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभत्ता र व्यवस्थापनमा राज्यको धेरै लगानी भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको तलब सुविधा कति छ ?

बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधानसम्बन्धी ऐन, २०७४ ले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने व्यवस्था गरेको छ । सोही ऐनको दफा १८ को अनुसूची–१ मा राष्ट्रपति र उपराष्ट्रपतिले पाउने पारिश्रमिक र पोशाक भत्ताको व्यवस्था छ । जसअनुसार राष्ट्रपतिले प्रतिमहिना रु. एक लाख ५० हजार ४५० पारिश्रमिक रहेको छ । त्यस्तै उपराष्ट्रपतिको पारिश्रमिक एक लाख ८ हजार ३० रहेको छ । यसैगरी पोशाक सुविधातर्फ राष्ट्रपतिलाई वार्षिक २५ हजार र उपराष्ट्रपतिलाई २० हजार छुट्याइएको छ ।

अनुसूची–२ मा राष्ट्रपति र उपराष्ट्रपतिले विदेश भ्रमण बापत पाउने दैनिक भत्ताको व्यवस्था गरेको छ । त्यसअन्तगर्त स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार ३०० भत्ता पाउने छन् । विदेश भ्रमण गर्दा दैनिक २५० अमेरिकी डलर पाउने व्यवस्था छ । राष्ट्रप्रमुख र उपप्रमुखको बीमा २५ लाख गरिएको छ ।

यूरोपियन मुलुकहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङ्गकङ्ग, रुस, कतार, जाम्बिया, यू. ए. ई., सिङ्गापुर, लेवनान, बहराइनको भ्रमणमा उल्लिखित दरमा ३३ प्रतिशत थप रकम दिइनेछ ।

अनुसूची–३ मा राष्ट्रपति र उपराष्ट्रपतिले तोकिएको निजी सचिवालय राख्न पाउने व्यवस्था गरिएको छ । जसमा स्वकीय प्रमुख सचिव एक÷एक जना, सहस्वकीय सचिव राष्ट्रपतिले एक जना, उपस्वकीय सचिव राष्ट्रपतिले २ र उपराष्ट्रपतिले एक जना राख्न पाउने व्यवस्था छ । यसैगरी स्वकीय अधिकृत राष्ट्रपतिले ४, उपराष्ट्रपतिले २, कम्प्युटर सहायक, फोटोग्राफर, प्रेस संयोजक एक/एक जना राख्न पाउने छन् । त्यस्तै सवारी चालक र कार्यलय सहयोगी राष्ट्रपतिले चार/चार र उपराष्ट्रपतिले तीन/तीन जना राख्ने पाउनेछन् ।

दफा १३ मा विज्ञसम्बन्धी व्यवस्था गरेको छ । जससमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन बढीमा क्रमशः ७ र ५ जना विज्ञ नियुक्त गर्न सक्नेछन् । उनीहरूको पारिश्रमिक सरकारले तोके बमोजिम हुनेछ ।

दफा १० मा चाडपर्व खर्चसम्बन्धी व्यवस्था गरिएको छ । यस दफामा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो धर्म, संस्कृति र चाडपर्व मनाउन एक महिना बराबरको तलब उपलब्ध गराउने उल्लेख छ ।

दफा ९ मा उपचार खर्चको व्यवस्था गरिएको छ । उपदफा १ मा राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ ।

उपदफा २ मा राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउने उल्लेख छ ।

दफा ७ मा अतिथि सत्कार र भैपरी आउने खर्च को व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई एक महिना बराबरको अतिथि सत्कार र भैपरी खर्चको व्यवस्था गरिएको छ भने दफा ८ मा राष्ट्रपति र उपराष्ट्रपतिले निजी चिकित्सक राख्न पाउने व्यवस्था छ ।

त्यस्तै दफा ५ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई सञ्चार सुविधा अन्तगर्त टेलिफोन, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सुविधाको व्यवस्था सरकारले मिलाउने उल्लेख छ । दफा ४ मा सवारी र इन्धन सुविधाको व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको लागि नेपाल सरकारले सवारी साधन उपलब्ध गराउनेछ । दफा (२) उपदफा (१) बमोजिम उपलब्ध गराइएको सवारी साधनलाई आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।

दफा ३ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई आवास सुविधाको व्यवस्था गरेको छ । जसमा राष्ट्रपति र उपराष्ट्रपतिको आवासको लागि नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिनेछ उल्लेख छ । घरको मर्मत र सम्भार, घरको लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारबाट हुने उल्लेख छ ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई यस्तो सुविधा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको तथा निवर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको ऐनमा केही उल्लेख छैन । दफा २ मा पदबाट निवृत्त भएमा निजलाई एक महिनाको पारिश्रमिक बराबरको थप सुविधान दिइने उल्लेख छ । प्रथम राष्ट्रपति डा. रामबरण यादवको हकमा मन्त्रिपरिषदले निर्णय गरेर मासिक ५० हजार पारिश्रमिक र घर भाडा तथा थप सेवासुविधा बापत मासिक २ लाख दिने व्यवस्था गरेको छ ।

उनले इन्धन बापत मासिक २ लिटर तेल सरकारले उपलब्ध गराउँदै आएको छ । उपराष्ट्रपतिको हकमा कुनै निर्णय नभएको गृहमन्त्रालयका प्रवक्ता जितेन्त्र बस्नेतले बताए । बस्नेतका अनुसार निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको हकमा बुढानिलकण्ठस्थित निजी निवास मर्मत भइरहेको छ । थपा सेवासुविधाका लागि मन्त्रिपरिषदले निर्णय बाँकी रहेको छ ।