NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तीन निर्वाचन क्षेत्रमा चुनाव गराउन लागेको आयोगले मनाङमा किन मिति घोषणा गरेन ?

काठमाडौं । वैशाख १० मा हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवाहरूले सोमबार उम्मेदवारी मनोनय दर्ता गराएका छन् । विभिन्न कारणले रिक्त रहको निर्वाचन क्षेत्र तनहुँ–१, चितवन–२ र बारा–२ मा कांग्रेस, एमाले, रास्वपासहित स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गराएका हुन् ।

तर आयोगले रिक्त रहेको निर्वाचन क्षेत्र मनाङमा निर्वाचनसम्बन्धी कुनै पनि कार्यतालिका प्रकाशित गरेको छैन । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइ मनाङका निर्वाचित सांसद टेकबहादुर गुरुङ पदमुक्त भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दामा १६ फागुनमा सुनुवाइ गर्दै विशेष अदालतले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट विजयी भएका थिए । विशेष अदालतको फैसलाविरुद्ध गुरुङ सर्वोच्च अदालत जाने तयारी भएकाले उक्त क्षेत्रमा निर्वाचन कार्यतालिका नबनाएको आयोगका सहप्रवक्त सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

‘विशेष अदालतको फैसलाविरूद्ध पुनरावलोकनका लागि उहाँ सर्वोच्च अदालतमा जाने तयारीमा हुनुहुन्छ । त्यही भएर निर्वाचन कार्यतालिका प्रकाशित नगरेको हो । सर्वोच्चको फैसला कस्तो आउँछ त्यसअनुसार आयोगले निर्णय गर्छ’, उनले भने ।

तनहुँ–१ का निर्वाचित सांसद रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त रहेको हो । चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहराएपछि पदमुक्त भएका थिए । यसैगरी बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो ।

मनोनयन दर्तासँग उम्मेदवारहरू आ–आफ्ना क्षेत्रमा मतदातासँग मत माग्न व्यस्त छन् । निर्वाचनमा भाग लिन गठबन्धनबाट तनहुँ–१ मा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, चितवन–२ मा जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादव चुनावी मौदानमा उत्रिएका छन् ।

त्यस्तै विपक्षी एमालेबाट तनहुँ–१ प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल, चितवन–२ मा अध्यक्ष रामप्रसाद न्यौपाने र बारा–२ मा पूर्वमन्त्री पुरुषोत्तम पौडेल उठेका छन् । रास्वपाबाट तनहुँ–१ मा चर्चित अर्थशास्त्री स्वर्णिम वाग्ले, चितवन–२ बाट सभापति रवि लामिछाने र बारा–२ बाट प्रहरीका पूर्वडिआजी रमेश खरेल उठेका छन् । मुख्य दलले उठाएका उम्मेदवार हेर्दा उपनिर्वाचनले मंसिरमा भएको निर्वाचनको झझल्को मेटाउने देखिन्छ ।

निर्वाचन आयोगले बुधबार मनोनयन दर्ता गरेका उम्मेदवारविरूद्ध परेका उजुरी उपर छानविन गरी निर्णय लिने र उम्मेदवारको नामावली प्रकाशित गर्ने तयारी गरेको छ । बिहीबार उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।