नासुको सरुवा रोक्न मन्त्रीको मोबाइल बजेको बज्यै

काठमाडौँ — ‘हेलो, ए ! त्यो सरुवा… १० वर्षसम्म एकै ठाउँमा बसेको कर्मचारीलाई अन्यत्र सरुवा गर्दा त जानुपर्यो नि । म त त्यो सरुवा ‘क्यान्सिल’ गर्न सक्दिनँ । …होइन, हुँदैन, म गर्नै सक्दिनँ । एउटै मान्छे लामो समय एउटै ठाउँमा बसेर फेरि अन्यत्र जान नमान्ने के कारण हो ?’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उनकै कुर्सीमा बसेर बिहीबार गरेको टेलिफोन संवादको अंश हो यो । सहरी विकास मन्त्रालयका एक नायब सुब्बाको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गरिएको सरुवा रोक्न कुनै नेताले गरेको फोनको जवाफ फर्काउँदै मोदीले थपे, ‘त्यो सरुवा रोक्न म सक्दै सक्दिनँ ।’
संघीय मन्त्रालयले सहरीका नायब सुब्बा युवराज गिरीलाई सरुवा गरेको साताभन्दा बढी समय बिते पनि उनले रमाना बुझ्न मानेका छैनन् । मोदी मन्त्री भएको तीन महिना नाघेको छ । उनले पदभार ग्रहण गर्ने क्रममा वर्षौंदेखि सिंहदरबार नछाडेका कर्मचारीलाई स्थानीय तहमा पठाउने घोषणा गरेका थिए । तर सिंहदरबारमा कति कर्मचारी छन् भन्ने सूचीसमेत उनले पाउन सकेका छैनन् भने १० वर्षदेखि एउटै कार्यालयमा बसेका नासुको सरुवाको निर्णय कार्यान्वयन गर्न नसक्ने अवस्थामा छन् । पदभार गरेलगत्तै कर्मचारीको विवरण पाउन आफ्नै मन्त्रालयका सचिवलगायतका कर्मचारीलाई पटक–पटक अनुरोध गरे पनि उनले पाएका छैनन् । ‘मैले धेरै पटक विवरण मागें तर पाएको छैन,’ मन्त्री मोदीले भने, ‘सरुवा गरेका कर्मचारी जान मान्दैनन्, स्थानीय तहमा गएकाहरूलाई हाजिर नगरी फर्काइन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया