NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ब्राजिलका राष्ट्रपति लुलाको चीन भ्रमण, युक्रेन विवादबारे पनि छलफल हुने

एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा भेटवार्ता गर्ने भएका छन् ।

७७ वर्षीय वामपन्थी नेता लुलाले आफ्ना अति दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा गुमेको केही समयपछि भूराजनीतिक मञ्चमा ब्राजिलको भूमिका पुनः प्राप्त गर्ने आशा गरेका छन् ।

विश्वको दोस्रो अर्थतन्त्र र एशियाली शक्ति राष्ट्रको मार्च २५ देखि ३० सम्म भ्रमण गर्ने तय भए पनि स्वास्थ्यका कारण भ्रमणलाई स्थगित गर्नुपरेको थियो । राष्ट्रपति लुला मङ्गलबार चीन पुग्नेछन् भने शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसैबीच युक्रेनका विदेशमन्त्री माउरो भिएराले लुलाको भ्रमणबारे प्रतिक्रिया दिँदै भनेका छन, ‘उनीहरूले युक्रेनमा जारी युद्धका बारेमा कुरा गर्नेछन् र लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनुहुनेछ ।’

‘लुला स्वदेश फर्कने बेलासम्ममा मध्यस्थकर्ता राष्ट्रहरूको एउटा समूह तयार भइसकेको हुनेछ,’ भिएराले भने । यसअघि दुई पटक ब्राजिलको राष्ट्रपति भइसकेका लुला इरान र अमेरिकाबीचको आणविक वार्ताका क्रममा सन् २०१० मा समाप्त भएको आफ्नो दोस्रो कार्यकालमा जस्तै दक्षिण अमेरिकी महाशक्तिलाई मध्यस्थकर्ताका रुपमा प्रस्तुत गर्न इच्छुक छन् ।

तर गत वर्ष युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनजत्तिकै युद्धका लागि ‘जिम्मेवार’ रहेको दाबी गरेपछि उनको कुटनीतिक भूमिकाको अवसर पछि परेको थियो । उनले युक्रेनको प्रतिरक्षामा सहयोग गर्न पश्चिमा राष्ट्रसँग मिलेर हतियार पठाउन पनि अस्वीकार गरेका छन् ।

बिहीबार लुलाले ‘पुटिनले युक्रेनी भूभाग राख्न सक्दैनन्’ भने पनि जेलेन्स्कीले ‘सबै कुरा नचाहने’ पनि बताएका थिए । सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियामा कीएभले आफ्नो दाबी त्याग्न पनि उनले सुझाव दिएका थिए । लुलाको यस भनाइबारे युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले ट्वीटरमा भनेका छन्, ‘युक्रेनले आफ्नो एक सेन्टिमिटर भूमि पनि त्याग्नुपर्ने कुनै कानुनी, राजनीतिक वा नैतिक कारण छैन ।’

उनले भने, ‘शान्ति बहालीका लागि कुनै पनि मध्यस्थता प्रयास सार्वभौमिकताको सम्मान र संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार युक्रेनको क्षेत्रीय अखण्डताको पूर्ण बहालीमा आधारित हुनुपर्दछ ।’