NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

वृहत वामपन्थी एकता : एकीकृत समाजवादीमा भाँडभैलो, माओवादीमा अलमल

काठमाडौं । वृहत्त वामपन्थी एकता र सामाजवादी गठबन्धन बनाउने योजना अलपत्र परेको छ । माओवादी जनयुद्ध दिवसको अवसरमा पूर्वमाओवादी घटकबीच पार्टी एकता हुने दाबी गरेको माओवादी केन्द्रले तत्काल वृहत्त वामपन्थी एकताको सम्भावना नभएको स्वीकारेको छ ।

यद्यपि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकताको प्रयास भइरहेको माओवादी वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले दाबी गरे ।

माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरेको थियो । तर उक्त प्रस्ताव अनुमोदनका लागि प्रचण्डले अहिलेसम्म केन्द्रीय समिति बैठक बोलाएका छैनन् । पार्टी एकताका लागि एकीकृत समाजवादीसहित विभिन्न वाम घटकसँग तीन चरणमा वार्ता भएपनि प्रगति नभएको पोखरेलले बताए ।

‘पार्टी एकताका लागि हामीले एकीकृत समाजवादी, नेसपा, नेकपा माओवादी समाजवादी लगयात माओवादी घटकसँग वार्ता गरेका थियौं । बाबुराम नेतृत्वको नेसपासँग बाहेक अन्य दलसँग तत्काल पार्टी एकताको सम्भावना देखिएको छैन । यद्यपी प्रयास जारी छ’, उनले भने ।

वृहत्त वामपन्थी एकता तत्काल सम्भव नभएपनि समाजवादी गठबन्धन बनाउन वाम घटकहरू सकारात्मक रहेको पोखरेलले बताए ।
बृहत् वाम एकताका लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा १३ पुसमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेकपा(एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा, बाबुराम नेतृत्वको नेपाल समाजवादी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी घटकबीच पार्टी एकताका लागि पहल भएकाे थियाे ।

पोखरेलका अनुसार विप्लवसँग प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड आफै निरन्तर सम्पर्कमा रहेका छन् । वार्ता टोलिका संयोजक कृष्णबहादुर महराले पनि विप्लव, नेकपा एसका वार्ता टोली, नेकपा(माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्य, नेकपा(माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढा लगायतसँग छलफल गरेका थिए ।

छलफलको क्रममा वामपन्थी घटकबीच एकता भएपछि बनेको पार्टीको नाम नेकपा(समाजवादी) रहने सहमति नजिक रहेको पोखरेलले दाबी गरेका थिए । संगठनात्कम स्वरूप, कार्यदिशा र सिद्धान्तको विषयमा सहमत हुन बाँकी रहेको पोखरेलले बताएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि वामपन्थीबीच एकता छिट्टै हुने दाबी गरेका थिए ।

२८ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वृहत्त वामपन्थी एकताका लागि छलफल भइरहेको भन्दै त्यसले छिट्टै मूर्त रूप लिने उनले जिकिर गरेका थिए ।

‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ र त्यसले आम माओवादी नेता कार्यकर्ता र जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित र संगठित हुने वातावरण बन्नेछ’, त्यतिबेला उनले भनेका थिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन भएलगत्तै माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकताका लागि कार्यदल गठन गरेका थिए । नेकपा एसबाट महासचिव डा. वेदुराम भुसालको नेतृत्वमा, उपमहासचिव द्वय प्रकाश ज्वाला र डा.गंगालाल तुलाधर रहेको तीन सदस्य कार्यदल गठन भएको थियो ।

एकीकृत समाजवादीमा भाँडभैलो

प्रतिनिधिसभा निर्वाचनअघि नै माओवादीसँग पार्टी एकता गर्न तयार भएको एकीकृत सामजवादी आन्तरिक विवादका कारण रोकिएको थियो । निर्वाचनपछि दुई पार्टीबीच शीर्ष तह र वार्ता टोलीबीच दस्तावेज आदानप्रदान भएको थियो । तर त्यसले सुखद परिणाम दिन सकेन । स्थानीय तहको निर्वाचनसहित तीनै तहको निर्वाचनमा माओवादीसँग सहकार्य गरेको नेकपा एस पछिल्लो समय विघटको दिशातर्फ उन्मुख भएको छ । नेतृत्वको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पार्टी परित्याग गरे । उनीहरूले अध्यक्ष माधव नेपाललाई पिँध नभएको बाल्टिनको संज्ञा दिएका थिए ।

‘जति पटक बाल्टिन इनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ। आज नेकपा एकीकत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटीका कतिपय कार्यकर्ताको हालत यस्तै छ । सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरेपनि नभरिने’, नेता मुकुन्दको आरोप थियो ।

एकीकृत समाजवादीबाट ठूलो संख्यामा नेता तथा कार्यकताहरू बाहिरिने न्यौपानेले दाबी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्डसमेत कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ जम्मा १० सिट जितेको थियो । एकीकृत समाजवादीमा बसेर कुनै भविष्य नभएको भन्दै ठूलो संख्यामा नेता तथा कार्यकर्ताल पार्टी परित्याग गर्न थालेपछि अध्यक्ष नेपाल यतिबेला तनावमा छन् । असन्तुष्ट नेताहरूको व्यवस्थापन गर्नसमेत उनी असफल भएका छन् । एमालेमा १५ वर्ष महासचिव चलाएका नेपाल पार्टी विभाजनपछि राष्ट्रिय राजनीतिमा उनी निकै कमजोर देखिएका छन् ।

उनीमाथि एमालेलाई समाप्त पारेर दक्षिणपन्थी कांग्रेसलाई शक्तिशाली बनाउन लागेको आरोप लागेको छ । प्रचण्ड सरकारमा दुई मन्त्रालय पाएको उसले उपाध्यक्ष डा. बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालाई सरकारमा पठाएको छ । मन्त्री बन्न धेरैले आंकाक्षा राखेपछि चक्रिय प्रणाली अनुसार सबैलाई मन्त्री बनाउने नेपालले आश्वासन दिएर विवादलाई थामथुम पार्ने प्रयास गरेपछि समस्या समाधान भएको छैन । पार्टी विभाजनका लागि बलियो साथ दिएकी सचिव रामकुमारी झाँक्री लगायत पदाधीकारीका नेताहरूसँग नै नेपालको बोलचाल बन्द भएको छ ।

पूर्वमाओवादी घटकको आ–आफ्नै तयारी

द्वन्द्वकालीन विषयलाई लिएर माओवादीका अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि एकजुट भएका पूर्वमाओवादी घटकहरू आ–आफ्नै तयारीमा जुटेका छन् । नेकपाका महासचिव विप्लवले बुढा नेृत्वको नेकपा (माओवादी समाजवादी)सँग पार्टी एकता गर्ने तयारी गरेका छन् ।

वैद्य नेतृत्वको नेकपा(माओवादी क्रान्तिकारी) र विप्लव माओवादीबाट अलग भएका नेकपा बहुमतबीच पार्टी एकता भएको छ । नेकपा वैज्ञानिक समाजवादी लगायत साना घटकहरूसमेत तत्काल माओवादीसँग पार्टी एकता गर्ने पक्षमा देखिँदैनन् ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्यान र द्वन्द्वकालीन मुद्दामा एकजुट भएर जान माओवादी घटक ८ दल सहमत भएका थिए । २३ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी बैठकमा सहभागी थिए ।