NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

पशुपतिबाट भेटीको घ्याम्पै गायब

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गत फागुन पहिलो साता भएको महाशिवरात्रि मेलाको ठेक्का लगाउँदा हिनामिना गरेको छ । ७ देखि १३ फागुनसम्म अर्थात् सात दिन मेला चलाउन कोषले एमएमबिकेएल इभेन्टस् एन्ड बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेको थियो । तर, कोषका पदाधिकारीको मिलेमतोमा थप सात दिन (२० फागुनसम्म) मेला चलाएर २० लाख ५० हजार राजस्व गुमेको सरकारी छानबिन समितिको निष्कर्ष छ ।

पर्यटन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीको संयोजकत्वमा उपसचिव अर्जुन राई र पुरातत्व अधिकृत जयन्ती श्रेष्ठ सम्मिलित छानबिन समितिले सर्तविपरीत दोब्बर समय मेला चलाएर राजस्व अपचलन गरेको निष्कर्षसहित थप छानबिन गरी कारबाही सिफारिस गरेको हो । राजस्व अपचलन घटनाबारे थप छानबिन गरी आवश्यक कारबाहीका लागि पर्यटनले छानबिन प्रतिवेदनसहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । अब अख्तियारले यस विषयमा छानबिन अघि बढाउनेछ ।

शिवरात्रिमा पशुपति मन्दिर परिसरमा राखिएको भेटीको घ्याम्पो नै गायब पारिएको छ । भेटीको घ्याम्पो गायब पारिएको घटना सार्वजनिक भएपछि कोषले नै टोली गठन गरेर छानबिन गरेको थियो  । पर्यटन मन्त्रालयले यस विषयमा थप छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय गरेको छ ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति र भक्तजनको घुइँचो हुने पशुपति मन्दिर परिसरबाट घ्याम्पो हराएको विषय आफैँमा आश्चर्यजनक रहेको मन्त्रालय बताउँछ । मन्त्रालयका अनुसार सिसिटिभीको तार काटेर घ्याम्पो गायब गरिएको थियो । जसका कारण सिसिटिभी रेकर्डसमेत हेर्न नमिलेको मन्त्रालय बताउँछ । अझ अचम्म त हराएको केही घन्टामै घ्याम्पो यथास्थानमा भेटिएको थियो । घ्याम्पोमा कति भेटी रकम थियो भन्नेचाहिँ यकिन छैन । सुरक्षासँग जोडिएको विषय भएका कारण छानबिन र कारबाहीका लागि पर्यटन मन्त्रालयले गृहमार्फत प्रहरीलाई पत्राचार गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।