NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते
सम्बन्ध

दीपक दाइले त्यो बानीचाहिँ छाडिदिए हुन्थ्योजस्तो लाग्छ : केदार घिमिरे

काठमाडौं ।  दीपकराज गिरी र केदार घिमिरे उर्फ माग्ने बुढा । दुवै यो समयका चर्चित हास्यकलाकार ।

एक समय यस्तो थियो, यी दुई एक अर्कासँग प्रतिस्पर्धामा थिए । ‘त्यसले भन्दा मैले कसरी राम्रो गर्ने’ भन्नेतिर यिनको ध्यान हुन्थ्यो । एक अर्काका प्रतिस्पर्धी यी दुई कलाकार केही वर्षदेखि भने सहकार्यमा छन् । ६ एकान ६ बाट सुरु यी दुईको कार्यगत एकता अद्यपि जारी छ । जारी मात्रै होइन, जमिरहेको छ ।

दीपक, माग्ने बुढा सम्मिलित टिमले राम्रो फिल्म दिइरहे पनि उनीहरूको सम्बन्धले भने बेलाबेला चर्चा पाउँछ । दीपकराज गिरीको जन्मदिनको शुभकामना दिँदै माग्ने बुढाले उनीसँगको सम्बन्ध तथा सबल, दुर्बल पाटोबारे चर्चा गरेका छन् ।

घिमिरेका अनुसार, गिरी र उनको पहिलो भेटघाट तीतो सत्य सुरु हुने चर्चा चल्दै गर्दा भएको थियो । तीतो सत्यमा अभिनय गर्न अन्तरर्वार्ता दिए पनि छनोट नभएको तर पछि अवसर पाएको उनको भनाइ छ ।

तीतो सत्य कुनै समयको चर्चित टेलिभिजन हास्य श्रृंखला हो । पछि यो नेपाल टेलिभिजनबाट प्रसारण हुँदाहुँदै दीपक, दीपाको टिमले यसलाई बन्द गरिदियो ।

तीतो सत्यमा ६ एपिसोड राम्रो रोल पाएका घिमिरे पछि मेरी बास्सैमा जोडिए । त्यसपछि भने आफूहरूको सम्बन्धमा दूरी आएको र शीतयुद्ध नै चलेको घिमिरे बताउँछन् ।

पछि दीपकले ६ एकान ६ फिल्म बनाए । यो फिल्म निर्माणमा दीपकको पहिलो डेब्यू थियो । त्यसमा अधिकांश हास्य कलाकार जोडिएका थिए । त्यसपछि भने आफूहरूको सम्बन्ध सङ्लिएको घिमिरे सम्झिन्छन् ।

६ एकान ६ पछि केदार र दीपक साथसाथ छन् । वडा नंम्बर ६ हुँदै छक्का पञ्जा १ देखि ४ सम्म उनीहरूसँगसँगै छन् । यो क्रममा यी दुईबीच दरार आएको चर्चा हुने गर्थे । घिमिरे त्यो स्वीकार गर्छन् ।

यात्राको बीचमा विभिन्न उतार चढाव आउँदा साथीले त अलग हुने सुझाव नै दिएका थिए । तर साथ छाड्न उनको मनले मानेन ।

किन त ?

‘दुःखको बेला साथ छाड्ने साथी नहुने सम्झेर,’ उनी भन्छन् ।

दीपकराज गिरी आफ्ना कतिपय आनीबानीका कारण आलोचित भइरहेका हुन्छन् । यही आनीबानीका कारण उनका कतिपय सहयात्रीले साथ छाडेका छन् । घिमिरेको नजरमा भने उनका सबल पाटो धेरै र दुर्बल कम छन् ।

‘सर्वगुण सम्पन्न त भगवान् पनि हुनुहुन्न, दीपक दाइका पनि केही बैगुन होलान्, तर गुनका तुलनामा बैगुन न्यून होलान,’ घिमिरे भन्छन् ।

दीपकराजको क्षमताको पनि उनले प्रशंसा गरे । एकपछिको सफल फिल्म दिनुले दीपकराजको क्षमता प्रष्ट पारेको उनको भनाइ छ ।

दीपकराजसँगको सम्बन्ध, स्वभावबारे उनले आफ्नै शब्दमा यसरी खलाएका छन्  

रेडियोमा काम गर्दा भनौं वा अभिनय सिक्दै गर्दा ‘तितोसत्य’ सुरु हुने कुरा भइरहेको थियो । दीपक दाइसँगको त्यो पहिलो भेटमा मैले अन्तर्वार्ता पनि दिएँ । तीतो सत्यमा अभिनय गर्न पाइन्छ कि भनेर अनुरोध पनि गरेँ । सुरुमा पाइएन । तर पछि ६ एपिसोड जतिमा ट्याक्सी ड्राइभरको राम्रै रोल पाएँ । अन्य फाट्ट फुट्ट सानातिना रोल पनि खेल्न पाएँ ।

मेरी बास्सै सुरु भएपछि भने एक अर्काको प्रतिस्पर्धीजस्तो भइयो । केही खटपटजस्तो , केही शीतत युद्धजस्तो पनि भयो । कालान्तरमा दीपक दाइकै डिजाइनमा हाँस्यव्यंग्य कलाकारहरूको जमघटसहित “छ एकान छ” बन्यो । केही साथीहरू घटबढ हुँदै हामि वडा नम्बर छ, छक्का पन्जा १ , छक्का पन्जा २, छक्का पन्जा ३ , छ माया छपक्कै र छक्का पन्जा ४ सम्म आइपुग्यौ । करिब नब्बे प्रतिशत चलचित्र फ्लप हुने चलचित्र उद्योगमा हाम्रा सबै चलचित्र सफल बनाएर पार लगाउनुबाट नै दीपक दाइको खुबी प्रष्ट हुन्छ ।

शास्त्रमा भनिएको छ– छोरो भीमसेनजस्तो नजन्मियोस ।” भीमसेनजस्तो बलियो छोरो जन्मियो भने त्यसले छिमेकीको बच्चा कुट्ने सम्भावना हुन्छ । त्यसबाट पनि बाउआमालाई गाली आउला भन्ने डर हुन्छ । कि धेरै बलियो देखेपछि १२ भाइ मिलेर घेरा हालेर कुट्लान र मर्ला भन्ने डर । सायद त्यसैले होला फलेको रुखमा झटारो बर्सिरहेको हुन्छ, कहिलेकाँही फाट्ट फुट्ट मतिर पनि झटारोका कणहरू आइपुगेका हुन्छन् । सर्वगुण सम्पन्न त भगवान पनि हुनुहुन्न, दीपक दाइका पनि केही बैगुन होलान् । तर गुनका तुलनामा बैगुन न्यून होलान् ।

यात्राका बीचमा विभिन्न उतार चढाव आउँदा धेरै साथीहरूले टिम छोड्न सल्लाह पनि दिनुभएको थियो । मैले फेरि शास्त्र सम्झेँ– दुःखमा छोडेर जाने साथी हुनै सक्दैन । फलस्वरूप यस वर्षको छक्का पन्जा पनि सफल भयो र दर्शकले थाप्लोमा हात राखेर आशीर्वाद दिनुभयो ।

अध्यात्मिक हुँदाहुँदै पनि चित्त नबुझेको कुरामा ‘कुम ठोक्काउन गइहाल्ने” एउटा नराम्रो बानी पनि छ दीपक दाइमा । त्यो बानी छोडे हुन्थ्योजस्तो लाग्छ ।

दीपक दाइ अहिले मेरो घरकै दाइजस्तो, गुरुजस्तो, साथीजस्तो, अभिभावकजस्तो पनि हुनुहुन्छ ।