NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एउटै नासुविरुद्ध सातौँ मुद्दा

काठमाडौं ।जग्गा किनबेचको राजस्व हिनामिना गरेको अभियोगमा अख्तियारले २८ चैतमा मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा र तत्कालीन नासु मदनप्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । आफ्नो कार्यकालमा राजस्वबापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भ अनुगमन नगरी आर्थिक वर्ष ०७२/७३ मा ९३ लाख ६६ हजारको राजस्व हिनामिनामा संलग्न भएको आरोप उनीमाथि छ ।

राजस्व हिनामिनाका प्रतिवादी मदनप्रसाद गुप्तालाई प्रोत्साहन गरी राजस्व दाखिला नगराएको आरोपमा उनीमाथि सोही अंकको बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो । यस्तै प्रकृतिको अभियोगमा अर्का तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्मालाई एक लाख ४१ हजार आठ सय २५ रुपैयाँ बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ ।

जग्गा कारोबारबापत उठेको राजस्व दाखिला नगरी आव ०७२/७३ मा संकलितमध्ये ९५ लाख आठ हजार हिनामिना गरेको आरोपमा आयोगले कार्यालयका तत्कालीन नासु मदनप्रसाद गुप्तालाई हिनामिना गरेकै अंकको बिगो कायम गरी प्रतिवादी बनाएको छ । अख्तियारले उनीविरुद्ध यसअघि नै ६ वटा मुद्दा दायर गरिसकेको छ । एउटै व्यक्तिविरुद्ध पटक–पटक गरी सात मुद्दा दायर हुने सम्भवतः उनी पहिलो कर्मचारी हुन् । जग्गाको राजस्व हिनामिनामा ०७६ देखि अख्तियारले उनीविरुद्ध पटक–पटक मुद्दा दायर गरेको छ । तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरी पनि ९५ लाख नै बिगो कायम गरेर मुद्दामा प्रतिवादी बनाइएको छ ।

अनावश्यक सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २२ चैतमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो । एक लाख ९९ हजार आठ सय ९७ रुपैयाँको सफ्टवेयर खरिद गरेर प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि–नोक्सानी गरेको आरोप अख्तियारको छ । उनीहरूलाई सोहीबराबरको बिगो कायम गरेर मुद्दा दायर गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।