NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्मचारीले गरेनन् आफ्नै काम, ताकेता गर्दागर्दै किताबखाना हैरान

काठमाडौं । सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीले देश र जनताको सेवा गर्ने सपथ लिएका हुन्छन् । यी काम गर्न कर्मचारीमा इमान, जमानका अतिरिक्त जाँगर पनि चाहिन्छ । सेवा प्रवेश गर्न दिनरात नभनी रटान लिएर अध्ययन गर्ने कर्मचारी सेवा प्रवेशपछि कतिसम्म अल्छी बनेका छन् भने आफ्नो व्यक्तिगत विवरणसमेत समयमा अद्यावधिक गर्ने गरेका छैनन् ।

निजामती कर्मचारीहरूको सम्पूर्ण विवरण संकलन गरेर राख्ने अख्तियारी पाएको निजामती किताबखानाले नयाँ प्रणाली विकास गर्दै सिटरोल दर्ता, पिआइएस अद्यावधिक कर्मचारी स्वयंले आर्थिक वर्ष सुरु भएलगत्तै गर्नुपर्ने व्यवस्था गरेको छ । तर कतिपय कर्मचारीले आर्थिक वर्षको तेस्रो त्रैमास सकिँदासम्म आफ्नो वैयक्तिक विवरण अद्यावधिक गराएका छैनन् ।

निजामती किताबखानाका अनुसार, २२ हजार ६०० जनाले चालु आर्थिक वर्षको हालसम्म पनि आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न अल्छी गरेका छन् । हाल निजामती सेवामा कार्यरत कर्मचारीको संख्या ८६ हजार २५७ छ ।

किताबखाना निजामतीका महानिर्देशक डा. टोकराज पाण्डे छुटेका विवरणहरू अपडेट गराउन कर्मचारी आफैंले जाँगर नचलाएको स्वीकार गर्छन् । यही कारण विवरण अद्यावधिक गर्न ढिलाइ भइरहेको उनले बताए ।

‘कर्मचारीसँग सम्बन्धित जस्तै तालिम, शैक्षिक योग्यतालगायतका विवरण यहाँ अपडेट गराउनुपर्छ,’ उनले भने, ‘तर गर्नुपर्नेले समयमा विवरण उपलब्ध नगराउँदा ढिलो हुन्छ ।’

कर्मचारीले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न जाँगर नचलाएपछि बाध्यात्मक बनाउन एकपटक त सिटरोल दर्ता नगराउने र पिआइएस अद्यावधिक नगराउनेको तलब रोक्ने निर्णय गरिएको थियो । यद्यपि, यसले पनि समस्या समाधान हुन सकेको छैन ।

यसअघि किताबखानाले सचिव र सहसचिवको विवरण नभएको भन्दै अद्यावधिक गर्न सूचना जारी गरेको थियो । अहिले भने उपसचिवस्तरका कर्मचारीहरूको विवरण अद्यावधिक गर्ने काम भइरहेको किताबखानाले जनाएको छ ।

कर्मचारी उदासीनताको कारण

कर्मचारीको सरुवा बढुवा, शैक्षिक विवरणलगायतका सूचना हुने विवरणलाई महत्त्वपूर्ण अद्यावधिक गर्न कर्मचारीले उदासीनता देखाउनुमा उनीहरू सम्बद्ध संस्थाको पनि उत्तिकै कमजोरी रहेको जानकारहरू औंल्याउँछन् ।

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली विवरण अद्यावधिक समयमा नहुनुमा दुई कारणलाई जिम्मेवार ठान्छन् । उनको बुझाइमा पहिलो सम्बन्धित कार्यालय सिधै पिआइएससँग नजोडिनु हो । अर्कोचाहिँ कर्मचारी आफैंले विवरण बुझाउन अल्छी गर्नु हो ।

‘सम्बन्धित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखासँग जोडिनुपर्छ । यस्तो भयो भने पिआइएस अपडेट स्वतः हुन्छ,’ उनले भने, ‘तर हाम्रोमा यस्तो अवस्था छैन ।’

मैनालीले औंल्याएजस्तै अवस्था कायम हुँदा किताबखाना आफैंले ‘हार्ड कपी’ संकलन गरेरै विवरण राख्ने काम गरिरहेको छ । एउटै संस्थाले प्रहरी, शिक्षक र कर्मचारी सबैको विवरण राख्नुपर्ने दबाबसँगै उक्त संस्था आफैंमा पनि ‘मोटिभेटेड’ कर्मचारी नहुँदा यस्तो काममा समस्या भएको उनले बताए ।

अर्कोतर्फ किताबखानाले पटक–पटक सूचना जारी गर्दा पनि कर्मचारी आफैंले विवरण दिन अल्छी गर्ने गरेको उनको स्वीकारोक्ति छ ।

महानिर्देशक डा. पाण्डे कर्मचारीको सरुवा, बढुवा गराउने कार्यालयहरूको पनि यसमा दोष रहेको ठान्छन् । ‘सरुवा गराउने निकायले पनि समयमा विवरण नपठाउनु अर्को समस्या हो,’ उनले भने ।

यो अवस्था सुधारका लागि किताबखाना एक्लैको प्रयास नपुग्ने भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए ।