NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

सीमामा एकैपटक १८ बिओपी थप्दै सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बलले भारतसँगको सीमामा एकैपटक १८ वटा बोर्डर आउटर पोस्ट (बिओपी) थप्न लागेको छ । सीमा सुरक्षा सुदृढीकरण र राजस्व चुहावट नियन्त्रणका लागि बिओपी थप्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हालकै स्रोत–साधन र जनशक्तिबाट व्यवस्थापन गरी बिओपी थप्न लागिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । आगामी साताभित्र १८ वटै बिओपी उद्घाटन गर्न लागिएको छ । यससँगै सीमामा बिओपीको संख्या दुई सय ४६ पुग्नेछ ।

दार्चुलाको सुनसेरा तथा बर्दिया, दाङ, बारा, सुनसरी र झापामा नयाँ बिओपी थप्न लागिएको हो । सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील क्षेत्रमा बिओपी थप्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ । गृह मन्त्रालयबाट बिओपी स्थापनाको निर्णय भइसकेपछि पहाडी जिल्लामा कार्यरत जनशक्तिलाई बिओपीमा खटाउन लागिएको हो ।

‘सीमा सुरक्षाको डेडिकेटेड फोर्स भएकाले सीमामा बिओपी थप्दै लैजाने संगठनको योजना छ,’ सशस्त्र प्रवक्ता खड्का भन्छन्, ‘त्यसअन्तर्गत पूर्वाधार भएका ठाउँमा १८ बिओपी तत्काल, अरू क्रमशः स्थापना गर्न लागिएको हो ।’

सरकारले चालू आर्थिक वर्ष एक सय २० वटा बिओपी स्थापना गर्ने नीति तथा कार्यक्रममा राखे पनि त्यसका लागि बजेट नदिएपछि विस्तार अवरुद्ध हुन पुगेको थियो । बिओपी थपका लागि सशस्त्र प्रहरीले चार हजार दुई सय दरबन्दी थपको प्रस्ताव गरेको थियो । बजेट अभाव देखाउँदै सरकारले दरबन्दी थप नगरेपछि सशस्त्र प्रहरीले पहाडी जिल्लाका जनशक्तिलाई तराईमा खटाउन थालेको छ ।

करिब ३६ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी ७७ जिल्लामै फैलिएको छ । विपत्, विशिष्ट व्यक्तिको सुरक्षादेखि सीमा सुरक्षासम्मको जिम्मेवारी हुँदा दरबन्दी अपुग भएको छ । जसअनुसार अहिले नै बिओपीमा दरबन्दीअनुसार कर्मचारी न्यून छन् । बिओपीमा ३५ जना हुनुपर्नेमा अधिकांशमा न्यून हुँदा सीमा क्षेत्रमा योजनाअनुसार ड्युटी हुन नसकेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् ।

उच्च तहमा केही दरबन्दी थपिए पनि सशस्त्र प्रहरी बलमा ०७० देखि ठूलो संख्यामा दरबन्दी थप हुन सकेको छैन । वृत्ति विकास योजनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अघि बढाइएको छ । साथै, वृत्ति विकाससम्बन्ध नीतिगत सुधारका लागि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बृहत् छलफल अघि बढाएका छन् ।

दरबन्दी थप नगरे पनि सरकारले सीमामा बिओपीको कार्यालय तथा ब्यारेक बनाउन एक अर्ब ७५ करोड रुपैयाँ बजेटको सुनिश्चितता भने दिएको छ । जसअनुसार एक सय एक बिओपीको भवन बन्नेछन् । हाल अधिकांश बिओपी अरूको घर तथा टहरामा रहँदै आएका छन् ।

पछिल्लो केही महिनायता राजस्व ह्वात्तै घटेपछि सीमामा अझै कडाइ गर्नुपर्ने दबाब सुरक्षा निकायमाथि छ । त्यसका लागि सशस्त्रले ४५ बिओपीमा डिएसपी खटाएको छ भने ६–६ महिनामा ज्येष्ठताका आधारमा बिओपी इन्चार्जको हेरफेर गरी राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन खोजेको छ । यसले सीमा क्षेत्रमा हुने राजस्व चुहावटमा सुधार आएको तथा सीमा सुरक्षा पनि बलियो हुँदै गएको सशस्त्र प्रहरीको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष