NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विदेशी नाम राख्न कामपाका विद्यालयलाई निषेध, इन्टरनेशनल लेख्न एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) क्षेत्रका विद्यालयले नेपालीपन झल्कने गरी नाम राख्नुपर्ने भएको छ । त्यसैगरी, पब्लिक, नेशनल, इन्टरनेशनलजस्ता शब्द नाममा प्रयोग गर्न पनि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने भएको छ ।

आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनका लागि कामपाले काठमाडौं विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ व्यवस्था गरेको छ ।नियमावली जारीपछि कामपाले सोको पालना गर्न निर्देशन दिएको थियो । कतिपय विद्यालयले त्यसको पालना नगरेपछि मेयर बालेनले पुनः नियमावलीको व्यवस्था स्मरण गराएका हुन् । कामपाले नियमावलीको नियम ६९, ७० तथा  ७० को उपनियम १ र २ कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्दै अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नियमावलीमा गरिएको व्यवस्थाअनुसार  समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी  महानगरपालिकाभित्रका विद्यालयको नामाकरण गर्न स्मरण गराएका छन् ।

कतिपय विद्यालयले यो नियम प्रारम्भ हुनुअगावै नाम राखेका छन् । मेयर शाहका अनुसार त्यस्ता विद्यालयले यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनःनामाकरण गर्न सक्छन् । तर त्यसका लागि महानगरपालिकाबाट स्वीकृति भने लिनुपर्नेछ ।

काठमाडौं महानगरपालिकाभित्र पब्लिक, नेशनल, इन्टरनेशनल नाम जोडिएका विद्यालय पनि उत्तिकै छन् । तर त्यसमध्ये कतिपयले नियमावलीका प्रावधानको पालना गरेका छैनन् ।  मेयर शाहका अनुसार, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा चाहेमा सक्नेछन् तर कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ ।

विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्ने नियमसमेत महानगरपालिकाले बनाएको छ ।  तर यो उपनियम लागू हुनु अगाबै यस नियमविपरीतका शव्दहरू जोडेर नामाकरण भैसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्ने बालेनले जनाएका छन् ।

महानगरपालिकाको विद्यालयको चिह्न पनि अब षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ ।

महानगरपालिकाले यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्डअनुरूप रहन आग्रह गरेको छ । अन्यथा कानूनबमोजिम कारबाही गर्ने महानगरपालिकाको चेतावनी छ ।