NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एसिसी प्रिमियर कप फाइनल : आज पनि वर्षा भए के हुन्छ ?

काठमाडौं ।एसिसी प्रिमियर कपको फाइनल खेल मंगलबार ‘रिजर्भ डे’मा हुने भएको छ । घरेलु टोली नेपाल र युएईले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । तर, पहिलो ब्याटिङको क्रममा इनिङ्सको २७.३ ओभरपछि खेल रोकियो । वर्षाका कारण खेल अगाडि बढाउन नसकिएपछि फिल्ड अम्पायर विनोद बाबु र राहत अलीले दिउँसो ३ बजेपछि नेपाल र युएईबीचको फाइनल खेल रिजर्भ डेमा गर्ने निर्णय गरे । खेल रोकिँदा टस हारी पहिलो ब्याटिङ गरेको युएईले आज १०६–९ को स्थितिबाट बिहान ९ बजे खेल सुरु गर्नेछ ।

इनिङ्सको १६औँ ओभर चलिरहँदा पहिलोपटक वर्षाले खेल रोकियो । यसवेला युएई ६०–६ को कमजोर अवस्थामा थियो । निरन्तर वर्षा भइरहँदा प्राविधिकहरूले आउटफिल्ड र मुख्य पिचलाई त्रिपालले ढाकेका थिए । दोस्रोपटकको भारी वर्षाले खेल रोकिँदा हजारौँ दर्शक निराश हुँदै घर फर्किए । एसियन क्रिकेट परिषद् (एसिसी)ले फाइनल खेलमा पनि वर्षा हुने भएपछि ‘रिजर्भ डे’ (रोकिएको खेल अर्काे दिन हुने) नियम बनाएको छ । यसअघि दुई सेमिफाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले प्रभावित भएका थिए ।

आज पनि वर्षा भए के हुन्छ ?

युएईको पूरा इनिङ्सपछि नेपालले लक्ष्य पछ्याउनेछ । मंगलबारसमेत वर्षा हुने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएको खण्डमा एसिसीले विजेता टोली घोषणा गर्न विभिन्न नियम बनाएको छ । रिजर्भ डेमा पनि वर्षा हुँदा खेलको छिनोफानो सुपर ओभरबाट हुन सक्छ । डिएलएस प्रणालीबाट नतिजा निकाल्न दोस्रो इनिङ्सको खेल २० ओभर पूरा हुनुपर्छ । यो अवस्थामा दोस्रो ब्याटिङ गरेको टोलीले नयाँ लक्ष्य प्राप्त गर्नेछ । दोस्रो ओभरको खेल २० ओभर नहुँदा खेलको नतिजा सुपर ओभरबाट हुने प्रावधान रहेको छ ।

सुपर ओभरसमेत खेल खेलाउन नसक्ने अवस्था भए ‘नो रिजल्ट’का आधारमा विजेता घोषणा हुनेछ । फाइनलको नो रिजल्टमा एकदिवसीय वरीयताका आधारमा विजेता घोषणा हुनेछ । नेपाल र युएईले आइसिसीको एकदिवसीय वरीयता प्राप्त गरेका छन् । यस्तो समीकरणमा नेपाल आइसिसीको एकदिवसीय वरीयतामा युएईभन्दा माथि रहेकाले सीधै एसिया कप खेल्नेछ । नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा रहेका छन् । एसिसी प्रिमियर कपको विजेताले सेप्टेम्बरमा हुने एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । नेपाल र युएईको लक्ष्य नै एसिया कप खेल्ने हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष