फिनल्यान्डमा ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई सजाय

काठमाडौं । फिनल्यान्डमा ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई स्थानीय अदालतले सजाय सुनाएको छ । राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँमा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र निरन्तर मानव तस्करी गरेको पुष्टि भएपछि स्थानीय जिल्ला अदालतले रेस्टुराँका नेपाली मालिकलाई क्षतिपूर्ति भराउनेसहितको सजाय सुनाएको हो ।
फिनल्यान्डमा नेपाली रेस्टुराँ प्रवर्द्धनसहित गैरआवासीय नेपाली संघको संस्थापकको हैसियतमा रहेका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मन्जु शर्मालाई विपक्षी बनाएर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा शुक्रबार आएको फैसलामा दुवै पीडित कामदारका पक्षमा फैसला सुनाएको हो । दोलखा, मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले दायर गरेको मुद्दामा अदालतले थापाका पक्षमा झन्डै २ करोड ४० लाख रुपैयाँ र खरेलका पक्षमा झन्डै १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने आदेश दिएको हो ।
रेस्टुराँ हिमालयका सञ्चालक दम्पतीद्वयलाई एक वर्ष ८ महिना जेल सजायको निर्णयसमेत अदालतले सुनाएको छ । तर, जेल सजायको हकमा भने ‘कन्डिसनल’ (ऐच्छिक)भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेरिकन र ठगी तथा मानव तस्करीका अरु प्रकरण बाहिर नआएको खण्डमा भने यो सजायमा ‘पुनर्विचार’ हुन सक्ने भनिएको छ ।
सन् ९० को दशकमा फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरुवात गर्दै तथा गुल्मी, अघाँखाँची, बागलुङ, पाल्पासहितबाट आफन्तजनलाई ल्याएर रेस्टुराँका काममा लगाउँदै आएका देवीदत्त शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएका थिए ।
गैरआवासीय नेपाली संघ, फिनल्यान्डका पूर्वअध्यक्ष शेखर आचार्यका अनुसार, फिनल्याण्डमा ५० भन्दा बढी नेपाली रेस्टुराँ रहेका छन् । औपचारिक तथ्यांकमा फिनल्यान्डमा ३५ सय नेपाली रहेको भनिए पनि यो संख्या ५ हजारसम्म रहेको हुन सक्ने देखिएको छ । फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामला डेनमार्कस्थित नेपाली दूतावासले हेर्दै आएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया