NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अब विश्वले हेर्नेछ नेपालको खेल

नेपालले एसिसी प्रिमियर कप जितेको छ । मंगलबार सम्पन्न फाइनलमा युएईलाई सात विकेटले हराउँदै राष्ट्रिय टोलीले ट्रफी उचालेको हो । यससँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । क्रिकेटका शक्तिराष्ट्रविरुद्धको खेल विश्वले हेर्नेछ ।

२१ वर्षअघि पनि नेपाल एसिया कपमा छनोट भएको थियो । तर, भारत र पाकिस्तानबीचको कारगिल युद्धका कारण प्रतियोगिता नै नभएपछि नेपालले क्रिकेटका शक्ति टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन । दुई दशकपछि पुनः एसिया कपको बाटो तय गरेको नेपाल पाकिस्तान र भारत रहेको समूह ‘ए’मा परेको छ । यद्यपि, भारत र पाकिस्तानका आ–आफ्ना अडानका कारण यसपटक पनि एसिया कप हुने/नहुने अन्योल छ ।

नेपाली कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताए । ‘हामीले सानैदेखि भारत र पाकिस्तानको खेल हेर्दै आएका छौँ, अब उनीहरूकै स्तरमा खेल्न ठूलो अवसर आएको छ,’ उनले भने, ‘एसिया कपमा छनोट भएपछि अब नेपालको क्रिकेट सबैले चिन्नेछ, एसिया कपमा हाम्रो प्रदर्शन विश्वले हेर्नेछ ।’

नेपालको अर्को फड्को

पछिल्ला दुई महिनामा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा फड्को नै मारेको छ । गत फागुनमा नेपाल जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुगेको थियो । यसका साथै आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थानमा रहँदै नेपालले चार वर्षका लागि एकविदसीय मान्यता जोगायो । ०८० वर्षको सुरुमै एसिया कपमा स्थान बनाएको छ ।

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को सदस्य बनेको नेपालले सोही वर्ष नै एसिसी ट्रफी खेल्यो । यसपछि नेपालले आइसिसीले आयोजना गरेको ठूलो प्रतियोगितामध्ये एक टी–२० फरम्याटको विश्वकप हो । सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा नेपालले स्थान बनाएको थियो । जहाँ नेपालले तत्काल हङकङ र अफगानिस्तानलाई हराएको थियो ।

सन् २०१० विश्व क्रिकेट डिभिजन ५, सन् २०१२ डिभिजन ४, सन् २०१२ एसिसी ट्रफी, सन् २०१३ मा विश्व डिभिजन ३ मा नेपालले उपाधि हात पार्‍यो । सन् २०१८ मा नेपालले पहिलोपटक एकविदसीय मान्यता प्राप्त गर्‍यो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष