NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

हिरासतमा अभियुक्त भेटेर खाणलाई नपोल्न आग्रह गरेका पूर्वसांसद शेर्पा फरार

काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

बुधबार खाण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएका हुन् । उनको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको स्रोतको भनाइ छ । यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको छ ।

चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ । उनको नाममा अदालतबाट पक्राउ पुर्जी भने जारी भइसकेको छैन ।

उच्चपदस्थमाथि प्रहरी छानबिन केन्द्रित भएलगत्तै शेर्पालाई योजनाबद्ध रूपमै भूमिगत बनाइएको स्रोत बताउँछ । रामेछापका कांग्रेस नेता शेर्पा ०७० मा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिए । उनी ठेकेदार पनि हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।