ठगीमा मुछिएका, तर पर्याप्त प्रमाण नभेटिएका थप उच्चपदस्थमाथि ‘दोस्रो चरण’मा अनुसन्धान

काठमाडौं ।भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै गरिएको ठगी धन्दाको अनुसन्धान अन्तिम चरणमा पुग्दा प्रहरी दबाबमा परेको छ । यो प्रकरणमा मुछिएका थप उच्चपदस्थ व्यक्तिहरूमाथि प्रहरीले सोधपुछसमेत गर्न सकेको छैन ।
ठगीमा मुछिएका, तर मुद्दा चलाउने पर्याप्त प्रमाण नभेटिएका उच्चपदस्थमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने भन्दै अहिले अनुसन्धानबाटै बाहिर राख्न लागिएको स्रोतको भनाइ छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नै उनीहरूको कागज गर्न आवश्यक नभएको मौखिक राय प्रहरीलाई दिएको छ ।
‘यो चरणमा प्रहरी अनुसन्धान लगभग सकिएको छ, छानबिनको दायरामा तानिएर पनि पर्याप्त प्रमाण नभएकाको हकमा अब अर्को चरणमा अनुसन्धान हुने सम्भावना छ,’ अनुसन्धानमा आबद्ध जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने, ‘पछि दबाब आएन भने थप व्यक्तिमाथि पूरक अभियोजन दर्ता हुन्छ ।’
मुद्दा चलाउने पर्याप्त प्रमाण नभएका व्यक्तिहरूको पनि कागज गर्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । अहिले अनुसन्धानबाट बाहिरै राखिएकाहरूको कागजसमेत नगर्दा मुद्दा कमजोर हुने उनीहरूको भनाइ छ । ‘अपराधमा प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध देखिएका सबै पक्षको कागज गर्नु अनुसन्धानको सामान्य सिद्धान्त हो, त्यो नगर्दा मुद्दा कमजोर हुन सक्छ,’ एक प्रहरी अधिकारीले भने, ‘तर, सोधपुछका लागि बोलाउँदा हंगामा हुने अवस्था छ । विभिन्न निकायबाट त्यतातिर जानुभएन भन्ने कुरा आइरहेको छ ।’
ठूला दलका प्रभावशाली नेताहरू जोडिएको मुद्दा भएकाले यसको अनुसन्धानमा विभिन्न निकायबाट प्रहरीमाथि दबाब छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, कांग्रेस सांसदद्वय आरजु देउवा र मञ्जु खाणलगायतले पनि आफूहरूलाई सघाएको पक्राउ परेका केही बिचौलियाले बयानमा बताएका छन् । तर, उनीहरूको संलग्नताको बलियो प्रमाण प्रहरीले अहिलेसम्म जुटाउन सकेको छैन । बलियो प्रमाण जुट्न नसकेका, तर निर्दोष पनि भन्न नसकिने व्यक्तिहरूलाई अनुसन्धान अधिकृतले सामान्यतया कागज गर्ने गरेका हुन्छन् ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने यो मुद्दामा जोडिएका थप व्यक्तिमाथि सोधपुछ गर्ने–नगर्ने विषयमा प्रहरीसँग छलफल नभएको र सोधपुछ गर्न नपर्ने भनेर आफूले कुनै राय पनि नदिएको बताए । ‘अनुसन्धान प्रतिवेदन आएपछि मात्र निर्देशन दिने हो,’ उनले भने, ‘अहिले कसलाई कागज गर्ने–नगर्ने अनुसन्धान अधिकृतको अधिकारको कुरा हो । मैले केही निर्देशन दिएको छैन । यद्यपि, अहिले प्रमाण जुट्न नसकेकाको हकमा भने पछि पूरक अभियोजन लैजान सकिन्छ ।’
प्रहरीले आइतबारभित्र रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । सरकारी वकिल कार्यालयले भने सकेसम्म शुक्रबारभित्र बुझाउन भनेको छ । पक्राउ परेका १६ जनामध्ये १४ जनाको बयान सकिएकाले प्रहरीले प्रतिवेदनलेखन अघि बढाइसकेको छ । समय कम हुँदा कतिपय व्यक्तिमाथिका अनुसन्धान अधुरै रहने जोखिम देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया