NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २१ गते
विचार

गाउँघर विरानो, पराइको आँगन प्यारो

छिल्लो दशक नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइ गर्नेको दर ह्वात्तै बढेको छ । विशेष गरी ०५० सालदेखि यो क्रम बढेको देखिन्छ । ७० को दशकको अन्त्यसम्म आइपुग्दा आफ्नो पुर्ख्यौली थातथलो गाउँ छाडेर तराई क्षेत्रका विभिन्न भू–भागमा बसाइँ सर्नेको दर वृद्धि हुँदै गएको छ । प्रारम्भिक सुख, सुविधाले आकर्षित भएका उनीहरू थोरै जग्गा लिएर भए पनि ती ठाउँमा आधुनिक घर बनाउने र जीवन निर्वाह गर्नेक्रम रोकिएको छैन ।

२०७८ को जनगणनाअनुसार पछिल्लो पटक बसाइँ सरेको अवधिको आधारमा हेर्दा बसाइँ सरेका कुल जनसंख्यामध्ये सबैभन्दा बढी ३१.८ प्रतिशत व्यक्तिहरूको पछिल्लो पटक बसाइँ सरेको अवधि १० देखि २४ वर्ष भएको देखिएको छ । लैंगिक हिसावले सबैभन्दा बढी महिला ३३.३ प्रतिशत र २९.१ प्रतिशत पुरुष रहेका छन् । नेपालको आन्तरिक बसाइँसराइको मुख्य कारण विवाहलाई देखाएको छ । तीबाहेक हाल बसोबास गरेको स्थानमा आउनुका अन्य कारण काम र रोजगारी, व्यापार व्यवसाय, अध्ययन तालिम, आश्रित, प्राकृतिक प्रकोप, कृषि आदि रहेका छन् ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सयबीचको अनुपातमा युवाहरू रोजगारी तथा शिक्षाका लागि विभिन्न देशमा बाहिरिएका छन् । उच्च शिक्षा हासिल गरिसकेपछि नेपाल फर्किएर कुन तहको शैक्षिक गुणस्तर सुधार्ने ? दक्ष जनशक्तिबाट कुन क्षेत्रमा कति सिप भित्रियो भन्ने कुराको कुनै लेखाजोखा छैन । विदेशी भूमिमा जाने नागरिकका व्यक्तिगत सुरक्षा, उनीहरूका परिवारका सामाजिक सुरक्षाको विषयमा व्यापक बहस र छलफल भएको देखिँदैन 

यसरी एकातिर जनसंख्यामा कमी र अर्कोतिर अत्यधिक वृद्धिले शहरमा जनघनत्त्व बढ्नुको साथै व्यापार व्यवसाय बढ्नुपर्ने हो । विडम्बना विश्वव्यापी आर्थिक मन्दी, लगानीमैत्री वातावरण नहुँदा शहरका धेरैजसो व्यावसायिक प्रयोजनका लागि बनाइएका सटरहरू खाली हुँदै गएका छन् । हजारौं युवा बेरोजगार छन् । पछिल्लो समय युवा पुस्ता शहरमा भन्दा पनि विदेश मोह बढ्दै गएको छ । विदेशमा आकर्षित हुनुमा उच्च शिक्षा र वैदेशिक रोजगारी मुख्य देखिएका छन् । तर कुन देशमा कति नागरिक गएका छन्, त्यसको यकिन तथ्याङ्क सरकारी निकायसँग छैन । विदेशिएका युवाहरूले पठाएको विप्रेषणबाट नेपालको अर्थतन्त्रमा ३३ प्रतिशतले योगदान दिएको छ । विप्रेषणसमेत पछिल्लो समय घट्दै गएको देखिन्छ । वैदेशिक रकम र सहयोगबाट कति दिन देश चल्न सक्छ ?  प्रश्न उठ्न थालेको छ ।

वैदेशिक रोजगारीमा जाने मात्र हैन, आन्तरिक बसाइँसराइ दर बढ्नु जायज छ वा छैन भन्ने कोणबाट पनि अध्ययन, अनुसन्धान र बहस भएको छैन ।  अन्यन्त्र बसोबास गर्न जाँदा त्यहाँका चुनौतीको विषयमा हुने कुनै चासो दिएको छैन । बसाइँसराइ वास्तवमा नयाँ अवसरको खोजी हो । त्यसका लागि व्यवस्थित,  वैज्ञानिक बस्ती विकास, दिगो पूर्वाधार विकासमा ध्यान दिन सकियो भने भविष्यमा नकारात्मक कुराहरू झेल्नु पर्ने छैन ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सयबीचको अनुपातमा युवाहरू रोजगारी तथा शिक्षाका लागि विभिन्न देश गइरहेका छन् । उच्च शिक्षा हासिल गरिसकेपछि नेपाल फर्किएर कुन तहको शैक्षिक गुणस्तर सुधार्ने ? दक्ष जनशक्तिबाट कुन क्षेत्रमा कति सिप भित्रियो भन्ने कुराको कुनै लेखाजोखा छैन । विदेशी भूमिमा जाने नागरिकका व्यक्तिगत सुरक्षा, उनीहरूका परिवारका सामाजिक सुरक्षाको विषयमा व्यापक बहस र छलफल अपरिहार्य थियो तर भएको छैन ।

रोजगारी र शिक्षाका लागि युवाहरू विदेश गएका धेरै वर्ष भयो तर उनीहरूले पठाएका बिप्रेशणलाई सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको छैन ।

बिदेशिएका लाखौं युवा जनशक्तिलाई स्वदेश फर्कांउने, सिप र स्रोतको समयोचित व्यवस्थापन गर्ने विषयमा सरकारले चासो दिएको देखिँदैन । चुनावी घोषणापत्रमा सबै राजनीतिक दलहरूले विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्कांउने नीति लिए पनि नीतिअनुसारको कार्यक्रम ल्याउन सकेका छैन । सरकारको जोडबल अझै पनि युवाहरूलाई विदेश पठाउने र बिप्रेषण भित्र्याउने छ ।

श्रम बेचेर आएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुभन्दा पनि सरकारले प्रशासनिक खर्चमा सिमित गरेको छ ।

सरकारको यस्ता खालको युवा जनशक्तिलाई देशमै केही गरौंभन्दा पनि विदेश जान बाध्य पारिएको छ । प्लस टु पास गरेका सय जना विद्यार्थीमध्ये करिब ९५ जनाको रोजाई विदेश रहेको छ । आफ्नो पुर्खा हुर्केको ठाउँमा बालबलिका हुर्कदा पुराना संस्कृति, संस्कार, आत्मियताबाट सिर्जित अन्र्तसम्बन्ध भोलिको पुस्तामा रहला कि नरहला भन्ने गम्भीर प्रश्न उब्जिएको छ । बसाइँसराइ एक समाजिक समस्या हो । व्याक्ति परिवार समाजका प्रमुख अभिन्न अंग हुन् । हामीले जस्तो समाजको निर्माण गर्न खोजियो त्यस्तै हुन्छ वा बनाउन सकिन्छ । कुनै पनि समाज असुरक्षित हुन चाहँदैन तर कहिलेकाहीँ बाध्यतावश विभिन्न फ्याक्टरले समुन्नत समाज निर्माणमा बाधा पुर्याइरहेको हुन्छ । विश्व भूमण्डलीकरण र विकासका गतिले गरिबी देशमा देखिने उतारचडावको असर नेपालमा पनि देखापर्यो ।

सन् १९९० पछि नेपालमा सूचना प्रविधिको विकास द्रुत गतिमा भयो । यसका साधन प्रर्र्याप्त मात्रामा व्यक्तिका घरघरमा पुग्यो । त्यसले देश–विदेशका बारेमा सिधैं पहुँच स्थापित भएको छ । विदेशमा भएका विकास, रोजगारीका अवसरबारे धेरै जानकार भए । सूचना प्रविधिको विकाससँगै गरिबी मुलुकका युवा जनशक्तिहरू रोजगारीको खोजीमा विदेशतर्फ आकर्षित भए । वैदेशिक रोजगारीमा जाने मुलुकमध्ये नेपाल पनि एक हो ।

वैदेशिक रोजगारीका लागि छिमेकी मुलुक चीन, भारत, दुबई, कतारलगायत खाडी मुलुक, जापान, कोरिया, अमेरिका, अस्ट्रेलिया, युरोपलगायत धेरै देशहरूमा युवाहरू पुगेका छन् । खाडीबाहेकका देश गएकाहरू उतै पलायन भएका छन् । यसको प्रभाव गाउँघरका खेतीयोग्य जग्गा बाँझो हुँदै गएका छन् । वैदेशिक यात्रासँगै वर्षौंदेखिको आत्मीय सम्बन्ध, भावनात्मक सम्बन्ध, रीतिरिवाज, आपसी सहयोग र भाइचार सम्बन्ध कमजोर बन्दै गएको छ ।

जनमानसमा राज्य संयन्त्रको कमजोरी र असक्षमताको जब अनुभूति हुन्छ तब नागरिकले आफू कसरी सुरक्षित रहने भन्ने विषयमा बाटो तय गर्छन् । त्यसको ज्वलन्त उदाहरण हो, वैदेशिक रोजगारी । उच्च शिक्षा अध्ययन, वैदेशिक रोजगारीमा जानेहरूमध्ये अधिकांश जानीबुझीभन्दा पनि अरूको लहैलहै, देखासिकीमा सकी नसकी ऋण गरेर गएको देखिन्छ । विदेश जानुअघि त्यहाँको वातावरण, नियम कानूनसम्बन्धी जानकारीको अभाव, भाषा, सिपलगायतको अभावले भनेजस्तो रोजगारी पाएका हुँदैनन् । विदेश पुगेपछि ऋणको बोझ, उचित परामर्शको अभावले व्यक्तिमा नकारात्मक प्रभाव पर्छ, जसले आत्महत्या, डिप्रेसनको दर बढ्दै गएको छ । यसतर्फ न त सरकार न अभिभावकको ध्यान गएको छ ।

विदेश जान नेपालीहरू कति लालायीत छन् भन्ने डरलाग्दो चित्र हो, पछिल्लो समय सार्वजनिक भएका नक्कली भुटानी शरणार्थी प्रकरण । अनागरिक बनेर तेस्रो मुलुक जान प्रति व्यक्ति १० लाखदेखि ५० लाखसम्म तिर्न तयार भएको देखिन्छ । उनीहरूको इच्छा पूरा गर्न राज्य नै सहभागी भएको छ । विचौलियामार्फत विभिन्न विकशित मुलुक जान चाहनेहरूको त कुनै तथ्यांक नै छैन । अमेरिका जाने सपना पालेका उनीहरूले विचौलियालाई करोडौं रकम भुक्तानी गरेर कष्टकर यात्रा गरिरहेको समाचार बाहिरिएका छन् । गैरकानूनी र असुरक्षित यात्रामा जानका लागि करोडौं रकम तिर्न तयार हुने ती युवाले स्वदेशमै केही गर्न चाहेको देखिँदैन ।

विदेश हिँड्न लागेका युवाले आफूले तय गरेको बाटो कष्टकर र असुरक्षित भए पनि बाध्यताले जानुपरेको जवाफ दिने गरेका छन् । नेपालमा लगानीमैत्री वातावरण, युवालाई आकर्षित गर्ने योजना, गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन गर्ने योजना, उचित नियम–कानूनको व्यवस्था भएमा मुलुकको विकास हुन धेरै समय नलाग्ने बताउँछन् । आफ्नो घरपरिवार पुर्खा हुर्केको ठाउँलाई बिदा गर्दै विदेशिने मन नहुँदानहुँदै पनि जान बाध्य भएको गुनासो पोख्दै आएका छन् ।

समग्रमा भन्नु पर्दा विदेशिनेक्रम समयमै नरोकिए वा यसको स्थायी समाधानको उपाय नखोजिए दक्ष जनशक्ति विदेशिने क्रम रोकिने छैन । यसले भोलिका दिनहरूमा देश विकासमा दूरगामी असर पर्ने देखिन्छ । यसतर्फ सम्बन्धित निकायले समयमै होस पुर्याउनु पर्छ ।

अहिलेसम्म विकासका जति पनि अवधारणा कोरिएका छन् । ती सबै पुराना अनुसन्धानात्मक कार्यबाट मात्र कोरिएका छन् । त्यसकारण स्थानीय तहबाट सम्भावना र सम्भाव्यतालाई विस्तृत अनुसन्धान गरी नयाँ–नयाँ मोडेल र नीतिबाट विकासका योजना बनाउन आवश्यक छ ।

(पाण्डे त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभाग, समाजशास्त्रका विद्यार्थी  हुन् )