NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रास्वपादेखि नेसपासम्म बाबुरामको टिप्पणी : कुन दलबारे के भने ?

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले परम्परागत कांग्रेस, एमालेको विकल्पमा खुलेका नयाँ पार्टीको विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा आत्मसमीक्षासहितको प्रस्तुत राजनीतिक प्रतिवेदनमा खासगरी संघीय गणतन्त्र स्थापनापछि उदय भएका नयाँ दलहरू विषयमा छुट्टा छुट्टै दृष्टिकोण प्रस्तुत गरेहका हुन् ।

उनले संसदमा चौंथो ठूलो दलका रूपमा उदय भएको रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई मध्य दक्षिणपन्थी दलको मान्यता दिएका छन् । उक्त पार्टीले पहिलो निर्वाचनमै राष्ट्रिय पार्टी र चौथो ठूलो पार्टीको हैसियत प्राप्त गरेको छ । संवैधानिक समाजवाद, योग्यता र कर्मशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्यक्ष लोकतन्त्र आदि विषयलाई आफ्नो मार्ग दर्शन र प्रतिबद्धता जनाएको दल भएको प्रतिवेदनमा उल्लेख छ ।

‘पार्टीको वैचारिक धार अझै प्रस्ट छैन । अनौपचारिक कुराकानीमा उसले आफूलाई ‘राइट–अफ सेन्टर’ (मध्य दक्षिण) धारको भन्ने गर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी २०७४ को निर्वाचनमा निकै चर्चामा रहेको दल विवेकशील साझा पार्टीलाई सुरूमा पश्चगामी राजावादी राजावादी बाटो लिएको, अहिले पुनः संगठित हुने अभियानका रहेको उल्लेख गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा विशेषतः काठमाडौं र आसपासका क्षेत्रमा उक्त पार्टीको प्रभाव राम्रो परेको थियो तर निर्वाचनपछि साझाका तत्कालनी अध्यक्ष रवीन्द्र मिश्र र मिलन पाण्डेबीचको द्वन्द्वका कारण तहस नहस भयो । मंसिरमा भएको निर्वाचनमो पूर्वः सन्ध्यामा मिश्रले पार्टी छाडेर राप्रपा प्रवेश गरेपछि समीक्षा बास्कोटा सहितका नेताहरू पार्टी पुनर्गठन अभियानमा लागेका छन् ।

यसैगरी मधेशमा आफ्नो प्रभाव विस्तार गर्दै गएको सीके राउत नेतृत्वको जनमत पार्टीलाई भट्टराईले मधेशको पहिचान र अधिकारलाई मुख्य मुद्दा बनाए उदाएको पार्टीको संज्ञा दिएका छन् । जपालाई २०७९ को निर्वाचित पछि मधेशका शक्तिका रूपमा स्थापित भएको दल भएको प्रतिवेदनमा उल्लेख छ । पहिले नै जातीय÷क्षेत्रीय पार्टीले भरिएको मधेशमा जपाले कसरी फरक पहिचान र अस्तित्व कायम गर्छ हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् ।

त्यस्तै पश्चिम तराईमा मंसिरको निर्वाचनसँगै राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उम्मुक्ति पार्टीलाई थारू जातिको मुद्दा उठाएर राजनीतिमा उदाएको पार्टी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उक्त दलले एक स्वतन्त्रसहित ४ सिट जितेको छ । टीकापुर नरसंहारमा दोषी करार भएका नाउपाका संरक्षक रेशम चौधरी जेल चलान भएपछि उनका श्रीमती रञ्जिताले नेतृत्व गरेकी छिन् । तीनै तहको अदालतले चौधरीलाई जन्म कैदको सँजाय सुनाएपनि गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट माफी पाएका छन् ।

भट्टराईले कुनै बेला आफ्ना विश्वासिला पात्र रहेका प्रभु साह नेतृत्वको आम आदमी पार्टीको सम्बन्धमासमेत प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले आजपा माओवादी हुँदै एमालेसँग विद्रोह गरी प्रगतिशिल वामपन्थीको रूझान बोकेको पर्टी भएको उल्लेख गरेका छन् । एमालेको स्थायी कमिटी सदस्य रहेका साह मंसिरमा भएको निर्वाचनको मुखमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचनपछि उनकै नेतृत्वमा नयाँ दल खोलेका थिए ।

प्रतिवेदनमा आफ्नो दल नेसपालाई समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको विचार र एजेण्डामा स्थापित प्रगतिशिल, लोकतान्त्रिक दल भएको भट्टराईले जिकिर गरेका छन् ।

वृहत्त समाजवादी ध्रुवीकरणसहित नयाँ समाजवादी वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा नेसपा क्रियाशील रहेका उनले उल्लेख गरेका छन् ।

२०७२ को संविधान जारी भएपछि भट्टराईले माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी स्थापना गरेका थिए । तर २०७४ को निर्वाचनमा शर्मनाक हार भएपछि उनी संघीय समाजवादी हुँदै जसपा प्रवेश गरेका थिए । मंसिरको निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका छन् । अहिले पुनः माओवादीसँग पार्टी एकता गर्ने तरखरमा उनी छन् ।