NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते
विचार

‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’

बजेट आएको साँझ यही संसद्को पिढीँमा मिडियाले हामीलाई सोध्नुभयो, ‘बजेट कस्तो छ ?’ हामीले भन्यौ, ‘बजेट सरकारको आय र व्यायको अनुमान हो । आयको अनुमान अविश्वनीय छ, व्यायको अनुमान इच्छाप्रेरित छ ।

१० दिनपछि तात्तातो समिक्षालाई ‘रिफ्लेक्स’ गर्दा त्यो ठिकै जजमेन्ट हामीले दियौँ जस्तो लाग्यो । मोटामोटी रुपमा हाम्रो निष्कर्ष त्यही नै रहेको छ । नेपालको राजकाजमा अर्थमन्त्रालयले ल्याउने ‘फिस्कल पोलिसी’ र राष्ट्र बैंकले ल्याउने ‘मोनटरी पोलिसी’को विशेष महत्व रहन्छ । दुबैको समन्वयले अर्थतन्त्रलाई एउटा लयमा हिँडाउन सहयोग गर्दछन् ।

विगत दुई वर्षमा वित्त र मौद्रिकबीच सामान्जस्य टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकता भन्दा बढी असहजता देखिएको सर्वविदितै छ । सुकेको व्यापार, गुमाइएको रोजगारी, जोखिममा परेको लगानी र फैलिएको नैरश्यको उपचार परिक्षित आर्थिक नीति र सत्ताको बागडोर समाल्ने मन्त्रीका नियत र क्षमतामाथि नागरिकले गर्ने विश्वास नै हुन् भन्ने मलाई लाग्छ ।

हाम्रा बजेटहरु आय र व्यायका अनुमानहरु किन र कसरी फेल भइरहेका छन् भन्ने विश्लेषण सरकारले कति गहिराइमा गरेको छ, त्यो त मलाई थाहा छैन । तर हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ । भूकम्पपछिका ९/१० वर्ष, शान्ति प्रक्रियापछिका १५ वर्ष, बहुदलपछिका ३२ वर्ष र पञ्चायतलाई समेत जोडेर विगत ५० वर्षकै टाइम सिरिज डेट र एनालाइसिस हामीले केलाएका छौँ ।

गत वर्ष १७ सय ९४ अर्बको बजेट फुकियो । उक्त बजेट जिडिपीको अनुपातमा लगभग ३४ प्रतिशतको थियो । मध्यवाधी समिक्षामा घटाएर १५ सय ५० तिर ल्याइयो । अर्थमन्त्रीज्यूले बजेट घोषणा गरेको दिन यसपाली जम्मा १५ सय ५ अर्ब मात्रै खर्च गरिँदैछ भनेर भनियो । त्यति पनि पुग्ने विश्वनीय आधारहरु छैनन् । तर ३४ प्रतिशतको बजेटको आकार सुकेर अब २७/२८ मा आइपुग्नेवाला छ । एउटै सालको व्यय र आयको अनुमानमा झण्डै ६ प्रतिशत विन्दुको फरक पर्नु भनेको राम्रो कुरा हैन । यसले बजेटका अन्य अनुमानहरु, बजेटमा राखिएका अन्य आंकक्षाहरुलाई त्यति विश्वनीय बनाउँदैन भन्ने मेरो जिकिर छ ।

सन् २०१५ र २०१६, भूकम्पछिको विगत ८ वर्षको बजेट विश्लेषण गर्ने हो भने, करिब साढे ३४/३५ प्रतिशत जिडिपीको अनुपातमा प्रक्षेपण गर्ने, खर्चचाहिँ २७/२८ मा गर्ने गरेका छौँ । भूकम्पभन्दा अघिकै वर्ष अर्थमन्त्री डा रामशरण महतको पालामा म पनि राष्ट्रिय योजना आयोगको सदस्य थिए । त्यतिबेला हामीले ६१८ अर्बको बजेट ल्याएका थियौँ । त्यतिबेला २४/२५ प्रतिशत एज अ सेयर अफ जिडिपीको बजेट फुक्ने, अन्त्यताः २२/२३ प्रतिशतमा ल्याएर अवतरण गराउने अभ्यास थियो ।

भूकम्पछि पुर्ननिर्माणका कारण ह्वातै बढ्दै गएको बजेटको आकारलाई हामीले व्यवस्थापन गर्न सकेका छैनौँ । हामी अनुकुल समयको खोजीमा बसेको जस्तो भान हुन्छ । पुर्ननिर्माणले गति लिँदै गर्दा कोभिड आयो । कोभिडको निहुँमा थप ऋण र बजेटको आकार ह्वातै बढाउँदै गयौं । कोभिड र पुर्ननिर्माणको बीचतिर संघियताको कारणले पनि केही प्रतिशत विन्दु बजेटका आकार बढ्दै गएको सही हो । यसलाई यथार्थमा ल्याउनुपर्यो । यसमा विश्वनियता रिस्टोर गर्नुपर्ने चुनौती छ ।

मलाई आशा थियो, फ्रेस म्यान्डेटबाट पाँच वर्षको कार्यकाल लिएर आएको नयाँ संसदले सरकारले सुरुमा अप्रिय बोल्ड निर्णय गर्ने आँट गर्ला । तर त्यस्तो हुन सकेको छैन । यो बजेटमा हामीले अलिकति आकार खुम्च्यायौँ । तर एज अ सेयर अफ जिडिपी ३० प्रतिशतजतिकै छ । जबकि हाम्रो क्षमताचाहिँ २७/२८ प्रतिशत खर्च गर्ने क्षमता त्यतातिर गएर अड्केको छ । बजेटको आकार बढेको बढ्यै, निजी क्षेत्रमा जाने कर्जा दोब्बर भएको छ ।

यही अवधिमा करिब ४० प्रतिशत जिडिपीबाट लगभग शतप्रतिशत नै पुगेको छ । तर यी दुइवटाको आर्थिक वृद्धिसँगको सम्बन्ध त्यति कसिलो हुन सकेको छैन । औसतमा पञ्चायतकालदेखिकै आंकडा हेर्ने हो भने २ देखि ५ प्रतिशतको वार्षिक आर्थिक वृद्धिमा रुमालिरहेको छ ।

चमात्कार गर्न, फड्को मार्न खोजेको देशले गर्नुपर्ने ७ देखि १० प्रतिशतको आर्थिक वृद्धि हो । यत्रो पैसा खन्याउँदा पनि (सार्वजनिक पुँजी, निजी पुँजी, निजी कर्जा खन्याउँदा) पनि आर्थिक वृद्धिसँग सम्बन्ध किन टुटिरहेको छ ? यसको विश्लेषण गरेर एउटा ‘फण्डामेन्टल कोर्ष करेक्सन’तिर हामी जानुपथ्र्यो, जानुपर्छ भन्ने मलाई लाग्छ, त्यसअर्थमा यसपाली अर्थमन्त्रीज्यूले एउटा अवसर गुमाउनुभएको हो कि भन्ने मलाई लाग्छ ।

पाँच वर्षको कार्यकाल लिएर आएको फ्रेस मेन्डेटका कुराहरु गर्दा अब हामीलाई रिफर्महरु थाँती राख्ने सुविधा छ जस्तो लाग्दैन । यी पन्छाएका रिफर्महरुलाई गोरुको सिङ समाएजस्तै गरेर ट्याकल गर्नका लागि रास्वपा नै आउनुपर्ने हो त ?

वृद्धि र रोजगारी सिर्जना हुने पुँजीगत खर्च, पुँजी निर्माणमा हामीले प्रतिफल पाइरहेका छैनौँ । त्यसैले फण्डामेन्टल कोर्ष करेक्सन अवसर चुकेको जस्तो लाग्छ । यस सालकै बजेट १७ सय ५१ अर्बको आकारकोे आएको छ । लगभग ३० प्रतिशत अफ जिडिपी छ, पहिला भन्दा अलिकति सुकाएर ल्याएको छ । त्यसमा पनि विश्वनीय भएको छैन ।

राजश्वको पाटो हेर्ने हो भने, व्ययका विभिन्न छरिएका कार्यक्रमका विश्लेषण गर्यौ भने त्यतातिर गएर झल्कन्छ । हिजो साँझ पाँच बजेसम्मको तथ्यांकअनुसार सरकाले जम्मा ८१४ अर्ब राजश्व उठाएको छ । यसपाली १४ सय ३ अर्बको प्रक्षेपण हो । आर्थिक वर्ष सकिन जम्मा ५ हप्ता बाँकी हुँदा जम्मा ५८ प्रतिशत राजश्व उठेको छ । पाँच हप्तामा घटाइएको राजश्वको लक्ष्य ११ सय ८० अर्ब उठाउन असम्भव छ । यसरी हेर्दा दिनको १० अर्ब राजश्व उठाउनु आवश्यक छ । त्यसैमा टेकेर १४ सय २२ अर्बकै राजश्व अनुमान अर्थमन्त्रीज्यूले गर्नुभएको छ । त्यसले विश्वासनियता कहाँ–कहाँबाट विभिन्न कोणबाट प्रहार भइरहेको कुरा अर्र्का दृष्टान्त यो पनि हो ।

यसपालि ८१४ लाई बेस्सरी कसेर हजार सम्म पुर्याउनुभयो र त्यसमा २० प्रतिशतको वृद्धि राख्नुभयो भने पनि १२ सय अर्बको राजश्व हुने ठाउँमा हामीले त्यसलाई शुन्यएका छौँ । त्यसबाट १७४ जति हामीले वित्तिय हस्तान्तरण भनेर तल जान्छौं र सिंहदरबारको संघीय सरकारले खर्च गर्न पाउने भनेको १२ सय ४८ को हाराहारी मात्रै हो । चाप छ, जटिलताहरु अप्ठयाराहरु छन् । हामी बुझ्छाैं । तर यसो भन्दैमा अस्वाभविक आकारको बजेट ल्याएर फरक सन्देश दिन हुँदैन भन्ने हाम्रो मत हो ।

विदेशी अनुदान यसपाली ५६ अर्ब उठाउँछु भनेकोमा ५ अर्ब पनि उठेको छैन । अर्को वर्ष फेरी ५० अर्ब उठ्छ भनेर राखेको छ । त्यसले गर्दा एक्जारेटेट एकंल करिब १३ सय अर्ब पु-याएका छौँ, १७ सय ५१ को खर्च भनेका छौँ । यो ग्याप सबै ऋण उठाएर गर्ने भनेका छौँ । २४० अर्ब स्वदेशी ऋण, जसमध्ये १८२ फिर्ता नै हो, पुरानै ऋण तिर्न जाँदैछौँ ।

त्यसमा कुनै ठूलो पुँजी निर्माणमा खर्च गर्ने योजना देखिँदैन । २१३ अर्बको विदेशी ऋणमध्ये ४३ अर्ब पुरानो विदेशी ऋणको साँवा तिर्ने भनेका छौँ । लिएको पूरानो ऋण सर्भिसिङ गर्न जाने भएकाले पुँजीगत खर्च स्वाट्टै घटेको छ । ३ सय भन्दा नघटाऔँ भनेर राखेको देखिन्छ, तर यो चिन्ताजनक हो । यतापट्टि चालु खर्च बढेको बढ्यै, पुँजीगतमा सार्थक प्रहार, हस्तक्षेप सिर्जनसील हुन नसकेको चिन्ताजक नै छ । यो असन्तुलनलाई कसरी सेफ ल्यान्डिङि गराउने भन्ने नै अहिलेको सार्वजनिक वित्तको चुनौती हो ।

राजश्व चुहावट, कर प्रणलीमा सुधार, राजश्व दर पनि बढाउँछु भन्नु भएको छ । तर सबै कर (लगभग दर्जौनौँ कर) हरुको वृद्धिदर २४.३७ प्रतिशतले वृद्धि हुने भनेर भनिएको छ । यस्ता हावादारी प्रक्षेपणको आधारमा अर्थमन्त्रालयमा हामीले न्युनतम प्रोफेसनलिजम आशा गथ्र्यौ । अर्थमन्त्री विज्ञ हुनुहुन्छ । पिएचडीधारी एक हुल र ६/७ जना काबिल सचिवहरुले नै सल्लाह दिनुभएको भनेर हामीले सुनेका थियौँ । तर ‘ट्याक्स इलास्टीसीटी’ र ‘ट्याक्स बोयन्सी’ का आधारभूत ज्ञानबारे उहाँहरु अनविज्ञ हुँदा मलाई अचम्म लाग्यो ।

जे लेखिदिए पनि हुन्छ, जे भन्दिए पनि हुन्छ भन्ने कुरालाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । विश्वासनियतामाथिको प्रहार त्यहाँबाट पनि हुन्छ, कर उठाउने कुरा राज्य सञ्चालन गर्ने कुरामा यति हेलचेक्र्याईं, यति हलुकापन, हुचुवान छ भने अन्य कुरा पत्याउने आधार के ? अन्य धेरै कुराहरुमा अलमल छ, पुँजीगत लाभकरका कुराहरुमा, यसका केही इकोनमिक सिदान्तहरु हुन्छन् । ‘रिस्क टेकिङ’ लाई प्रमोट गर्नको लागि एउटै आधारबाट आएको आम्दानीमा एउटै कर लगाउन पाइदैन । दोस्रोपटक लगाएकालाई कम दर हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । स्वास्थ बीमाका कुराहरुमा ‘मोरल ह्याजेट’ का कन्सेप्टहरु छन्, यसलाई लिएको जस्तो देखिँदैन ।

सबल पक्षहरु नभएका हैनन् । पुँजीगत खर्चलाई बढाउछु भनेर भन्नु भएको छ । वन क्षेत्र, इआईका कुराहरु, रुख कटानी, समय घटाउने, बहुवर्षीय ठेक्काका विषयमा धेरे कुरा आएका छन् । भौतिक र सहरीमार्फत वैकल्पिक र साहयाक मार्गमा विवाद आयो । ५२० करोडमध्ये २३२ करोड डडेलधुरा, गोरखा र नुवाकोटमा छरिएर आएको भन्ने कुराको उत्तर उहाँ (अर्थमन्त्री)ले नै दिनुहोला । समग्रमा स्टार्टअपका कुराहरु, एफडिआई, डिजिटल इकोनमी, कृषि उत्पादनलाई अनुदानसँग जोडिने, पर्यटनलगायत सकारात्मक छन् तर सबै कुरा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने शंकाको लाभ दिन चाहान्छौँ ।

(सांसद डा स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा व्यक्त गरेको विचार)