टिकटकमा झुम्मिने कर्मचारीमाथि सरकारको अंकुश

काठमाडौं । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल टिकटकमा सक्रिय छन् । उनले कार्यालयमा भोज गरेकोदेखि आफ्नो नेतृत्वमा भएका सुधारका काम टिकटक भिडियो बनाएर पोस्ट गर्दै आएका छन् । झापाको कचनकवल नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवमा पनि टिकटक मोह अत्यधिक देखिन्छ । कार्यालयमा काम गरिरहेकोदेखि सीमा क्षेत्रमा अनुगमनसम्मका गतिविधि नियमित रूपमा टिकटकमा अपलोड गर्दै आएकी छिन् ।
पोखरेल र यादव मात्र होइनन्, निजामती सेवामा रहेका सयौँ कर्मचारीलाई सामाजिक सञ्जाल टिकटकले तानेको छ । कर्मचारीको औपचारिक पोसाकमै, कार्यालयसँग सम्बन्धित गतिविधिहरू उनीहरूले निर्वाध रूपमा टिकटकका सामग्री बनाइरहेका छन् ।
तर, अब सरकारले कर्मचारीका त्यस्ता गतिविधिमाथि अंकुश लगाउन थालेको छ । टिकटकमा रमाउने कर्मचारीलाई मन्त्रालयहरूले लगाम लगाउन थालेका छन् । राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयलगायतले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् । सर्वसाधारणको गुनासो सुन्न सरकारले खडा गरेको संयन्त्र ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेका हुन् ।
‘कार्यालयभित्र टिकटक नबनाउन हामीले कर्मचारीलाई निर्देशन दिएका छौँ,’ संघीय मामिला मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘केही कर्मचारीले बनाएका टिकटकका विषयवस्तुबारे गुनासो आएपछि यस्तो निर्देशन दिएका हौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया