NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सिडिओ पिटेर चर्चामा आएकी पूर्वमन्त्रीसहित लोसपा र माओवादीका केन्द्रीय सदस्य जनमत पार्टी प्रवेश

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) पिटेर चर्चामा आएकी एक पूर्वमन्त्रीसहित नेकपा माओवादी केन्द्र र लोसपाका केन्द्रीय सदस्य जनमत पार्टी प्रवेश गरेका छन् ।

वीरगञ्जमा शनिबार जनमत पार्टीले आयोजना गरेको वृहत् पार्टी प्रवेश  कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री एवं संविधानसभा सदस्य करिमा बेगमसहित नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेशसभाका पूर्व सांसद प्रह्लाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी, लोसपाका नेता सुधीरनाथ पाण्डेलगायत जनमत पार्टी प्रवेश गरेका हुन् ।

शारीरिक रूपमा अशक्त व्यक्तिलाई समेत कार्यक्रमस्थलमा ल्याई पार्टी प्रवेश गराइएको थियो । तराईमा आफ्नो पार्टीमा आकर्षण रहेको देखाउन गरिने यस्ता गतिविधिलाई सामान्य रूपमा लिने गरिएको छ ।

उनीहरूलाई माला लगाएर सो पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरे ।

जनमत पार्टीका अध्यक्ष राउतले पूर्वमन्त्रीसहित विभिन्न पार्टीका विभिन्न स्तरका ११ सयभन्दा बढी व्यक्ति शनिबार आफ्नो पार्टी प्रवेश गरेको दाबी गरेका छन् ।

शनिबार जनमत पार्टी प्रवेश गर्नेमा बेगम सबैभन्दा हाइप्रोफाइल नेता हुन् । २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा पर्सा १ बाट निर्वाचित उनी २०६६ मा कृषि राज्यमन्त्री बनेकी थिइन् । त्यस समय जिल्ला आएका बेला राम्रो गाडी नदिएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेपछि उनी चर्चामा आएकी थिइन् ।

बिखण्डनवादी सोच त्यागेर मूलधारको राजनीतिमा आएपछि तराई तथा मधेसका जिल्लामा जनमत पार्टीप्रति आकर्षण देखिएको छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले सम्मानजनक मत हासिल गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष