NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेकपा ब्युँताउन कति सम्भव ?

काठमाडौं । शनिबार पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटित नेकपा ब्युँताउन ओली र प्रचण्डसँग प्रस्ताव गरे । एकीकृत समाजवादी भक्तपुरले गरेको कार्यक्रममा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउन प्रस्ताव गरेका हुन् ।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले । एमालेमा त आफैं रुवावासी चलिरहेको छ । हुन्छ भने हामी पुरानो पार्टी फेरि ब्युँताउँछौं । प्रचण्डजीलाई भन्छु म, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फेरि ब्युँताऔं,’ उनले भने ।

नेपालको प्रस्तावप्रति एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । पछिल्लो समय नेकपा एसभित्र नेताहरूको व्यवस्थापन गर्न नसक्दा अध्यक्ष नेपालमाथि निकै दबाब परेको छ । पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनालले एमालेबाट अलग्गिनुको औचित्य पुष्टी हुन नसकेको एमालेसँग नजिकिनुपर्ने धारणा राख्दै आएका छन् । पुराना वामपन्थी नेता मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुणामणि जंगली लगायत नेताहरूले माधवको साथ छाड्दै एमाले फर्किसकेका छन् ।

उपाध्यक्ष केशवलाल श्रेष्ठलगायत नेताहरू पनि एमाले फर्किने तयारी गरेका छन् । सचिव रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरूसमेत अध्यक्ष नेपालसँग असन्तुष्ट छन् । पार्टी नै विघटनको संघारमा पुगेको अनुमान गरिरहेको अवस्थामा नेकपा ब्युँताउने नेपालको प्रस्तावलाई लिएर नयाँ बहस सुरू भएको छ ।

गत हप्तामात्रै एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले एमाले फर्किन आफू तयार भएको प्रतिक्रिया दिएका थिए । पार्टीबाट नेता तथा कार्यकता एमाले फर्किने क्रम नरोकिएपछि चिन्तित रहेका नेपालले आफ्नो पार्टी कुनै पार्टीसँग विलय नहुने, एकीकरण नै गर्ने भए सबैले आ–आफ्नो पदबारे सोच्न नहुने बताए । त्यस्तै उनले एमालेले ७० वर्षको उमेरहद हटाएकोमा प्रतिक्रिया दिँदै उनले ओलीसहित नेताहरूलाई सल्लाहकार भएर बस्न सुझाव दिए ।

नेकपा ब्यूँताउन कति सम्भव ?

नेपालको प्रस्तावलाई लिएर एमाले सचिव पद्मा अर्यालले नेकपा ब्युँतिने कुनै सम्भावना नभएको बताइन् । जुन उदेश्य राखेर प्रचण्ड र माधव पार्टीबाट अलग भएका छन्, त्यसमा क्षमायाचना नगरी वा गल्ती नस्वीकारी नेकपा ब्यूँतिने सम्भावना नभएको उनले जिकिर गरिन् । उनले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्ताहरूलाई एमालेमै फर्किन आह्वान गरेकी छिन् ।

‘प्रचण्ड–माधवजीहरूले पार्टी विभाजनको औचित्य पुष्टी गर्न सक्नुभएको छैन । हाम्रा अध्यक्षमाथि जुन आरोप लगाएर उहाँहरू अलग हुनुभयो त्यसमा आत्मा आलोचनासहित गल्ती स्वीकार गर्नुभयो भने एउटा वातारवण बन्न सक्छ । अहिलेकै अवस्थामा नेकपा ब्यूँतिने कुनै सम्भावना छैन ।’

यसैगरी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमालेबाट अलगिएर गएकाहरूलाई पार्टीमा स्वागत गर्न तयार भएपनि नेकपा कुनै हालतमा नब्यूँतिने बताए ।

‘एमालेबाट जो–जो अलग्गिनुभएको छ । उहाँहरूलाई स्वागत गर्न तयार छौं । तर माओवादीसहित नेकपा ब्यूँतिने कुनै सम्भावना छैन र हुँदैन पनि । पार्टी छाडेर गएका नेता तथा कार्यकर्ताहरू घर फर्किन चाहे उचित जिम्मेवारी दिन हामी तयार छौं, त्यसमा कुनै रोकतो छैन’, उनले भने ।

नेपालको प्रस्तावप्रति सत्तारूढ दल माओवादी केन्द्रका नेताहरूले पनि यथास्थितिमा नेकपा ब्यूँतिने सम्भावना नभएको बताएका छन् । नेपालको प्रस्ताव पार्टी कमजोर भएपछि सुरक्षित अवतरणका लागि आएको प्रतिक्रिया भएको माओवादीका सचिव गणेश साहले बताए ।

‘अहिले समाजवादी मोर्चा बनाउन पहल भइरहेको छ । मोर्चाले समेत ठोस आकार ग्रहण नभइसकेको अवस्थामा नेकपा ब्यूँतिने कल्पना पनि गर्न सकिँदैन’, उनले भने, ‘उहाँको प्रस्ताव आफू र पार्टी कमजोर भएपछि अरूको साथमा शक्ति आर्जन गर्न आएको प्रतिक्रिया हो ।’

यसैगरी माओवादीकेन्द्रसहित समाजवादी मोर्चा बनाउन गृहकार्य गरिरहेका वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले तत्काल नेकपा ब्यूँतिने कुनै सम्भावना नभएको बताए । समाजवादी मोर्चा बानाउन दलका नेताहरूबीच छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको उनले जानकारी दिए ।

‘हाम्रो अहिलेको प्रयास भनेको माओवादी, एकीकृत समाजवादी, जसपाल लगायत दलहरू मिलेर एउटै समाजवादी मोर्चा बनाउने गरी छलफल भइरहेको छ । एमालेसँग पार्टी एकीकरण गर्ने वा नेकपा ब्यूँताउनेबारे कुनै छलफल भएको छैन । तत्काल त्यो सम्भावना पनि छैन’, उनले भने ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी विलयको पक्षमा नभइ वृहत्त वामपन्थी एकताको पक्षमा रहेको बताए ।

‘हामी एमालेमा विलयको पक्षमा छैनौं, अध्यक्षज्यूले भने जस्तै वृहत्त वामपन्थी एकता वा नेकपा ब्यूँताउने पक्षमा एकीकृत समाजवादी छ । त्यसका लागि ओली र प्रचण्ड तयार हुनुपर्छ’, उनले भने, ‘तीनै पक्ष तयार नभएसम्म वृहत्त वामपन्थी वा नेकपा ब्यूँतिने सम्भावना देखिँदैन ।’

स्थायी कमिटी सदस्य दीलकुमारी पन्तले एमाले ब्यूँतिएमात्र धेरै ठूलो राहत हुनेमा नेकपा ब्यूँतिने सम्भावना नरहेको बताइन् । एमालेले विगतका गल्ती सच्याएको अवस्थामा पार्टी एकीकरणको पूर्वाधार बन्न सक्छ तर अहिलेकै अवस्थामा एमाले वा कुनै दलसँग पार्टी एकीकरण नहुने बताइन् ।

‘अहिलेको अवस्थामा एमाले ब्यूँतिएपनि ठूलो राहत हुन्छ । तर त्यसका लागि ओली नै अग्रसर हुनुपर्छ । उहाँले विगतका गल्ती सच्याउन तयार भए भने मात्र पार्टी एकीकरणको आधार तयार हुन्छ । अहिलेकै अवस्थामा नेकपा होइन एमाले पनि ब्यूँतिने सम्भावना छैन’, उनले भनिन् ।

नेकपा एकतादेखि विघटसम्मकाे शृंखला 

२०७४ को संघीय निर्वाचनको तयारी दलहरू जुट्दै गर्दै असोज १८ गते तत्काली एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावी तालमेलसहित पार्टी एकीकरण गर्ने सहमति भएको थियो ।

त्यतिबेला माओवादी केन्द्र देउवा नेतृत्वको सरकारमा थियो भने प्रतिपक्षमा एमाले । विगतदेखि नै एक अर्काबीच कट्टर आलोचक रहेका ओली प्रचण्डको मिलनले नेपालको राजनीति नै तरंगित भएको थियो ।

चुनावको तयारी गरिरहेको कांग्रेस दुई ठूला वामपन्थीबीच कार्यगत एकता भएपछि झस्कियो । निर्वाचन गराउनै पर्ने बाध्यताबीच तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले निर्वाचन गराए । चुनावमा मधेश प्रदेशबाहेक ६ प्रदेशमा वामपन्थीले दुईतिहाइ बढी मत ल्याए । संघमा झण्डै दुईतिहाइ मत पाएका थिए । निर्वाचनपछि सरकारमा जान प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सर्त राखेर ओलीलाई प्रधानमन्त्री बनाए ।

३ जेठ, २०७५ मा मदन–आश्रित दिवसको अवसर पारेर दुई अध्यक्षसहित नेकपा गठन गरे । तर पूर्वसहमित अनुसार सत्ता हस्तान्तरण गर्न ओली तयार नभएपछि प्रचण्ड माधव समूहसँग मिलेर ओलीविरूद्ध संगठित हुन थाले । माधव र प्रचण्डबीचको गठबन्धनले झस्किएका ओलीले सत्ता हस्तान्तरण गरेनन् बरु ५ पुस, २०७७ मा संसद नै विघटन गरे ।

त्यसपछि आफूविरूद्ध सडक संघर्षमा उत्रिएका माधव–प्रचण्डलाई असफल बनाउन ओलीले नेकपाका अध्यक्ष ऋषिराम कट्टेलसँग मिलेर सर्वोच्च अदालतको प्रयोग गरे ।  नेकपा विवादकाबीच सर्वोच्च अदालतले २३ फागुन, २०७७ मा नेकपालाई बदर गर्ने आदेश दियो । अदालतको आदेशबाट साविक एमाले र माओवादी केन्द्र ब्यूँतियो । नेकपा विवादको असर एमालेमा पर्यो ।

ओली र माधवबीच ९ औं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी ब्यूँताउने विषयमा दुरी बढ्दै गयो । एमाले विवादकैबीच ओलीले ८ जेठ, २०७८ मा दोस्रोपटक संसद विघटन गरे । ओलीको निर्णयबाट थप चिढिएका माधव समूहले देशव्यापी समान्तर कमिटी बनायो । देउवालाई प्रधानमन्त्री बनाउन माधव समूहका सांसदहरू सर्वोच्च अदालतमा हस्ताक्षर नै बुझाए ।

२८ असारमा सर्वोच्चले ओलीले दोस्रो पटक विघटन गरेको संसदलाई समेत मान्यता दिएन । देउवालाई संविधानको धारा ५ अन्तर्गत प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश नै दियो ।  अदालतको आदेशपछि ओली बालुवाटारबाट बालकोट पुगे ।

त्यसपछि प्रधानमन्त्री भएका देउवाले माधव समूहलाई सहज हुनेगरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याए । भदौ २ गते एमाले विभाजन भयो । ९ गते एकीकृत समाजवादीलाई निर्वाचन आयोगले मान्यता दियो । यसरी चार समूहमा विभाजित भएको नेकपा ब्यूँताउनेबारे फेरी बहस सुरू भएपनि तत्काल एकता वा पुर्नगठन हुने सम्भावना देखिँदैन ।