NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

यस्तो बन्दैछ विप्लवसहितको समाजवादी मोर्चा : दस्तावेजलाई ‘फाइनल टच’ दिइँदै

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा घोषणा हुने दाबी गरे ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार गरेको कार्यक्रममा निकै उत्साहित देखिएका उनले दस्तावेज तयार भइसकेको र एक–दुई दिनमा मोर्चा घोषणा हुने विश्वास दिलाए ।

प्रचण्ड त्यतिमा मात्र रोकिएनन्, समाजवादी मोर्चा हुँदै अन्ततः नेकपा ब्यूँताउने प्रयासमा आफू रहेका बताए । तत्काल यो अभियानमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा, नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान जोडिने उनको दाबी छ ।

‘समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ’, उनले भने ।

२०७४ को निर्वाचनको मुखमा तत्कालीन एमाले र माओवादीबीच कार्यगत एकता हुँदै पार्टी एकता गरेर राजनीतिमा सबै कुरा सम्भव छ भन्ने सन्देश दिएका ओली–प्रचण्डले शक्ति संघर्ष र सत्ता स्वार्थका कारण नेकपा बचाउन सकेनन् । २ वर्ष ९ महिनामै मधेशबाहेक ६ प्रदेशमा दुईतिहाइ र संघमा अत्याधिक बहुमत ल्याएको नेकपाको दुःखत अन्त्य भएको थियो ।

२०७९ को निर्वाचनसम्म आइपुग्दा त्यसको दुष्परिणाम एमाले, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय अभियानले भोग्यो । ३२ सिटमा खुम्चिएको माओवादी केन्द्रले सत्ताको नेतृत्व गरेको भएपनि आगामी यात्रा त्यति सहज देखिँदैन । नेकपा एसले त राष्ट्रिय दलको मान्यता नै पाउन सकेन । पहिलो दल बन्ने दाबी गरेको एमाले अहिले विपक्षमा छ । कुनै बेला एमालेमा शक्तिशाली नेता रहेका वामदेव अहिले घर न घाटको भएका छन् । चुनावी परिणामले वामपन्थीबीच सहकार्य र एकता नभए आगामी आवाधिक निर्वाचनमा ठूलो क्षति पुग्न सक्नेतर्फ सबै सर्तक देखिएका छन् ।

जनजीविका, राष्ट्रिय एजेण्डाका मुद्दा बोकेर स्वतन्त्रसहित नयाँ दलहरू जबर्जस्त राष्ट्रिय राजनीतिमा उदाएपछि परम्परागत दल कांग्रेस र कम्युनिस्टहरू झस्किएका छन् । यी सबै पक्षलाई ध्यानमा राखि समान विचार, सिद्धान्त र एजेण्डालाई मुखरित गर्न मंसिरको निर्वाचन अघि नै समाजवादी मोर्चा बनाउन प्रचण्ड, माधव, बाबुराम, उपेन्द्र लगायत नेताहरू जुटेका थिए ।

तर निर्वाचनको व्यस्तताका कारण मोर्चा गठन प्रक्रिया थाँती राख्दै आएका नेताहरू पछिल्लो समय निकै उत्साहित देखिएका छन् । निर्वाचनपछि माओवादी केन्द्र, नेकपा एस, नेसपाले वार्ता टोली नै बनाएर साझा कार्यविधि, मोडालिटी, नीति तथा कार्यक्रमबारे पटक पटक बहस र छलफल गरेको थियो । पछिल्लो समय मोर्चामा विप्लवसमेत जोडिन सहमत भएपछि शीर्ष नेताहरू थप हौसिएका हुन् ।

कस्ताे बन्दैछ माेर्चा ?

समाजवादी मोर्चा सफलतातर्फ उन्मुख भएपछि निकै उत्साहित देखिएका एकीकृत समाजवादीका उपमहासचिव एवं वार्ता टोली सदस्य डा. गंगालाल तुलाधरले मोर्चाका सबै दलले दस्तावेजलाई अन्तिमरूप दिएपछि केहि दिनमा घोषणा हुने बताए । तत्काल मोर्चा बनाएपनि वामपन्थी एकता गर्दा विगतमा जस्तो हतारमा एकता गरेर फुर्सदमा पछुताउने पक्षमा आफूहरू नभएको उनको भनाइ छ । उनले मोर्चाको मुख्य उदेश्य जनजीविका, जनचासो र राष्ट्रिय एजेण्डा साझारूपमा मुखरित हुने जिकिर गरे ।

‘हमीले विद्रोह गरेको प्रमुख लक्ष्य भनेको वृहत्त वाम एकता नै हो । त्यसका लागि जनजीविका, जनचासो, जनसरोकार र राष्ट्रिय मुद्दामा सहकार्य गर्दै जान सकिन्छ भन्ने हेतुले तत्काल समाजवादी मोर्चा बनाउन लागिएको हो । साझा मुद्दामा एक ठाउँमा उभिँदा त्यसले सकारात्मक परिणाम दिन्छ । यस अघिका जनआन्दोलन र जनसंघर्षले पनि त्यहि देखाएको छ । वाम एकता हुन सक्यो भने त्यो सबैभन्दा राम्रो हुनेछ । २०८४ को निर्वाचनसम्म पुग्नुभन्दा अघि हामी समाजवादी मोर्चा बनाएर एकताको अभ्यास गर्नेछौं । त्यसैमार्फत वाम एकताको ढोका खुल्ने सम्भावना देखिन्छ’, उनले भने ।

प्रधानमन्त्रीज्यूको बुधबारको अभिव्यक्तिले समाजवादी मोर्चा विप्लव पनि सहभागी हुने सुनिश्चित भएको उनले बताए । मोर्चामा विप्लव जोडिनु अहिलेसम्मको सकारात्मक पक्ष भएको भन्दै उनले एक दुइ दिनमै माओवादी, एकीकृत समाजवादी र जसपा र विप्लव नेतृत्वको नेकपाबीच मोर्चा बन्ने जिकिर गरे । त्यसमा बाबुराम र वामदेव पनि जोडिने सम्भावना बलियो रहेको उनको भनाइ छ । सदस्य तुलाधरले मोर्चाको मुख्य विषय अवधारणा भएको भन्दै संगठनात्मक स्वरूप आ–आफ्नै पार्टी अनुसार नै अघि बढ्ने जानकारी दिए ।

‘मोर्चाको मुख्य कुरा अवधारणा हो । यसमा करिब करिब सहमति भएको छ । संगठनात्मक स्वरूपमा आ-आफ्ना पार्टी आ-आफ्नै ढंगले अघि बढ्न स्वतन्त्र छन् । त्यति हुँदा पनि साझा मुद्दामा सबै पार्टी एक ठाउँमा आउँछन् । समाजवादको आधार तय गर्दै त्यसअनुसारको कार्यक्रम मोर्चाले बनाउनेछ ।’

तुलाधरको भनाइमा सहमति राख्दै विप्लव नेतृत्व नेकपाका नेता अनिल शर्मा विरहीले केहि दिनमै मोर्चा घोषणा हुने गरी काम भइरहेको बताए । उनले साझा दस्तावेज तयार भएको जानकारी दिँदै सबै दलको भावना र सुझाव समेट्ने गरी शीर्ष नेतासमक्ष प्रारम्भिक दस्तावेज पठाएको जिकिर गरे ।

‘दस्तावेज बनेको छ । प्रारम्भिक दस्तावेज बनाएर सबै पार्टीका नेताहरूलाई दिइन्छ । सबैको भावना र सुझाव समेटेर एक दुई दिनमा दस्तावेज लेख्ने काम हुनेछ । मोर्चा भन्ने वित्तिकै केही छोड्ने केही पाउने हुन्छ’, उनले भने ।

मोर्चाले जनजीविका, राष्ट्रिय मुद्दामा साझा कार्यक्रम तय गर्ने र त्यहिअनुसार देशव्यापी अभियान सञ्चालन गर्ने गरी कामहरू भइरहेको उनले जानकारी दिए ।

‘आन्तरिक पार्टीको नीति, सिद्धान्त र कार्यक्रममा कायमै राखेर राष्ट्रिय एजेण्डाको विषयमा मोर्चा एक ठाउँमा उभिन्छ । साझा विषयमा सहकार्य हुनेछ । मोर्चा सञ्चालनका लागि सबै पार्टीले आलो पालो गर्ने भनिएको छ’, उनले भने, ‘संगठनात्मक स्वरूप, कार्यक्रम अहिले नै तय भइसकेको छैन । वामपन्थी एकताबारे अहिले नै निष्कर्षमा पुगेको छैन । त्यो भविष्यको विषय भएकाले अहिले त्यसतर्फ हामी छैनौं । कार्यविधि बनेपछि एक दुई दिनमा हुनपनि सक्छ वा ढिलो पनि हुन सक्छ ।’

सबै दलबाट राख्ने प्रतिनिधि नै चयन भइसकेको जानकारी दिँदै शर्माले केही दिनमै मोर्चाले मूर्तरूप लिने उनको भनाइ छ ।