सवारी दुर्घटनामा श्रीमतीसहित ज्यान गुमाएका मन्त्री सिंह को हुन् ?

काठमाडौं । मंगलबार बझाङमा सुदूरपश्चिम सरकारका अन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्रीसहित तीन जना परिवारका सदस्यले ज्यान गुमाए ।
डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा उनका श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भयो ।
मन्त्री सिंहको उपचारको क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भयो । उनका पिएसओसहित थए एक जना गम्भीर घाइते भएका छन् ।
को हुन् मन्त्री सिंह ?
मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा सिंह बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित भएका थिए । जेठ ५ मा सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए ।
२०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा उनी जन्मिएका थिए । पाण्डु प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरेका थिए। कानुनका विद्यार्थी रहेका उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट बिएल पुरा गरेका थिए ।
२०३१ सालमा नेविसंघ राजनीतिमा लागेका उनी २०३५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति थिए । २०४९ सालमा तत्कालीन लुयाटा गाविसका अध्यक्ष भएका सिंह नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भए । मन्त्री सिंह २०६६ मा कांग्रेस बझाङको सभापति भए ।
२०७४ सालमा बझाङबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचित भएपछि मन्त्री सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए ।
गाडी दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री गम्भीर घाइते
प्रतिक्रिया