NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अर्थ मन्त्रालय गठनपछि सम्पादन गरिएका कार्यहरू – सम्झनाको तरेलीमा

विषय प्रवेश

पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलको सौजन्यबाट प्राप्त सोपान मासिकले वि.सं. ०७५ मा प्रकाशन गरेको “सार्वजनिक प्रशासनका चुनौती र सुधारका क्षेत्रहरू” नामक पुस्तक अध्ययन गर्ने सुअवसर पाएँ । त्यसमा समावेश भएको इतिहासको पाना शीर्षक परिच्छेदमा पहिलो पुस्ताका केही सेक्रेटरीहरूको अनुभवहरू वर्णन गरिएका रहेछन् । विष्मृतिको गर्भमा प्रवेश गर्न लागेका प्रारम्भिक प्रशासनिक कदमहरूलाई जीवन्त गरिदिनु भएकोमा प्रकाशक तथा लेखकहरुलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दछु । डा. द्वारिकाकै आग्रहमा शुरुका वर्षहरूमा अर्थ मन्त्रालयबाट सम्पादन गरिएका केही प्रशासनिक कार्यहरूको संक्षिप्त विवरण पस्कने जर्मको गर्दैछु ।

अर्थ मन्त्रालयको स्थापना र विदेशी सल्लाहकारहरू

२००७ सालमा भएको युगान्तकारी राजनीतिक परिवर्तनपश्चात् मन्त्रीहरू नियुक्त भए र मन्त्रालयहरू स्थापित भए । कृषि विभाग कृषि मन्त्रालय, स्वस्थ्य विभाग स्वास्थ्य मन्त्रालयमा रूपान्तरण भएजस्तै राणा प्रशासनअन्र्तगतको कुनै विभागलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पन मिलेन । अर्थ मन्त्रालय नामक नयाँ मन्त्रालय स्थापना गर्नुपर्‍ यो । पहिलो अर्थमन्त्री सुवर्ण शमशेर र पहिलो अर्थ स्रक्रेटरी म हिमालय शमशेर कार्यरत भयौं ।

तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले सिंहदरबार परिसरमा कार्य कक्षहरू खाली नगरी दिएसम्म अर्थमन्त्री सुवर्ण शमशेरको निजी निवास ललिता निवासका केही कोठाहरू प्रयोग गरी अर्थ मन्त्रालयको काम कारबाही सुचारु गर्‍ यौं ।

२००८ सालमा देशको प्रशासनलाई आधुनीकरण तथा लोकतान्त्रिकरण गर्ने अभियानलाई परामर्श दिन भारत सरकारले तीन अनुभवी प्रशासकहरूलाई काठमाडौं खटाएका थिए । ती तीनमध्ये श्री वृज नारायण लगभग एक वर्ष अर्थ मन्त्रालयमा हामी नेपाली प्रशासकहरूसँगै कार्यरत रहे । २००९ सालतिर आर्थिक नियमावली तर्जुमा गर्ने कार्यमा मद्दत गर्न पश्चिम बंगाल सरकारका निवृत्त सहसचिव श्री मुर्कजीलाई दुई वर्ष हामीसँग काम गर्न नियुक्त गरेका थियौं ।

मन्त्रालयको कार्यक्षेत्रलगायत अन्य विषयहरू

अर्थ मन्त्रालयको कार्य क्षेत्र, जिम्मेवारी र संगठनबारे निर्णय गर्दा भारत सरकारको अर्थ मन्त्रालयको ढाँचा मनन गरिएको थियो । मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारीको विस्तृत विवरण विशेषांक (सार्वजनिक प्रशासनका चुनौती र सुधारका क्षेत्रहरू नामक प्रकाशन) मा उल्लेख गरिएकाले यस लेखमा दोहर्‍ याउन परेन ।

नयाँ कार्यालय स्थापना गर्न, नयाँ योजना कार्यान्वयन गर्न वा स्वीकृत सालवसाली खर्च गर्न चाहिने रकम निकासा गर्न अर्थ मन्त्रालयको स्वीकृति वा सहयोग चाहिने भएकाले देशको समग्र प्रशासनमा सो मन्त्रालय बहुतै प्रभावकारी मानिन्थ्यो । मालपोत असुल गर्ने तथा सरकारी खर्चहरूको भुक्तानी दिने सबै जिल्लाहरूमा कार्यरत माल अड्डाहरू पनि यसै मन्त्रालयअन्र्तगत काम कारबाही गर्ने भएकाले अर्थ मन्त्रालय सबैभन्दा बृहत् मन्त्रालय थियो । अन्य मन्त्रालयका अधिकारीहरू अर्थ मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय (Super Ministry)भनी डाह गर्थे ।

अर्थ मन्त्रालयमा काम गर्न अर्थमन्त्री सुवर्ण शमशेरले शुरुमा सरदार नगेन्द्रमान सिंहलाई हाकिम भई काम गर्न मनोनयन गर्नुभएको थियो । अन्यमा म हिमालय शमशेर, लीला प्रसाद लोहनी र परीक्षित नर्सिङ्ग राणा अर्थशास्त्रमा एम.ए. पास गरेका र एक पदाधिकारी कृष्णराज राजभण्डारी एम.कम पास गरेकालाई नियुक्त गर्नुभएको थियो । मैले सम्झेसम्म तीन हप्ता व्यतीत हुँदा सरदार नगेन्द्रमान सिंहज्यू लोक सेवा आयोगका अध्यक्षमा नियुक्त हुनुभयो । उहाँ अर्थ मन्त्रालयमा केही हप्ता कार्यरत भएको सरदार सिंहको नियुक्ति औपचारिक घोषणा सरकारी गजेटमा भएन । त्यसैले सरकारी दस्ताबेजहरूमा पहिलो अर्थ सेक्रटरी भई मन्त्रालय सञ्चालन गर्नेमा मेरो नाम उल्लिखित छ ।

करिब ६ महिना कार्यरत भएको राणा कांग्रेस संयुक्त मन्त्रीमण्डलले राजीनामा दिएकाले चाहिने थप कर्मचारीहरू चयन गर्ने जिम्मेवारी मेरो काँधमा आयो । मैले धेरैजसो पदाधिकारीहरू शिक्षित वर्गबाटै चयन गरें । जस्तोकी शिक्षक रामप्रसाद जोशी (पछि अर्थ सचिव), शिक्षक विष्णुप्रसाद धिताल (पछि सचिव), एकाउन्टेण्ट हरिहरजङ्ग थापा (पछि सचिव), परीक्षित नरसिंह राणा (पछि सचिव), मानबहादुर डंगोल (पहिलो एकाउन्टेण्ट जनरल) । साथै पुराना अनुभवी रकम कलम विज्ञ पदाधिकारीहरूमा सुब्बा गोपाल बहादुर, सुब्बा नारायण भक्त र सुब्बा कोमल बहादुरलाई चयन गरेको थिएँ । शुरुमा काम गर्ने हामी पदाधिकारीहरूलाई अर्थमन्त्री सुवर्ण शमशेरले नै नियुक्ति पत्र दिनुभएको थियो । नियुक्ति पत्रको प्रतिलिपि किताबखानालाई पठाइन्थ्यो । यी नियुक्तिहरू अनुभवको र शिक्षाको आधारमा सचिव, उपसचिव र सहायक सचिवको तहमा गरिएका थिए । मेरो नेतृत्वमा अर्थ मन्त्रालयमा कार्यरत अफिसर तहका पदाधिकारीहरूको विवरण मैले हाल सम्झेसम्म अनुसूची १ मा उल्लेख गरेको छु ।

अर्थ मन्त्रालयअन्र्तगतका विभागहरू

अर्थ मन्त्रालयको प्रशासनिक संरचनामा मुख्यतया पाँच विभागहरू गठन गरेको थिएँ ।

१. मालपोत विभाग
२. राजस्व विभाग (भन्सार, अन्तःशुल्क, मौवा रक्सी, छाला इत्यादिको ठेक्का, आयकर)
३. खर्च विभाग (आर्थिक नियमावली तर्जुमा र कार्यान्वयनको जिम्मेवारी पनि)
४. बजेट विभाग
५. आर्थिक मामिला विभाग

मन्त्रालयमा उपलब्ध उपकरणहरू र कारिन्दा तहका कर्मचारीहरूको चयन

मेरो पाँचवर्षे कार्यकालमा उपकरणहरूमा मात्र अंग्रेजी र नेपाली टाइपराइटर उपलब्ध थिए । त्यसमा पनि टाइपिष्टहरु अति दुर्लभ थिए । सरकारी अड्डाहरुमा कार्यरत कारिन्दाहरूको लेखाइ अशुद्ध तथा पढ्न कठोर हुने हुनाले काठमाडौंका अर्थ मन्त्रालयअन्र्तगतका अड्डाहरूमा कार्यरत कारिन्दाहरूमध्येबाट शुद्ध र राम्रो लिपिमा लेख्न सक्ने कर्मचारीहरूको खोजतलास गरी अर्थ मन्त्रालयको विभागहरूमा नियुक्त गरेको थिएँ ।

मन्त्रालयका लक्ष्यहरू र सम्पादित कार्यहरू

अर्थ सचिव रहँदा मार्ग प्रदर्शकको रूपमा तीन लक्ष्यहरुलाई हेक्का राखेको थिएँ :

१. सरकारी आर्थिक कारोबार पारदर्शी र सार्वजनिक गर्ने
२. अर्थ मन्त्रालयका कारोबारहरू आधुनिकीकरण गर्ने र
३. देशको विकासको लागि सरकारको आम्दानी वृद्धि गर्ने ।

लक्ष्य १ को कार्यान्वयनमा सरकारको आम्दानी खर्च स्पष्ट देखिने पहिलो चार बजेटहरू तर्जुमा गर्ने कार्यमा प्रमुख भूमिका निभाएँ । साथै एकाउन्टेण्ट जनरल कार्यालय स्थापना गरी सरकारी आम्दानी खर्चको शीर्षकहरू सार्वजनिक गरेँ ।

लक्ष्य २ को कार्यान्वयनमा चुङ्गीकर असुल गर्ने भन्सार तथा बजार अड्डाहरूको सञ्चालनलाई आधुनिकीकरण गरेँ । त्यसका लागि राजस्व विभागका हाकिम राम प्रसाद जोशीको अध्यक्षतामा Tariff Board गठन गरेँ ।

सरकारी कर्मचारीहरूको तलब भत्ता र सुविधाहरू समय अनुकूल बढाउन परराष्ट्र सचिव राम प्रसाद मानन्धरको अध्यक्षतामा Pay Commission गठन गरेँ । सो Commission को सिफारिस मनन गरी सकल सरकारी कर्मचारीहरू र निजामती, जङ्गी, प्राविधिकको तलबमान(Pay Scale) ढाँचाको तलब दरबन्दी बढाएँ । त्यस्तै, राजनीतिक नेता होरा प्रसाद जोशीको अध्यक्षतामा भत्ता कमिसन पनि गठन गरेँ । जथाभाबी प्रदान गरिएका भत्ताहरू खारेज गर्ने Commission को सिफारिस स्वीकार गराएँ । आर्थिक नियमावली सरकारबाट स्वीकृत गराई आर्थिक कारोबारहरू विधिवत् सम्पादन गरिने परिपाटी शुरु गराएँ । बजेट प्रणालीको परिमार्जनको लागि प्रस्तुत गरिएको दस्तावेज अनुसूची २ मा संलग्न छ ।

लक्ष्य ३ को कार्यान्वयनमा चुङ्गीकरको सट्टा Tariff Board ले निर्दिष्ट गरेको भन्सार दर अनुसार भन्सार असुल गरी आम्दानी बढाएँ । अन्तःशुल्क विभाग खडा गरी ठेक्का प्रथा अन्त्य गर्दै अन्तःशुल्क असुल गरेर सरकारी आम्दानी बढाएँ । Income Tax असुल गर्ने व्यवस्था गर्न अर्थ मन्त्रालयका दुई कर्मठ कर्मचारीहरू शेषराज दली र कृष्णबहादुर देउजालाई सो कर उठाउने प्रणालीबारे जानकारी हासिल गर्न भारत सरकारको Income Tax Department मा पठाएँ र Income Tax असुल गर्ने सुरुवात गरेँ । अन्त्यमा भारतबाट पैठारी गरिने वस्तुहरूमा भारत सरकारले असुल गरेको अन्तःशुल्क नेपाल सरकारले फिर्ता पाउन भारत सरकारलाई अनुरोध गरेँ ।

चार वर्षको लेखापढी र कोसिसपश्चात् भारत सरकारले नेपाल सरकारको अनुरोध स्वीकृत गर्‍ यो । यसबाट नेपाल सरकारलाई वर्षको ३ करोड आम्दानी प्राप्त हुने भयो । यस्तो आम्दानी बृद्धि गरेबापत तत्कालीन प्रधानमन्त्री तथा अर्थमन्त्री श्री मात्रिकाप्रसाद कोइरालालाई जङ्गी जर्साहेबको ज्यलयचबचथ पदवी प्रदान गरियो । त्यसबेला म विदेशमा अनुसन्धानमा कार्यरत रहेकाले मेरो भूमिकाको श्रेय दिन सरकारले सम्झेन ।

२००७ सालमा नेपालमा युगान्तकारी राजनीतिक तथा प्रशासनिक परिवर्तन भयो । संयोगले त्यस्तो परिवर्तनमा केही भूमिका निर्वाह गर्न पाएकोमा पुलकित छु ।

२०११ सालमा हामी तीन जना म, नीरराज राज भण्डारी र गोपाल बहादुरले बजेट प्रणालीको परिमार्जनसम्बन्धी सुझावहरू सरकारमा पेश गर्ने अवसर पायौं ( अनुसूची २) ।

पाँचवर्षे कार्यकालमा अर्थमन्त्रीज्यूहरू सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला, केशरशमशेर, सर्दार गुञ्जमान सिंह आदिको अभिभावकत्वमा काम गरेँ । तर यी कसैबाट पनि कहिल्यै दबाब खेप्नु परेन ।

अरू सेक्रेटरीहरूसँग समन्वय औपचारिक फोरमबाट भन्दा व्यक्तिगत सम्पर्कबाट सम्पादन गरेको थिएँ ।

अस्तु

अनुसूची १

अर्थ मन्त्रालयमा कार्यरत अफिसर तहका कर्मचारीहरूको विवरण

१ अर्थ मन्त्रालय गठन भएपछि अर्थमन्त्री सुर्वण शमशेर राणाद्वारा सरदार नगेन्द्रमान सिंह, हाकिममा नियुक्त गरिनुभयो । लोक सेवा आयोग गठन भएपछि सिंहलाई आयोगको अध्यक्षमा नियुक्त गरिएपछि म (हिमालय शमशेर राणा) अर्थ सेक्रेटरीमा नियुक्त भएको हुँ ।

२.लीला प्रसाद लोहनी अर्थशास्त्रमा एम.ए । गृहमन्त्री वि.पी कोईरालाको सिफारिशमा नियुक्त । उहाँलाई दिइने तहको निरूपण नहुँदै लोहनीले राजीनामा दिनुभयो ।

३.परीक्षित नर्सिङ्ग राणा अर्थशास्त्रमा एम.ए । डेपुटी सेक्रेटरी । मेरो सिफारिसमा नियुक्त । एम.ए अध्ययन गर्दा मेरो सहपाठी ।

४.कृष्णराज राजभण्डारी एम.कम, डेपुटी सेक्रेटरी । नेता गणेशमानको सिफारिसमा नियुक्त ।

५.मानबहादुर डङ्गोल एम.ए । पहिलो एकाउन्टेण्ट जनरल । तत्कालीन डङ्गोल समाजका पहिलो एम.ए र राणा शासनमा उच्च तहका पदाधिकारी ।

६.शेषराज दली एम.ए । डेपुटी सेक्रेटरी । गृहमन्त्री वि.पी कोईरालाको स्वकीय सचिव थिए र उहाँको सिफारिसमा सरुवा ।

७.हिरण्यध्वज जोशी एम.ए । डेपुटी सेक्रेटरी । मेरो सहपाठी र मेरो सिफारिसमा नियुक्त ।

८.पार्थिवशमशेर राणा वि.कम । डेपुटी सेक्रेटरी । मेरो सिफारिसमा नियुक्त ।

९.चुडानन्द वैद्य वी.ए । वरिष्ठ डेपुटी सेक्रेटरी । वरिष्ठ शिक्षक । नेता गणेशमानकोे सिफारिसमा नियुक्त । र यिनले म काजमा विदेश जाँदा का.मु सचिव चलाउँदथे ।

१०..नेत्रबहादुर थापा वी.ए । असिष्टेण्ट सेक्रेटरी । वरिष्ठ शिक्षक तथा सामान्य ज्ञान पुस्तकका लेखक । मेरो सिफारिसमा नियुक्त।

११.रामप्रसाद जोशी वी.ए । डेपुटी सेक्रेटरी (पछि सचिव भए ) ।

१२.विष्णुप्रसाद धिताल एम.ए । असिटेण्ट सेक्रेटरी । (पछि सचिव भए ) । मेरो सिफारिसमा नियुक्त ।

१३.गोविन्दप्रसाद गोर्खाली वी.ए । डेपुटी सेक्रेटरी । सरदार गुञ्जमान सिंहको सिफारिसमा वाणिज्य मन्त्रालयबाट सरुवा ।

१४.दुर्गा श्रेष्ठ वी.ए । असिष्टेण्ट सेक्रेटरी । परीक्षित नरसिंह राणाको सिफारिसमा नियुक्त ।

१५.कीर्तिरत्न बज्राचार्य वी.ए । असिष्टेण्ट सेक्रेटरी । परीक्षित नरसिंह राणाको सिफारिसमा नियुक्त ।

१६.गङ्गाबहादुर बस्नेत अर्थ मन्त्रालयको सुपरिटेन्डेन । चर्चित फुटबल खेलाडी ।

१७.सुब्बा गोपाल बहादुर, डेपुटी सेक्रेटरी । वरिष्ठ रकमकलम विज्ञ ।

१८.सुब्बा कोमल बहादुर, असिष्टेण्ट सेक्रेटरी । वरिष्ठ रकमकलम विज्ञ ।

१९.सुब्बा केशव बहादुर, असिष्टेण्ट सेक्रेटरी । वरिष्ठ रकमकलम विज्ञ ।

२०.सुब्बा नारायण भक्त, असिष्टेण्ट सेक्रेटरी । वरिष्ठ रकमकलम विज्ञ ।

२१.लोक सेवा आयोगको सिफारिशमा ७ जना भन्सार (कष्टम) अफिसरहरु नियुक्त :

१ तुषारकान्त भट्टाचार्य

२ अमरेश भट्टाचार्य

३.माधव कुमार रिमाल

४ लक्ष्मण राज जोशी …

५ तीन जनाको नाम स्मरण भएन ।

श्री मुकर्जी एम.ए । आर्थिक नियमावली बनाउने कार्यका लागि सल्लाहकारका रूपमा नेपाल सरकारको खर्चमा काम गर्न बोलाइएका थिए । यिनी पश्चिम बङ्गाल सरकारको सेवाबाट निवृत्त भएका थिए ।

अनुसूची २


(

(नोट – यो लेख पूर्व अर्थ सेक्रेटरी हिमालयशमशेर राणाले २०७७ मा लेख्नु भई प्रकाशन गराई दिन वि.सं २०७७ साल आश्विन १९ (5th October 2020)मा इमेल मार्फत पठाउनुभएको थियो । मैलै पनि सार्वजनिक प्रशासनसम्बन्धी विषयहरू समावेश गरेर प्रकाशन गर्दै आएको एक पत्रिकामा पठाइ दिएको थिएँ । तर अचानक सो प्रकाशन बन्द हुनाले यो लेख प्रकाशन नभई मसँगै रहिरहेको कुरा पूर्वअर्थ सेक्रेटरी राणालाई थाहा थियो । हाल श्री हिमालयशमशेर राणाको देहवसान भइसकेको छ । ऐतिहासिक महत्त्वको यस लेख त्यसै राखी छोडनु ठीक नहुने ठानी लेखक राणाकै नाममा प्रकाशित गरिदिन हुन अनुरोध गरेको हुँ । लेखकले लेखेका कुरामा उप–शीर्षक दिने तथा कतै कतै प्रष्ट पार्ने दृष्टिकोणबाट सामान्य परिमार्जन गर्नेबाहेक केही पनि चलाइएको छैन – द्वारिकानाथ ढुङ्गेल