NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पोस्ट कोभिड र पत्रकारिता

काठमाडौं । विगत दश वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी कल्पना भट्टराईलाई लाग्थ्यो, ‘पत्रकारितामा खुब जमेर काम गर्छु’ । उनी पत्रकारिता पेशामा रहेर खोजमूलक स्टोरी मात्रै गर्दै थिइनन्, देशकै सर्वोत्कृष्ट मानिने तत्कालीन नेपाल म्यागजिनमा कार्यरत थिइन् । आफूले गर्ने स्टोरीहरू प्रतिष्ठित मिडियाका पानामा छापिनु आफैंमा अर्को उपलब्धि थियो । उनलाई हौसला दिने सम्पादकीय नेतृत्वको सामीप्यतामा रहेर वैदेशिक रोजगार क्षेत्रका रिपोर्टिङ गरिन् ।

आफूले गर्दै आएका स्टोरीहरूको प्रभाव परेसँगै उनलाई थप नयाँ–नयाँ खोजमूलक काम गर्ने उत्प्रेरणा जाग्थ्यो । खोज रिपोर्टिङमा उसै त महिलाको संख्या कम थियो । सम्पादकीय नेतृत्वबाट पनि उनलाई हौस्याउँथे, ‘तिमी सक्छौ ।’ पत्रकारितामा उनका लागि आशा र प्रेरणा नै यही थियो ।

तर यो साहस र काम गर्ने ऊर्जा कोभिड १९ को महामारीपछि बाँकी बसेन । लकडाउनको एक/दुई दिनको रमाइलोमा झुल्दा उनी सम्बद्ध त्यत्तिको प्रतिष्ठित संस्था पनि संकटमा गर्ल्यामगुर्लुम्म ढल्छ भनेर सायदै कल्पना गरेकी थिइन् । सरकारले थपेको लकडाउनको अवधिसँगै संस्थाले उनीलगायत सबै पत्रकारलाई दुई महिनाका लागि ‘फोर्स लिभ’मा राख्यो । उनको होस् त यतिबेलै उडिसकेको थियो । अवस्था साम्य भएपछि काममा बोलाउँछु भन्ने आशा बाँकी थियो । तर त्यसो भएन । नेपाल म्यागजिनको प्रकाशनमै पूर्णविराम लाग्यो ।

त्यसको एक वर्षसम्म आफूलाई कुनै पनि संस्थामा काम गर्न जान आँट नआएको सुनाउँछिन्, उनी । ‘त्यसपछि त काम गर्ने आत्मविश्वास नै आएन । आफैंले काम गर्न नसकेको हो कि ? आफैं कमजोर भएको हो कि ? भन्ने भयले सतायो,’ उनले सुनाइन् ।

जागिर गुमेसँगै आर्थिक संकट टार्नकै लागि पनि अर्को ठाउँमा काम गर्नुपर्ने बाध्यता थियो । तर मनभित्रको भय र गुमेको आत्मविश्वासका कारण उनलाई फेरि काम गरिहाल्न पनि हिम्मत आएन । ‘कतै गयो भने त्यहाँबाट पनि निकालिदिने पो हो हुन् कि भन्ने डर लाग्थ्यो,’ उनले त्यसपछिको एक वर्षसम्म काममा फर्किंन नसकेको कारण खुलाइन् ।

कञ्चनपुरकी लक्ष्मी बलायरले कोरोना महामारी सुरु हुँदा पत्रकारिता थालेको ६ महिना मात्रै भएको थियो । पत्रकारितामै स्नातकोत्तर गरिरहेकी बलायरलाई यो पेशासँग दीर्घकालीन रूपमै आबद्ध हुने हुटहुटी थियो । कुनै एक अनलाइनमा काम गरेपछि उनलाई नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा काम गर्ने अवसर आयो । बलायरले नाईं भन्ने कुरै भएन । ठूलो संस्था र ठूलो टिममा सिकाइको दायरा फराकिलो हुने मनासायले उनले काम थालिन् । तर महामारीको प्रभाव देखिएपछि उनी पनि ‘फोर्स लिभ’मा परिन् । ठूलो टिममा रहेर काम गर्दै आफूलाई पत्रकारिताको क्षेत्रमा निख्खर बनाउने उनको सपनामा महामारीसँगै संस्थाले गरेको प्रहारले आत्मविश्वासमा धक्का पुर्यायो ।

२०७६ माघमा देखिएको कोरोनाभाइरस विश्यव्यापी रूपमा फैलिएसँगै नेपाल पनि यसबाट अछूतो रहेन । महामारी फैलिनबाट रोक्नका लागि गरिएको लकडाउन सुरु भएसँगै अधिकांश मिडियाले आफ्नो छापा प्रकाशन बन्द गर्दै अनलाइनमा केन्द्रित भए । कतिले भने छापाको पृष्ठ संख्या घटाएर प्रकाशन गरे । रेडियो र टेलिभिजनमा पहिलाको तुलनामा कार्यक्रम कटौती भयो । लकडाउनले बजार र अर्थतन्त्रमा पारेको प्रभावसँगै सञ्चारमाध्यममा आउने विज्ञापनम पनि भारी कटौती भयो । विज्ञापन कटौती भएसँगै यसको प्रत्यक्ष प्रभाव कार्यरत पत्रकारहरूमा पर्यो ।

आवाजविहीनको आवाज उठाउने माध्यम मानिएको पत्रकारिताको आफ्नै आवाज सुक्यो । आर्थिक अवस्था कमजोर भएसँगै मिडिया आफैं खुम्चियो । विज्ञापनमा निर्भर रहने मिडियाहरूमा थौरै संकट आउँदै अवस्था धराशायी बनेपछि उनीहरूले जनशक्ति कटौतीदेखि पारिश्रमिक घटाउने उपायको खोजी गरे । त्यसैको प्रत्यक्ष मार पत्रकारमा पर्यो ।

पत्रकार तथा अनुसन्धानकर्ता भुवन केसीका भनाइमा पत्रकारहरू पहिला जति ‘भाइब्रेन्ट’ थिए अहिले छैनन् । यस्तो अवस्था आउनुमा महामारीमा सञ्चारगृहहरूले कर्मचारी कटौतीदेखि तलब नदिनेजस्ता काम गर्नु रहेको उनी बताउँछन् । मिडिया क्षेत्र व्यावसायिक हुँदै गएको र उद्योगको रूपमा स्थापित हुन थालेको भनेर सुरु भएको बहस पनि महामारीले सतहमा ल्याइदिएको उनको बुझाइ छ । ‘महामारीपछि मिडिया व्यावसायिक नभएर व्यापार केन्द्रित मात्रै भएको देखियो,’ उनले भने, ‘कमाउन्जेलसम्मका लागि ठिक्क, त्यसपछि टाप कस्ने प्रवृत्तिले चनाचट्पटे व्यापारको स्तरमा झर्यो ।’ त्यसले यो पेशाको व्यावसायिकतामाथि स्वभावैले प्रश्न उठेको उनी बताउँछन् ।

सेन्टर फर मिडिया रिसर्चले पत्रकारहरूलाई महामारीले पारेको असरलाई केन्द्रविन्दुमा राखेर अध्ययन गरेको छ । ०७७ सालको मंसिरमा गरिएको सो अध्ययनका अनुसार जनस्वास्थ्य विपद्ले उत्पादन, वितरण र उपभोगका प्रायः सबै क्षेत्रलाई असर पार्दा नेपालको आमसञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । जसकारण केही आमसञ्चार माध्यम र पत्रकार अस्तित्त्व र जीवनकै लागि संघर्ष गर्नुपर्ने गरी प्रभावित भएको उक्त अध्ययनमा जनाइएको छ ।

त्यस अवधिमा पत्रकारहरूको जागिर अन्योलमा परेको, तलब/सुविधा कम गरिएको र उनीहरूमाथि रोजगारदाताले गर्नुपर्ने न्यूनतम दायित्व पूरा गर्न पनि नचाहेका विवरणहरू सार्वजनिक भए ।

उक्त अध्ययनले औंल्याएअनुसार कोभिड महामारीपछि पत्रकारको जागिर र तलबमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । उल्लेख्य संख्यामा पत्रकारले जागिर गुमाएका र जागिर नगुमाएकाहरू बेतलबी बिदामा राखिएका वा तलब घटाइएका वा तलब नदिइएका अवस्थामा रहे ।

पत्रकारलाई जागिर छोड्न बाध्य बनाइयो, तलब भुक्तानी ढिला गरियो र रोकियो । सिएमआरको उक्त अध्ययनअनुसार आर्थिक रूपमा प्रभावित भएका पत्रकारको संख्या ६६ प्रतिशत देखियो । नेपाल प्रेस इन्स्टिच्युटको अध्ययनअनुसार ६ प्रतिशत पत्रकारले जागिर गुमाएको देखियो । नेपाल पत्रकार महासंघको सर्वेक्षणमा ४ प्रतिशत पाइयो भने फ्रिडम फोरमले गरेको सर्वेक्षणअनुसार सक्रिय पत्रकारको ३८ प्रतिशतले जागिर गुमाएको देखियो ।

फ्रिडम फोरमको अध्ययनअनुसार राम्रो आम्दानी गर्ने ठूला मिडियाहरूले पनि महामारीको बहानामा पत्रकारहरूको जागिर खोस्ने काम गरे ।
त्यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सर्वेक्षणमा कोभिड–१९ ले गर्दा मिडियाले १५.८ प्रतिशत पत्रकारको जागिर कटौती गरेको, ४३.८ प्रतिशत पत्रकारले रोजगारीको स्थितिमा असर पारेको बताएका थिए । दुई तिहाइले घर खर्च चलाउन मुस्किल भएको बताएका थिए ।

मानसिक असर

नेपाल म्यागजिनको प्रकाशन बन्द भएपछि कामबाट निकालिँदा आर्थिक कम मानसिक चोट बढी पुगेको भट्टराई बताउँछिन् । दश वर्ष लामो पत्रकारिता यात्रामा यसअघि पनि आर्थिक संकट नआएको होइन । तर मानसिक रूपमा यतिको विचलित उनी यसअघि हुनुपरेको थिएन । ‘सारा कमजोरीको दोष आफैंमा थुप्रिन थाल्यो । यसले मानसिक रूपमा कमजोर बनायो । फेरि काम गरिहालौं भन्ने कन्फिडेन्स नै आएन,’ उनले भनिन् । एक वर्षपछि काममा जाँदा आफैं धेरै ‘ग्याप’ भइसकेको थियो । जसकारण कामको लय पक्रन पनि उनका लागि चुनौतीपूर्ण बन्यो ।

बलायर पनि महामारीमा जागिर गुमाउँदाको मानसिक असरले काममा फर्किंन सकस भएको सुनाउँछिन् । कामबाट ‘फोर्स लिभ’मा राखेको सूचना पाउँदा उनी कञ्चनपुर थिइन् । काठमाडौंमा बस्दा प्रतिष्ठित अनलाइनमा जागिर गरिरहेको खबरले घरपरिवार खुशी थिए । तर घरमा हुँदै यस्तो सूचना पाएपछि उनले निरीह महसुस गरिन् । ‘यहाँ रहेका अन्य साथीहरूसँग पनि कुरा हुँदा जागिरबाट निकालिएको खबर पाएँ । यो सुनेर झनै कमजोर महसुस भयो,’ उनले सम्झिइन्, ‘काठमाडौं पुगेर अब के गर्ने भन्ने भयले सतायो ।’

करिब दश महिनासम्म कामविहीन भएर पहिलोपोष्ट डटकममा काम सुरु गर्दा पहिलाको तुलनामा आत्मविश्वासमै कमी भएको महसुस गरिन् उनले । ‘अब काम गर्दा तलब पाइएला कि नपाइएला भन्ने हुन्थ्यो । नयाँ ठाउँमा फेरि शून्यबाटै काम गर्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘त्योभन्दा पनि दश महिनापछि काम गर्दा जति पारिश्रामिक दियो उतिमै चित्त बुझाउनुपर्ने अवस्था आयो । मलाई त आफू एक वर्षपछि धकेलिएजस्तो महसुस भयो ।’

माहामारीपछि भोग्नुपरेका यस्ता अनुभवकै कारण आफ्नो विकास रोकिएकोमा थकथकी लाग्छ उनलाई ।

नेपाल प्रेस इन्स्टिच्युटको अध्ययनमा २५ प्रतिशत पत्रकारले आफूहरू चरम निराशाबाट ग्रसित रहेको उल्लेख गरेका छन् । ७५ प्रतिशत पत्रकारले चिन्ता बढेको जनाएका छन् भने ६२ प्रतिशतले दुःखमा परेको बताएका छन् ।

समाजको अर्थ–राजनीति बुझ्ने मौका

कोभिडले एकातिर पत्रकारहरूको पेशाप्रतिको दृष्टिकोण, उनीहरूसँगै सञ्चार संस्थाको हैसियतलाई छताछुल्ल पार्यो भने अर्कातिर पत्रकारहरूलाई समाजको अर्थ–राजनीति बुझाएको बताउँछन्, अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले । ‘हामी आफैं सिसाको घरमा रहेछौं । कुनै सानो आँधीले पनि त्यो लगालिंग हुने रहेछ भनेर कोभिडले सिकायो,’ उनले भने, ‘तर पत्रकारहरूलाई समाजको अर्थ राजनीति पनि राम्ररी बुझ्न मद्दत गरेको छ ।’

महामारीकै कारण पत्रकारहरूलाई समाज सबैका लागि एकनाश नहुने कुरामा विश्वस्त हुन सघाएको उनको तर्क छ । ‘समाजमा हुनेखाने र हुँदा खाने वर्गबीचको खाडल स्पष्ट रूपमा देखियो । अन्य बेलामा सामान्य लाग्ने समाज संकटमा कसरी असामान्य हुने रहेछ भन्ने बुझियो,’ उनले भने, ‘योसँगै समाचार प्रवाह सबैभन्दा धेरै हुनुपर्ने समयमा नै हामी पत्रकारहरू कति कमजोर रहेछौं भन्ने पनि देखियो ।’

विषयवस्तुबारे पत्रकारमा भएको ज्ञानको कमी महामारीमै देखिएको उनको अनुभव छ । ‘विषयवस्तुको ज्ञानको कमजोरीका कारण पत्रकारहरू समाचार लेख्ने र प्रस्तुति गर्ने कलामा चुके,’ उदाहरण पेश गर्दै उनले भने, ‘धेरै पछिसम्म पनि कोभिड १९ किन भनिएको भनेर हामीले बुझेनौं । ग्लोबल्ली भएका विवादमा पनि हामीले धेरै गल्ती गर्यौं ।’ यसले पत्रकारिताका क्षमतामाथि नै प्रश्न उब्जाएको उनको भनाइ छ । ‘समाचार सम्प्रेषण धेरैभन्दा धेरै गर्नुपर्ने अवस्थामा हामी आफैं अलमलमा पर्यौं,’ उनले भने ।

समग्रमा कोरोना महामारीले पत्रकारहरूलाई समाज बुझ्ने नयाँ ‘डाइमेन्सन’ बुझाएर गएको उनको अनुभव छ ।

घट्दो मिडिया क्रेज, छैन योजना

पत्रकार तथा अनुसन्धानकर्ता केसीको भनाइमा महामारीपछि जनमानसमा पनि मिडियामाथिको विश्वसनीयता घटेको छ । फलतः सामाजिक सञ्जाल र अनलाइन माध्यमको ‘क्रेज’ ह्वात्तै बढेको उनी बताउँछन् । यसकै आडमा महामारीपछि अनलाइन मिडियाको संख्या बढेको उनको तर्क छ । ‘महामारीपछि मिडियामा कमाएको लगानी अर्कातिर सिफ्ट भएको पाइयो भने अन्यत्रको लगानी अनलाइन मिडियामा आएको देखियो,’ उनले भने, ‘अन्यत्रको लगानी मिडियामा आएपछि नतिजा पनि चाँडै खोजियो तर नतिजा नआएपछि त्यसरी खुलेका अनलाइनहरू आएको केही समयमा बन्द हुने अवस्था पनि भयो ।’

महामारीले विश्वव्यापी रूपमा प्रभाव परेको विषयलाई नकार्न सकिन्न । तर नेपालका मिडियाहरूले यो संकट नयाँ अवसर खोज्नुपर्ने थियो । यसमा समग्र नेपाली पत्रकारिता चुकेको केसी बताउँछन् । ‘संकटमै पनि अवसरहरू खोजिुपर्र्ने थियो । तर त्यसो भएन,’ उनले भने, ‘अहिलेसम्म पनि अवस्था सुध्रिएको छैन । कर्मचारी कटौतीदेखि तलबका समस्या फेरि सतहमा आइसकेका छन् ।’

महामारीबाट पाठ सिकेर मिडियाले आफ्नो योजना बनाउनुपर्ने थियो । तर ‘स्ट्राटेजिक प्लान’ बनाउने मामिलामा उसै त कमजोर सञ्चारमाध्यमहरूले अहिले पनि पाठ नसिकेको केसीको निचोड छ ।