NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपालीको डरलाग्दो विदेश मोह, रोकथामका लागि के गर्दैछ राज्य ?

काठमाडौं । काठमाडौंका २५ वर्षीय एक युवक भर्खंरै कम्बोडियाको त्रासदीबाट मुक्त भएर नेपाल फर्किए । क्यासिनोमा जागिर लगाइदिन्छु भन्ने दलालको प्रलोभनले त्यहाँ पुगेका उनी ‘स्क्याम’मा लगेर फसाएपछि होस उडेको बताउँछन् ।

‘नेपालबाट क्यासिनोमा काम लगाउने भनेर हौसाइएको थियो । त्यहाँ पुग्दा मान्छेलाई स्क्याम हान्ने अर्थात् ठगी गर्ने गिरोहमा काम गर्न पठाएको थाहा भो,’ उनले भने ।

त्यहाँ पुग्नेबित्तिकै पासपोर्ट जफत भइसकेको थियो । भाग्ने र उम्कने कुनै ठाउँ थिएन । काम नगरी सुख नहुने भएपछि उनले बाध्य भएर अह्राएको काम गर्न थाले ।

‘काम नगरे करेन्ट हान्ने, कुट्ने गर्थे । बिहानदेखि बेलुकीसम्म विभिन्न मुलुकमा रहेकाहरूसँग कुरा गर्ने, कुरै कुरामा पैसा लगानी गर्न लगाउने, लगानी गरेबापतको रिटर्न पनि दिने र कुनै समयमा पुगेपछि बन्द गरिदिने,’ उनले त्यो अत्यासलाग्दो विगत सम्झिए ।

कम्बोडियामा काम गर्दा उनीहरूलाई त्यहाँको स्थानीय समय कति भयो भन्ने फरक पर्थेन । उनीहरूलाई मालिकले छुट्याइदिएको मुलुकको समयअनुसार सुत्ने उठ्ने र काम गर्ने तालिका हुन्थ्यो । ९ महिना काम गर्दा राम्रै कमाइ भयो । तर असुरक्षित भएर त्यहाँ रहन मनले मानेन । बल्ल–बल्ल पासपोर्ट हात पारे र नेपाल फर्किए ।

यसअघि तीन पटकसम्म विद्यार्थी भिसामा अस्ट्रेलिया जानका लागि लागेको ५० लाख रूपैयाँ ऋणको बोझले उनी उठ्न नसक्ने गरी थलिएको बताउँछन् । तर कम्तीमा पनि त्यहाँ रहँदा घरमा पैसा पठाउन पाएका थिए । महिनैपिच्छे ऋणको ब्याज समयमै भुक्तानी गर्थे । यहाँ आएपछि आम्दानी फेरि शून्य भयो । ब्याज बुझाउने समय घर्किंदै गएपछि समयमा एनआइसी एसिया बैंकले घरमा गार्डसमेत पठायो । आर्थिक बोझ थपिएकै कारण उनी फेरि कम्बोडिया जाने तरखरमा छन् ।

‘त्यहाँको त्रास सम्झेर जान त मन छैन । तर नगएर के गर्नु ? यहाँ बस्यो भने झनै ऋण तिर्न सक्दिनँ,’ उनले आफ्नो बाध्यता सुनाए ।

नेपालमै बसेर कमाउने र ऋण तिर्ने भन्ने पक्षमा उनी छैनन् । यहाँको कमाइ र खर्चको अनुपातले आफ्नो समस्या समाधान होला भन्ने विश्वास उनलाई फिटिक्कै छैन । त्यसैले उनले निचोड निकालिसके, ‘जे, जस्तो भए पनि त्यहीँ जाने । कम्तीमा कमाइ त हुन्छ ।’

विदेश जाने सिलसिलामा लागेको ऋण उनी विदेश त्यसमा पनि निकै असुरक्षित ठाउँमा गएर तिर्ने मनासायमा छन् ।

केही समयअघि २३ जना नेपाली नागरिकले अमेरिका जान भनेर दलाललाई रकम बुझाए । नाइजेरियामा अलपत्र उनीहरू हवाइमार्ग र पैदल हुँदै लाओस पुगेका थिए । नाइजेरिया प्रवेशपछि उनीहरूलाई त्यहाँ बन्धक बनाइयो ।

भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरु, इक्वेडर, पानामा हुँदै १२ देशका समुन्द्र र जंगलको यात्रा पास परेर मेक्सिको पुगेपछि उनीहरूसँग तस्करले रकम माग्ने गरेको पाइयो । यसरी अमेरिका जान उनीहरूले दलाललाई ५० लाख रूपैयाँसम्म खर्च गरेका थिए ।

नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान १० देखि ५० लाख रूपैयाँसम्म तिर्न तयार रहेको विषय पनि सतहमा आएको छ । यसमा संलग्न पूर्व गृहमन्त्रीदेखि सचिवसम्मको पक्राउले राज्य संयन्त्र नै मानव बेचविखनमा लागेको विषयलाई उदांगो पारेको त छ नै सँगै नागरिकहरूको बढ्दो विदेश मोह र जुनसुकै बाटो भएर त्यहाँ पुग्ने हुटहुटीलाई पनि प्रतिविम्बित गरेको छ ।

राज्य असफल हुँदा यतिबेला व्यक्तिलाई लाखौं रकम यहाँ लगानी गर्ने विषयमा विश्वास मर्दै गएको छ । बरू त्योभन्दा दुई गुणा रकम बुझाएर अवैध बाटो, शरणार्थी बनेरै सही– उनीहरू विदेशिन चाहन्छन् ।

समाजशास्त्री दीपेश घिमिरे अहिलेको यो अवस्थालाई राज्य प्रणाली असफल हुँदाको परिणति ठान्छन् । त्यसमाथि अहिले व्यक्तिको सामाजिक हैसियत पनि विदेशसँग प्रत्यक्ष जोडिँदै गएकाले विदेश मोहको ग्राफ उकालो लागिरहेको उनको बुझाइ छ । नेपालमा उदाइरहेको नवधनाढ्यहरूको स्रोतलाई उनी विदेश पठाउने ट्रेण्डसँग जोडेर व्याख्या गर्छन् । ‘अहिले उदाइरहेका एकथरी नवधनाढ्य विदेशबाट सामान आयात गरेर धनी भइरहेका छन्,’ उनले भने, ‘अर्काथरी सामान नभएर मान्छे निर्यात गरेर धनी भइरहेका छन् । नेपालमा यदि केही निर्यात हुन्छ भने त्यो मान्छे हो ।’ उनले पछिल्लो समय म्यानपावर व्यवसायी र विदेश पठाउनेहरूको बढ्दो आर्थिकस्तरलाई इंगित गरे ।

यसो हुनुमा उनी राज्यको ऐन, नीति, नियम तथा कानूनसँगै शिक्षा प्रणाली र सिकाइको पनि उत्तिकै दोष देख्छन् । ‘अब त हामीले कस्तो शिक्षा दिइरहेका छौं भनेर पनि प्रश्न गर्नुपर्ने बेला आइसकेको छ,’ उनले भने, ‘विदेश गयो भने मात्रै कमाइ हुन्छ भन्ने किसिमको न्यारेटिभ (भाष्य) हाम्रै शिक्षाले बसालिरहेको छ ।’ यसले गर्दा नेपालमा भएकै सम्भावनाप्रति पनि नयाँ पुस्ताको विश्वास मर्दै गइरहेको उनले बताए ।

मध्यम वर्गका नागरिकहरू विदेशिने ट्रेण्ड झनै डरलाग्दो भएको घिमिरेको विश्लेषण छ । समाजका कुनै पनि मुद्दालाई बलियोसँग उठाउने काम मध्यम वर्गले गर्ने तर त्यही वर्ग राज्य प्रणालीमाथि विश्वास नगरेर विदेशिँदा जायज आवाजहरू कमजोर हुँदै जाने खतरा बढेको उनी बताउँछन् । ‘उच्च वर्गलाई यस्ता विषयसँग खासै सरोकार हुँदैन । उनीहरूले राष्ट्रियताको नारा लगाए नै भने पनि आफ्नै फाइदाका लागि लगाउँछन्,’ उनले भने, ‘समग्र रूपमा यस्ता विषयलाई बलियो गरी उठाउने मध्यम वर्गले हो । तर उनीहरू नै अहिले विदेशिने गति तीव्र छ ।’

राज्यलाई जनसांख्यिक लाभांश दिनसक्ने ठूलो हिस्सा विदेशिने ट्रेण्ड बढ्नुलाई उनी अर्को भयानक चित्रको रूपमा लिन्छन् । ‘खासमा यो त देशभित्रै बचाउनु र जोगाउनुपर्ने पुस्ता हो । जनसांख्यिक लाभ लिने उच्चतम समय कुनैै छ भने त्यो अहिले हो,’ उनले भने, ‘तर विदेश जानेमा यही उमेर समूहकाहरू धेरै हुनुु चिन्ताजनक छ ।’

सरकारी थिंक ट्यांकले आयोजना गरेको नीति संवादमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रमेश मास्केले हिजोआज प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि विद्यार्थी पाउनै छोडेको गुनासो गरेका थिए । ‘हामीले प्राविधिक क्षमता बढाउनुपर्ने छ । तर त्यसको लागि विद्यार्थी नै छैनन् । एसइई दिएपछि विद्यार्थीलाई नेपालमा टिकाउनै गाह्रो छ,’ विद्यार्थीहरू नेपालमा बस्न नचाहने लहरतर्फ इंगित गर्दै उनले भने ।

मास्केको विचारमा नेपालको शिक्षा विश्व प्रतिस्पर्धामा आउन सक्ने गुणस्तरको छ । तर हामीले भने विद्यार्थीलाई यहीँ रोक्नभन्दा पनि भिजाकै लागि ‘प्रोभिजन’ दिएजस्तो अवस्था आएको छ । ‘नहुनेहरू त जाने नै भए, हुनेखानेहरू पनि जान थालिसके,’ उनले भने, ‘बाबुआमा र अभिभावकलाई विदेश नपठाउन कन्भिन्स गर्न झनै गाह्रो छ ।’

पढाइ पूरा गरेपछि पर्याप्त अवसर नपाउनु, स्वदेशमा लगानीका लागि परिवारले नपत्याउनुजस्ता कारणले विदेश मोह बढिरहेको छ । ‘पहिला विश्वविद्यालय थिएन । अहिले छ्याप्छ्याप्ती विश्वविद्यालय छन् तर विद्यार्थी पाउनै गाह्रो छ,’ उनले चिन्ता व्यक्त गरे ।

हिजोआज व्यक्तिगत रूपमै विद्यार्थीहरूलाई स्नातक सकिएपछि कम्तीमा पनि दुई वर्ष आफ्नो देशमा केही गर भनेर आफूले सल्लाह दिने गरेको उनले बताए ।

छलफलमै सरकार

युवाहरूको विदेश पलायन थेगिनसक्नु भए पनि यो अवस्थालाई नियन्त्रण गर्नेतर्फ सरकारसँग कुनै ठोस योजना छैन । तर सरकारी अधिकारी यसबारे सरकार गम्भीर रहेको र छलफल भइरहेको दाबी गर्छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा विद्यार्थीहरूको विदेशिने बढ्दो ट्रेण्डलाई नियन्त्रण गर्न विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा काम भइरहेको बताउँछन् ।

‘हामीले उनीहरूलाई सिधैं विदेश नजाऊ भन्न त सक्दैनौं । तैपनि शिक्षा राम्रो नपाएरै गएकाहरूको हकमा यहाँको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा नियमित छलफलमा छौं,’ उनले भने, ‘विश्वविद्यालयको शिक्षाको गुणस्तर कसरी सुधार्ने, पठनपाठनलाई नियमित र भर्नालाई व्यवस्थित कसरी बनाउने भन्ने विषयमा काम गरिरहेका छौं ।’

यसबारे समाधान निकाल्ने जिम्मा पाएको आयोगका अनुसार विद्यार्थीहरू विदेशिने ट्रेण्ड बढ्नुका मुख्य कारण हाम्रो विश्वविद्यालयहरूको गैरजिम्मेवारीपन हो । आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारी विश्वविद्यालयले कक्षा सञ्चालन र परीक्षा सञ्चालन कहिले हुने भन्नेबारे अन्योल सिर्जना गरेका कारण अधिकांश विद्यार्थी उच्च शिक्षाको खोजिमा विदेशिएका छन् । विश्वविद्यालयले कम्तीमा पनि विद्यार्थी र अभिभावकलाई यसबारे उचित जानकारी दिनसक्ने क्षमता राख्नुपर्ने उनी बताउँछन् । ‘चार वर्षको कोर्स सकाउन पाँच वर्ष पनि लगाइदिन्छन्,’ उनले भने, ‘अनि त पैसा भएकाहरू त विदेशिएका छन् नै । नभएकाहरूसमेत जान बाध्य भएका छन् ।’

यो समस्या हल गर्न आयोग राष्ट्रिय क्यालेन्डर निर्माणमा जुटिसकेको उनले जानकारी दिए । ‘सरकारले दिएको निर्देशनअनुसार मेरो अध्यक्षतामा बनेको समितिले क्यालेण्डर बनाउने काम सुरु गरिसकेको छ,’ उनले भने ।

राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि र पूर्वरजिस्ट्रारहरू रहेको उक्त समितिले असार मसान्तसम्म राष्ट्रिय क्यालेण्डर तयार गरिसक्ने उनले जानकारी दिए ।

उक्त क्यालेण्डर निर्माणपछि विश्वविद्यालयहरूले कम्तीमा समयमै भर्ना लिने र परीक्षा गराउने वातावरण बन्ने विश्वास उनले लिएका छन् । यसबाहेक बढ्दो विदेश मोहलाई नियन्त्रण गर्नका लागि सरकारले पनि आफ्नो शिक्षा र विकास नीतिमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।